(नेकपा एमालले ‘समृद्धिको लागि मध्य पहाडी, लोकमार्ग केन्द्रित सङ्कल्प अभियान’ सम्पन्न गरेको छ । यो अभियानबाट एमाले निकै उत्साहित हुन पुगेको छ । मध्यपहाडी राजमार्ग आसपासका जनतासँग प्रत्यक्ष रुपमा साक्षत्कार गर्न पाएको र उनीहरुले उठाएको समस्या हल गर्नका लागि अव बस्ने संसद अधिवेशनमा ती आवाजहरुलाई जोडदार रुपमा उठाउने तयारी एमालेले गरिरहेको छ । पार्टीले संचालन गरेको अभियान, सरकारको एक वर्षे कार्यकाल, सरकार परिवर्तनको संभावना, आगामी संसद अधिवेशनमा एमालेको भूमिका र रणनीतिलगायत समसामयिक बिषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले राष्ट्रियसभामा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता रहेका दाहालसँग गरेको कुराकानीको मुख्य अंशः सम्पादक)
० नेकपा एमालेले ‘समृद्धिको लागि मध्य पहाडी, लोकमार्ग केन्द्रित सङ्कल्प अभियान’ सम्पन्न गरेको छ, सरकारमा रहेका राजनीतिक दल र आम बुद्धिजीवीहरुले चुनाव आउन चार वर्ष बाँकी छँदा नै मिसन ८४ भनेर प्रचार गरिनुलाई अस्वभाविक र उपलब्धिमूलक छैन भनेका छन, यस्ता टिप्पणीका बारेमा तपाईंको धारणा के छ ?
–पहिलो कुरा, नेपालमा जे नयाँ कार्य गर्दा पनि आलोचना गर्ने व्यक्तिहरुको कमी छैन । अहिले नेकपा एमाले संचालन गरिरहेको अभियानलाई लक्षित गरेर त्यस्ता केही व्यक्तिले टिकाटिप्पणी गरेका होलान । यदि यस्तो अभियान निर्वाचनको बेला गरिएको भएपनि निर्वाचन केन्द्रित कार्यक्रम गरेर भोट जम्मा ग¥यो भन्ने आरोप पक्कै लगाउने थिए होलान् ।
० के उद्देश्य प्राप्तिका लागि नेकपा एमालले उक्त अभियान संचालन गरेको हो त ?
–यो देशमा लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणको लागि एउटा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको छ नै । साथै, बलियो राष्ट्रिय शक्ति भएको राजनीतिक दलको आवश्यकता आम जनताले यतिखेर महसुस गरिरहेका छन् । चुनावमा भोट पाउनु मात्र शक्ति होइन । जनताको मूल समस्या हल गर्ने बिषय प्रमुख कुरा हो । यसकारण पनि बलियो राजनीतिक शक्ति भएन भने अन्तर्राष्ट्रिय जगतबाट विभिन्न शक्तिशाली राष्ट्रहरुले गिद्धे नजर लगाउने र मुलुकलाई कमजोर बनाउने खेल चल्नेछ । यतिबेला गणतन्त्रकाविरुद्ध आवाज उठाएर राजतन्त्र स्थापना गर्ने खुल्ला रुपमा घोषणा गरिरहेका छन् । त्यसकारण पनि व्यापक राष्ट्रिय शक्तिको आवश्यकताको महसुस भइरहेको छ ।
० राजनीतिक दलहरुको व्यवहारका कारण राजतन्त्रको माग भइरहेको बताइदैछ नि ?
–केही व्यक्तिहरुले राजनीतिक दलहरु प्रतिको असन्तुष्टिको कारणले गर्दा यस्तो भयो पनि भन्लान । यसमा कुनै दम छैन । मूल बिषय भनेको नेपाली जनतालाई देश र राष्ट्रको लागि एकजुट गराउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै हामीले ‘समृद्धिको लागि मध्य पहाडी, लोकमार्ग केन्द्रित सङ्कल्प अभियान’ संचालन गरेका हौं । मिसन ८४ भनिएता पनि नेकपा एमालेबाहेक अन्य कुनै राजनीतिक पार्टीले मुलुक र जनताको लागि काम गर्न सक्दैन भन्ने विषय घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।
० यही २०८० पुषमा १० गते वर्तमान गठबन्धन सरकार गठन भएको १ वर्ष हुनेछ, सरकारले गरेका कमी कमजोरीलाई खबरदारीका लागि संसद बैठक आव्हान गर्न दवाव दिन छोडेर नेकपा एमाले उल्टो बाटो हिंडेको आरोप केही राजनीतिक दलहरुले लगाई रहेका छन, तपाइँलाई तेस्तो लाग्दैन ?
