काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजनको अन्तिम चरणमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोवीच विवाद चरमोत्कर्षमा पुगेपछि वारपारको लडाई देखिएको छ । लोसपा पार्टी निर्माण भएको ५ बर्ष नपुगेका कारण कानुनी रुपमा पार्टी विभाजनको बाटो भने खुला छैन ।
पार्टी विभाजन गर्न नमिल्ने भएका कारणले अब राजन्द्र महतो नयाँ पार्टी बनाउने साइतमा लागेको बताइन्छ । लोसपामा नेताहरुको भनाइमा महन्थ ठाकुरसँग छुट्टिएर भिन्न हुने अन्तिम तयारीमा रहेका महतोले राजनीतिक आन्दोलनको तयारी पनि गरेका छन् । तत्कालका लागि लोसपा भित्रैबाट आन्दोलनको तयारी गर्ने र मधेशमा एक पटक फेरि आन्दोलनको पृष्ठभूमि तयार गर्न खोजेका छन् । त्यसबेला महन्थ ठाकुरले कारबाही गर्ने भएकोले त्यही बेला नै नयाँ पार्टी बनाउने मुडमा महतो रहेको उनीनिकट नेताहरु बताउँछन् ।
महन्थ ठाकुरसँग राजेन्द्र महतोको खास ट्युनिङ भने सुरु देखि नै नमिलेको हो । लोसपा गठनदेखि नै उनीहरुवीच कार्यशैली र निर्णय प्रक्रियाको विषयमा विवाद हुन थालेको थियो । पार्टीको पदाधिकारी मनोनित तथा प्रदेश तथा जिल्ला अध्यक्षहरु मनोनित गर्ने क्रममा पनि महन्थ ठाकुरले अपहेलना गरेको भन्दै महतो दुई बर्षपहिला नै असन्तुष्ट थिए । त्यतिबेला भर्खर जसपाबाट विभाजन भई लोसपा बनेका कारण महतोले असन्तुष्टि सार्वजनिक रुपमा पोखेका भने थिएनन । तर, उनी बबरमहलस्थित मधेश भवनमा रहेको केन्द्रीय कार्यालय भने जान छोडेका थिए ।
झन्डै ३ महिना कार्यालय नै नगएका महतोले अनामनगरस्थित कार्की भवनमा रहेको गजेन्द्रनारायण निधि अध्ययन प्रतिष्ठानलाई सम्र्पक कार्यालय बनाएका थिए । त्यही कार्यालयबाट आफ्ना गतिविध सञ्चालन गरेका थिए । अन्सन्तुष्टि बढ्दै गएका कारण लोसपालाई चुनावमा थप क्षति पुग्ने अनुमान गरेर महतोले चुनावको बेलामा पनि ठाकुरसँग मिलेका थिए । तर, चुनावमा टिकट वितरण गर्दा ठाकुरले महतो पक्षलाई माइनस गरेको भन्दै असन्तुष्टि भने पोखिएको थियो ।
महतोलाई चुनाव जिताउने गरी निर्वाचन क्षेत्रमा अडान लिन नसकेको भन्दै असन्तुष्टि पनि बढेको थियो । त्यससँगै छलफल विना नै संघदेखि प्रदेशसम्म संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक बनाउनेदेखि सरकारमा जाने मन्त्रीहरुको सूची बनाएको भन्दै महतो पक्ष ठाकुरसँग असन्तुष्ट बनिरहेको थियो । पछि ठाकुरले मनोनित गरेका केन्द्रीय कमिटीले पनि विवाद निम्त्यायो । महन्थ ठाकुरले आफन्तहरु मुख्य पद दिएर झन्डै साँढे ३ सयको केन्द्रीय कमिटी बनाए ।
त्यसमा ६३ जना त पदाधिकारी नै बनाएका थिए । पार्टीको सुझाव विपरीत पदाधिकारी र एउटै व्यक्तिलाई महासचिव, कोषाध्यक्ष तथा उपाध्यक्ष र सहकोषाध्यक्षको जिम्मा पनि दिएका कारण जिम्मेवारी बाँडफाँडमा हदैसम्मको लापरबाही देखिएको थियो । त्यही बेला महतोले मधेश आन्दोलनमा सहभागीलाई भने केन्द्रीय कमिटीमा नअटाएको दाबी गरेका थिए । त्यसपछि बढेको असन्तुष्टि अहिले केन्द्रीय कमिटी नै बहिस्कार गर्ने अवस्थामा पुगेका छन् ।
गत आइतबार केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका महतोले अविराम शर्माको जन्मकैद फैसलाको विषयमा पनि ठाकुरसँग असन्तुष्टि राखेका छन् । जिल्ला अदालत महोत्तरीले शर्मालाई जन्मकैद सुनाएपछि महतो सरकार छोड्नुपर्ने लाइनमा थिए । तर, ठाकुर भने मौन बसिरहेका छन् । त्यसैले अब यो पार्टीबाट महतोको टीम निस्केर नयाँ पार्टी बन्ने संभावना रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८० पुस २)




