काठमाडौं । कान्तिपुर टेलिभिजनको सम्पादकीय नेतृत्वमा व्यापक परिवर्तन भएको खवर छ । व्यवस्थापककै दबाबपछि प्रधान सम्पादक रहेका दिलभुषण पाठकले राजीनामा दिएर बाटो लागेका छन् । दिलभुषण पाठक २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक थिए । पाठकको राजीनामापछि प्रधान सम्पादकमा विजय पौडेललाई ल्याउने तयारी भइरहेको छ ।
कान्तिपुर टेलिभिजनमा करिब एक दशक काम गरेका पौडेलले त्यतिबेला ‘सरोकार’ कार्यक्रम सञ्चालन गर्दथे । पौडेलले २०७२ सालमा कान्तिपुर टिभि छोडेका थिए । विश्वस्त स्रोतका अनुसार कान्तिपुर टिभीको सम्पादकको जिम्मेवारी रुपेश श्रेष्ठलाई दिइएको छ । यस सम्बन्धी कान्तिपुर मिडिया ग्रुपले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।
राजीनामा दिएका पाठकले कान्तिपुर टेलिभिजनमा कार्यक्रम ‘टफ टक’ का प्रस्तोतासमेत थिए । प्रधान सम्पादकमा ल्याउन थालिएका विजय पौडेल विचमा नेपाल लाइभ अनलाइनमा सम्पादक समेत बनेका थिए ।
२०५६ सालदेखि रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेका पौडेल यसअघि च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजन र इमेज च्यानलमा काम गरेका थिए ।
कान्तिपुर टेलिभिजनमा सम्पादकको जिम्मेवारी सुम्पिएका श्रेष्ठ श्रव्यदृश्य पत्रकार हुन् । श्रेष्ठले २०५९ सालमा रेडियो नेपालको १०० मेगाहर्जमा क्लासिक एफएमबाट पत्रकारिता सुरु गरेका थिए । श्रेष्ठले २०६३ सालदेखि कान्तिपुर टेलिभिजनमा काम शुरु गरेका हुन् । उनले कान्तिपुर टिभिमा ‘फायर साइड’ सञ्चालन गर्दथे । पछिल्लो समय उनी ग्यालेक्सी फोरके टेलिभिजनमा प्रधान सम्पादक थिए ।
यता, करिब तीन बर्षअघि सञ्चालनमा आएको नेपालको पहिलो फोरके टेलिभिजन च्यानल ग्यालेक्सी फोरके टिभीको सटर २०८० पुस २ देखि बन्द भएको छ । नेपालमा पहिलोपटक फोरके प्रविधिमा सञ्चालनमा आएको थियो ।
खुलेको ३४ महिनामै ग्यालेक्सी फोरके टेलिभिजन क्रमशः धरासायी हुँदै बन्द भएको हो । ग्यालेक्सी टेलिभिजनमा कर्मचारी र पत्रकारसहित झन्डै ८० जना कार्यरत छन् । पत्रकार तथा कर्मचारीले ६ महिना देखिको तलब नपाएको जानकारी प्राप्त भएको छ । उनीहरुको यतिबेला विल्लिबाठ नै भएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएका टेलिभिजनका मालिक गीतेन्द्र बहादुर राई (जीबी राई) फरार भएपछि टेलिभिजनको नियमित प्रसारण रोकिएको बताइएको छ ।
सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप लागेका राई फरार छन् । फरार राईविरुद्ध कास्की जिल्ला अदालतले गत भदौ २४ मा पक्राउ पुर्जी जारी गरेको छ ।
मालिक नै फरार भएका कारण टेलिभिजन टाट पल्टिएको त्यहाँ कार्यरत पत्रकारको भनाइ छ । टेलिभिजनले पुस २ यता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ ।
टेलिभिजनमा हाल गीतमात्रै प्रसारण भइरहेको छ । फेसबुक, यूट्यूब लगायत टिभीका सामाजिक सञ्जाल अकाउन्टमा पनि कुनै नयाँ अपडेट देखिँदैन । पत्रकारहरु बन्द भएको ग्यालेक्सी फोरके टेलिभिजनको कार्यालय जाँदै फर्किंदै गरेका छन् ।