–यो कुरा गलत हो । किनभने संसद बैठक आव्हान गर्नको लागि एउटा समय हुन्छ । जुन आउँदैछ । एउटा संसद अधिवेशन र अर्कोको समयावधि ६ महिना भन्दा बढी अन्तर हुनुहुँदैन भनेर संविधानमा नै लेखिएको छ । कुनै नयाँ परिस्थिति निमार्ण भएको खण्डमा अलि छिट्टै डाकेर ती समस्याको संसदमार्फत उठाउन र हल गर्न सकिन्छ । जहाँसम्म हाम्रो संकल्प अभियान को विषय छ यो हिजो २०८० पुष १ गते नै समापन भइसकेको छ । यसकारण पनि नेकपा एमाले सही बाटोमा अगाडि बढिरहेको छ भन्ने मेरो दावी रहेको छ ।
० त्यसो भए अभियान समापन भएपश्चात नेकपा एमाले अव कसरी अगाडि बढछ त ?
–मध्यपहाडी केन्द्रित अभियान समापन भएसँगै समग्र मुलुक जनताको आवश्यकता वा मध्यपहाडी राजमार्ग आसपास बसोवास गर्नेहरुको समस्याहरु प्हिचान गर्न सकेका छौं । ती सबै समस्यालाई छिटै केन्द्रीय कमिटी बैठक डाकेर राख्ने छौं । त्यसपछि नेकपा एमालेले आफ्नो एउटा अवधारणा स्पष्ट पार्नेछ । साथै, समाजमा हाल देखिएका अराजक गतिविधि यो सरकारले नियन्त्रण गर्न सक्दैन भने सरकार छोड्नका लागि दवाव दिनेछौं । वैकल्पिक व्यवस्थाका लागि नेकपा एमाले तयार भएर बसेको छ ।
० तपाईले भनेको वैकल्पिक व्यवस्था के हो नि ?
–वैकल्पिक व्यवस्था भन्नाले नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सरकार पनि गठन हुन सक्छ । अर्थात, संसदमा सवैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको नेतृत्वमा पनि नयाँ सरकार गठन गर्न सकिन्छ । तर, यो च्याँखे दाउ थापेको जस्तो ३२ सिटे नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले मुलुक निर्माण गर्न सक्दैन र मुलुक र मुलुकबासी जनताको समस्या हल गर्न सक्दैन ।
० संसदीय व्यवस्था वा गणतान्त्रिक व्यवस्थामा संसदमा पहिलो दलले सरकार गठन गर्ने, दोस्रो ठूलो दल विपक्षमा बस्ने परम्परा छ तर, यहाँ त तेस्रो दलले सरकारको नेतृत्व गरिरहेकोछ, तपाईंले भनेको झै ठूलो पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि राष्ट्रिय सहमतिको आवश्यकता अहिले महसुस भएको छ कि छैन ?
–नयाँ सरकार नेपाली काङ्ग्रेसमा भरपर्ने कुरा हो । हामी आव्हान गर्छाैं । तरपनि नेपाली काङ्ग्रेस नयाँ सरकारका लागि पहल गर्ने क्षमता नै राख्दैन । अर्थात, नेपाली काँग्रेसको पार्टी नेतृत्वसँग हाम्रो नेतृत्वमा सरकार गठन गरेर चलाउन सक्छौ भन्ने आत्मबल नै देखिदन । काङ्ग्रेस यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालो कहिले दिन्छन् भनेर रुङेर मात्र बसिरहेको छ । ०७९ को आम निर्वाचनपछि नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई एमालेले नै प्रधानमन्त्री बनाएको हो । पछि एमालेलाई लात हान्दै उनी काङ्ग्रेसमा गएर मिलेको बिषय सारा नेपाली जनतालाई थाहा भएकै बिषय हो । प्रधानमन्त्री प्रचण्डसँग कति राजनीतिक नैतिकता छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ । नयाँ सरकार गठन गर्ने बिषयमा हामीले भित्री रुपमा काङ्ग्रेसलाई उचाल्ने भन्दा पनि खुल्ला रुपमा नै खुट्टा नकमाउन आव्हान गर्दै आएका छौँ ।
० वर्तमान सरकार गठन भएको झण्डै एक वर्ष पुग्नै लागेको छ, नेकपा एमालेले यो सरकारले यो अवधिमा गरेको कामलाई कसरी मूल्यांकन गरिरहेको छ नि ?
