काठमाडौं । तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सेटिङमा सुन तस्करी र भिजिट भिसामा मानव तस्करीलाई संरक्षण र प्रश्रय गरेको आरोप लागेपछि उनको सरुवा भएको थियो । त्यसपछि आजका दिनसम्म पनि उनले कुनै जिम्मेवारी पाउन सकेका छैनन् । सहसचिव अधिकारीलाई यतिखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा गरेर जिम्मेवारीबिहीन बनाएर सजाय दिइएको छ । उनलाई कारवाही गरेसँगै भिजिट भिसाबाट हुँदै आएको मानव तस्करीको धन्दा केही मात्रामा न्यून हुँदै गएको स्रोत बताउछ ।
तर, यतिखेर विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव रूद्रसिंह तामाङ रहेका छन । उनी महानिर्देशक भएर बिभागमा खटिएको दुई महिना बितिसकेको छ । मानव तस्करहरूले यतिवेला त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीको मिलेमतो र सेटिङ्गमा अवैध धन्दा संचालन गरिरहेको स्रोतले जानकारी दिएको छ । तस्करीको गिरोहले अवैध रुपमा रोजगारी, अध्ययन र रोजगारीको आश्वासन दिएर मानव तस्करी गरेर मुलुकलाई बद्नाम गरेका छन ।
उक्त गिरोहले भिजिट भिसाका नाममा केही कर्मचारीको सेटिङमा कामदार पठाउने गरेको खुलासा हुँदै आएको छ । मेनपावर व्यवसायी, अध्यागमन कार्यालयका कर्मचारी, त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरी, ट्राभल एजेन्सीका कर्मचारी र एयरलाइन्सका कर्मचारीहरूकोसमेत मिलेमतोमा यस्तो अवैध धन्दा हुँदै आएको स्रोतको दावी छ । उक्त कार्यमा संलग्न सरकारी कर्मचारी, बिचौलियलाई नेपाल प्रहरीको अपराध अनुसन्धान टोलीले काठमाडौं उपत्यकाको बिभिन्न ठाउँबाट पक्राउ गरेपछि यसको रहस्य थप खुल्दै गएको बताइन्छ ।
डीएसपी गोविन्द पन्थीको कमान्डमा खटिएको प्रहरी टोलीले भिजिट भिसामा नेपाली नागरिकलाई मोटो रकम लिएर युद्धग्रस्त मुलुक रुस, युक्रेन, खाडी मुलुक लगायत विभिन्न मुलुक पठाउने ३२ जना गिरोहका सदस्यहरूलाई पक्राउ गरेको थियो । मानव तस्करी धन्दामा अध्यागमन कार्यालयका केही अधिकृत, नेपाल वायुसेवा निगमका उच्च अधिकृत, ट्राभल एजेन्सीका सञ्चालक र एजेन्टहरू गरी ३२ जना संलग्न रहेको रहस्य खुलेको थियो । मुलुकभित्र रोजगारीको अभाव रहेकोले छटपटिएका नेपाली युवायुवतीलाई प्रलोभनमा पारेर बिचौलियाहरूले विभिन्न मुलुकमा भिजिट भिसामा लैजाने गरेका छन ।
गन्तव्य मुलुकमा पुगेपछि काममा लगाइदिने भन्दै अलपत्र पार्ने क्रम बढ्दै गएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान गरेको थियो । रुस–युक्रेन युद्ध शुरू भएपछि विदेशी नागरिकलाई रूसी सेनामा भर्ती गर्न थालेको थियो । त्यसपछि नेपालमा ट्राभल एजेन्टहरूले मोटो रकम लिएर नेपाली युवाहरूलाई भिजिट भिसामा रूस तथा युक्रेन पठाउँदै आएको तथ्य फेला परेको छ । रूसी सेनामा दुई सय भन्दा बढी नेपाली भर्ना भइसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले खुलासा गरिसकेका छन । युद्धमा परेर ६ जना नेपालीको निधन भइसकेको छ ।
अन्तर्राष्ट्रिय बिमानस्थलबाट कर्मचारीको मिलेमतो बिना सेटिङ्ग कुनै पनि गिरोहले सोझासिधा नागरिकलाई बाहिर पठाउन नसक्ने ठोकुवा स्रोतले गरेको छ । जसले गर्दा बिमानस्थल कार्यालयस्थित बिभिन्न निकायमा कार्यरत सरकारी निकायको कार्यशैलीप्रति गंभीर रुपमा प्रश्न उठिरहेको स्रोतले दावी गरेको छ । प्रहरीले मानव तस्करी धन्दामा संलग्न रहेको आशंकामा गएको २०८० असोज १५ देखि हालसम्म १ हजार ५ सय १३ थान कागजपत्र नियन्त्रणमा लिएको थियो ।
तीमध्ये २ सय ४६ थान कागज नक्कली रहेको बताएको छ । त्यसपछि यस विषयमा गम्भीर रूपमा छानविन शुरू गरेको थियो । नक्कली कागजात तयार पारी गिरोहले नेपाली युवायुवतीलाई विभिन्न मुलुक पठाएकोमा अनुसन्धान गर्दा प्रहरीले ३२ अभियुक्तहरू पक्राउ गरिसकेको बताइन्छ । गिरोहले प्लस टु शैक्षिक प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरीको चारित्रिक प्रमाणपत्र, बैंक स्टेटमेन्टसमेत नक्कली फेला परेको बताएको छ । त्यसवापत दलालहरूले पाँच लाखदेखि १३ लाख रूपैयाँसम्म लिदै विदेश पठाउने गरेको रहस्य खुलेको छ । (साँघु साप्ताहिक, २०८० पुस २)