–नेकपा एमालेले यो सरकारको राम्ररी मूल्यांकन गर्दा पुरै असफल देखिएको छ । यो एक वर्षको बिचमा मुलुकमा भ्रष्टाचार निकै बढेको छ । जनताको समस्या र जनजीवीकाको सवालमा सरकारे काम गर्न सकेन । देशमा अराजकता बढ्यो । जसले जे गर्दा पनि सरकार मूकदर्शक भएर बसेको छ । यतिखेर नेकपा एमालेको विरुद्धमा विभिन्न गतिविधिहरू भइरहेका छन् । एमालेको विरुद्धमा त भएको हो नि भनेर होला सरकारले कुनै एक्सन लिएको देखिंदैन । भोलिका दिनम यस्तै गतिविधि सरकार र नेकपा माओवादी विरुद्ध पनि नहोला भन्न सकिने अवस्था छैन । अहिले संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा नेकपा एमाले रहेको छ । तर एमालेको विरुद्धमा केन्द्रित भएर लागिरहेका अराजक तत्वहरुमाथि सरकार मूकदर्शक मात्र बनेर हेरिरहेको छ । अर्को मूल कुरा यस्ता समस्या समाधान गर्ने यो सरकारसँग क्षमता र आँट पनि छैन ।
० तर, वर्तमान सरकारले भ्रष्टाचारको केसमा पूर्वमन्त्री, बहालवाला नेपाल सरकारका बहालवाला सचिवसम्मलाई जेलमा हालेको घटना देखाएर सरकारले खुल्ला रुपमा गर्व गरिरहेको छ नि ?
–यसमा मत सरकारलाई ‘विचरा’ भन्छु । किनभने हिजोका दिनमा त्यहीँ नेपाली काङ्ग्रेसका नेता, मन्त्रीहरू पटकपटक जेल बस्दै निस्कँदै गरेका छन् । यो विषय छताछुल्ल भएपछि अख्तियार दुरुपयोग अनसन्धन आयोग र सम्बन्धित निकायले लुकाउन नसकेपछि स्वाभाविक रुपमा बाहिर आएको हो । तर, अहिले पूर्वाग्रही ढंगले व्यवहार गर्ने कार्य भइरहेको छ । जस्तै, बालकृष्ण खाणलाई छोड्ने काम भएको छ । एमाले नेता टोपबहादुर रायमाझीलाई थुन्ने काम भएको छ । प्रमाण छ भने दुबै नेतालाई थुन्नु प¥यो । छैन भने दुवैलाई छोड्नु प¥यो । भ्रष्टाचारको काण्ड बाहिर ल्याएको एमालेलाई कहीँकतैबाट मुछ्न सकिन्छ कि भनेर नै हो । उल्टै सत्तारुढ दल र सरकार निकटका नेताहरु मुछिन थालेपछि अहिले प्रचण्ड सरकार चुपचाप हुँदै गइरहेको छ ।
० एनसेल बिक्री प्रकरणमा ठूलो मात्रामा राजश्व चुहावट गरिएको विषय खुब चर्चामा रहेको छ, तपाईं र तपाईंको पार्टी नेकपा एमालले यो प्रकरणलाई कसरी लिंदै आएको छ ?
–यो एनसेलको घटना एक किसिमले भन्नुपर्दा डाँकागिरीकै शैलीमा गरिएको छ । १ खर्ब भन्दा बढीको मूल्यांकन भएको एनसेल ६ अर्ब बराबर मूल्यमा बिक्री गरिएको भन्नुलाई नाटकको संज्ञा दिंदा पनि फरक पर्दैन । मलाई त यो बेचबिखन भएको जस्तो लाग्दैन । जसले संचालन गर्दै आएको छ उसैले नै चलाउने हो । पाँच÷छ वर्षपछि नेपाल सरकारको स्वामित्वमा सम्पत्ति आउने विषयलाई छल्नको लागि यो प्रपंच र जालझेल गरिएको हो । खरिद बिक्रीको यो प्रायोजित हल्ला मात्र हो । यसको निष्पक्ष छानविन हुनुपर्छ । साथै उक्त कम्पनीलाई राजस्वको दायरामा ल्याउनै पर्छ ।
० सरकारले छानबिनको लागि समिति गठन गरेको छ, समितिले गर्ने छानविनप्रति एमाले विश्वस्त हुन सक्छ कि सक्दैन ?
–किन हतारमा एनसेल छानविन समिति गठन गरियो, मैले बुझेको छैन । नेपालमा यस्ता राजश्व छली घटना छानविनको लागि अख्तियारलगायतका अरु सरकारी निकाय पनि सक्रिय रहेका छन् । यस्ता निकायलाई हेर्न नदिई किन हतार हतार समिति गठन गरियो रहस्यको विषय छ । समिति बनाएर निस्पक्ष छानविन गरेको खण्डमा स्वागतयोग्य नै मान्छौ ।
० एमाले लक्षित अराजक गतिविधि भइरहेको विषय उठान गर्नुभएको छ तर, एमाले भन्दा पनि पात्र लक्षित आन्दोलन भइरहेको चर्चा चलिरहेको छ, तपाईंलाई के लाग्छ ?
–पात्रको कुरा नगरौं । नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा अहिले सबै लागेका छन् । विवादमा पार्न निकै कोसिस पनि गरिरहेका छन् । हाम्रो पार्टी अध्यक्षलाई कमजोर पारेपछि मात्र एमालेलाई कमजोर पार्न सकिने योजना उनीहरुले बनाएका छन । एमालेलाई कमजोर पारेपछि अन्तर्राष्ट्रिय चलखेल गर्ने शक्ति र आन्तरिक प्रतिक्रियावादीहरूलाई पनि अनुकूल हुने देखेर नै त्यसो गरिएको हो । एमालेलाई कमजोर पार्न सकियो भने मात्रै उनीहरुको इच्छा पूरा हुन्छ भन्ने हिसाबले हात धोएर लागेका हुन् ।
० तपाईंले संसदमा पहिलो वा दोस्रो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्ने कसरतमा केन्द्रित भइरहेको जानकारी दिनुभएको छ, अब यही परिस्थितिमा नयाँ सरकार गठन हुने संभावना कत्तिको देख्नुहुन्छ ?
–यसरी नै अव मुलुक चल्न सक्दैन । हामीले निर्णायक योजना र विचार प्रस्तुत गर्ने तयारी अगाडि बढाईरहेका छौं । अव गठन हुने सरकारमा हाम्रै नेतृत्वमा हुनुपर्छ पनि भनेका छैनौ । जुन ढंगले यतिखेर मुलुकमा माओवादी अध्यक्षको नेतृत्वमा सरकार चलिरहेको छ, यसले कुनै समस्याको समाधान दिन सक्दैन ।
० नेकपा एमालेसँग आफ्नै नेतृत्वमा सरकार गठन गर्न गणितीय रुपमा संख्या छैन, कतै एमालेबाट फुटेर गएको पार्टीसँग एकीकरण गरेर सरकार गठनको तयारी भइरहेको त छैन ?
–तपाईंले भनेजस्तै संसदीय गणितले गर्दा पनि हामीलाई केही समस्या बनाएको छ नै । तरपनि संसदीय गणितको कारणले नै राजनीतिक चलखेल हुने हो । नत्र तेस्रो पार्टीको नेतृत्मा सरकार कसरी गठन हुन्छ त ? यहीँ गणित कै कारणले हो । संसदमा उपस्थित ठूला दल एकै ठाउँमा बसेर वर्तमान समस्याको समाधान गर्न सकिन्छ । तर, एमालेसँग हतपत कोही बस्न चाहँदैनन् । त्यसकारण पनि हामी जनताको माझमा बाध्य रुपमा जानुपर्ने स्थितिमा पुगेको छौँ । आमजनताका लागि सरकारले तत्काल सम्वोधन गर्नुपर्ने विषयमा हामी अप्सन दिनेछौं । त्यतिगर्दा पनि सरकार तयार भएन भने हामी बाध्य भएर आन्दोलनका लागि जनताको बिचमा जानेछौं ।
० त्यसो भए एमालेबाट टुक्रिएर गएको पार्टीसंग एकीकरणको कुनै संभावना छैन त ?
–पार्टी एकीकरण कोसँग ? बैतडीबाट सिङ्गो जिल्ला कमिटी नै मूल पार्टीमा फर्किएको छ । यसैगरी देशभरीका विभिन्न जिल्लाका साथीहरू मूल पार्टीमा आइरहेका छन् । पार्टी एकीकरण भनेको नै यहीँ हो ।
० नेकपा एमालेको यही घमण्डीपन र राजनीतिक दलको वितृष्णाका कारणले रास्वपा जस्ता स्वतन्त्र दलहरु पनि धमाधम राजनीतिक शक्तिका रुपमा उदाइरहेको बताइन्छ, २०८४ को आम निर्वाचनबाट एमाले नै आउँछ भन्ने ग्यारेन्टी के छ ?
–सिद्धान्त विनाका नयाँ राजनीतिक दलहरु छिटै बिलाउछन् । किनभने रास्व पार्टीले चुनावको बेलामा भ्रष्टाचार विरुद्धको नारा दिएको थियो । तर, त्यहीँ पार्टीमा एउटा मन्त्रीका लागि चार करोड रकम लेनदेनको कुरा बाहिरियो । त्यहाँ पनि भ्रष्टाचारीको टिम त रहेछ ।
आखिर दोष लागेको एउटा व्यक्तिलाई निकाल्दैमा कालो पोतेको अनुहार सफा त हुँदैन नि † अर्को सरकारमा गएको पहिलो पटक नै रवि लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्री नभई भएन । अदालतले सदस्यता नागरिकत खारेज गरिदिंदा पनि पछि सरकारमा जान खेज्दा गृहमन्त्री चाहियो भनेर कुदिरहेका थिए । यस्तो खालको नाटक गर्नेहरु धेरै दिन टिक्दैनन् ।
० एमालेले पुन सरकार गठन गर्ने अवसर पाएको खण्डमा मुलुकमा कायापलट हुन्छ भाष्य निर्माण गरिदैछ, अहिले लक्ष्य भन्दा कम राजस्व उठेको छ, नेकपा एमालेले सरकारको नेतृत्वत गर्दैमा के छिनभरमै जादूको छडी जस्तै मुलुकमा कायापलट होला त ?
–२०५१ सालमा नेकपा एमालेले अल्पमतको सरकार गठन गर्दा मुलुकको स्थिति के थियो ? गाउँ–गाउँमा तीन लाख बजेट पठायो । त्यसपछि ५ लाख पु¥याइयो । अहिले त वार्षिक रुपमा करोडौं रकम गइरहेको छ । एमालेको भिजन भनेकै जनतालाई आव्हान गर्ने, उत्पादनमा लगाउने र रोजगारी सिर्जना गर्ने हो । द्वन्द्व पीडितहरुलाई रोजगार नदिएर एक÷दुई लाख रकम बाढेर राष्ट्रको ढुकुटी खर्च गर्ने काम भइरहेको छ । नेकपा एमालेले जनतालाई इच्छा शक्ति जगाउन सक्छ । आम जनतालाई आव्हान गरी जनताको साथमा कार्यक्रमसहित जान्छ ।
० तपाइँले रोजगारी सिर्जनाको कुरा गर्दै गर्दा यतिखेर प्लस टु पढेका संभावना बोकेका विद्यार्थी मुलुकमा टिक्ने वातावरण नदेखेर ऋण गरेर विदेशिनु परेको अवस्था छ, यता प्रायः सबै कलेज खाली भएका छन्, यसलाई रोक्न कस्तो नीति ल्याउन आवश्यक पर्ला ?
–यसलाई तुरुन्त रोक्न सकिंदैन । कृषिलाई आधुनिकीकरण, उत्पादनमा वृद्धि, उद्योग धन्दाहरुको सम्भावनाको अध्ययन गर्दै बिस्तारै नयाँ उद्योगको स्थापना र औद्योगिक मैत्री नीति ल्याउने हो भने यसलाई विस्तारै रोक्न सकिन्छ । (साँघु साप्ताहिक, २०८० पुस २)



