काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त भएका छन् । राजनीतिक भागबण्डा देखिने गरी नभएपनि उकुलपतिमा माओवादीनिकट प्राध्यापक नियुक्त भएका छन् ।
माओवादी केन्द्रको कोटाबाट केही समयअघि पोखरा विश्वविद्यालयको उपकुपति नियुक्त भएका केशरजंग बराल त्रिविको उपकुपति नियुक्त भएका हुन् । त्यसले घुमाउरो पारामा माओवादी कार्यकर्ता नै आए ।
त्यसैले अहिले अन्य पदहरुमा पनि घुमाउरो पारामा भागबण्डाको प्रयास हुन थालेको स्रोत बताउछ । कांग्रेसको प्राध्यापक संगठनका अध्यक्ष जगत तिमल्सिना अहिले जसरी पनि रजिष्टार हुन खोजिरहेको चर्चा छ ।
कांग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवा लाइनमा तिमल्सिनाले राजनीतिक पहुँचकै आधारमा रजिष्टार पद हत्याउने प्रयास गरेका हुन् । उनको पहिलादेखि कै लाइन रजिष्टार हात पार्ने रहेको छ ।
कांग्रेसको यो समूहले उपकुलपतिमा माओवादीको कोटाबाट शिवलाल भुसाललाई ल्याउने र रजिष्टारमा तिमल्सिनालाई बनाउने खेल रहेको थियो । त्यो खेल असफल भयो । त्यसैले, कांग्रेसले सुरुदेखि नै उपकुलपतिमा भुसाललाई अगाडि सारेको थियो । भुसालको समर्थनमा प्रधानमन्त्री कार्यालयदेखि देउवा निवाससम्म कांग्रेसनिकट प्राध्यापकहरु पुगेका पनि थिए ।
तर, भुसाललाई उपकुपति बनाउने स्थिति भएन र खुला प्रतिस्पर्धाबाट उपकुलपति हुने भएपछि तिमल्सिनाहरुको प्रयासमा ब्रेक लागेको थियो । यद्यपि, भुसालको पक्षमा त्यसबीचमा पनि प्रयास भने भएको थियो । तिमल्सिनाहरुले जोडतोडले लविङ गरेकै थिए । तर, उनीहरुको लविङ कामयावी भएन र भुसाल अन्तिम तीनजनाभित्र पनि परेनन् । त्यसपछि बराल आएपछि पनि तिमल्सिनाहरुको सक्रियता फेरि बढेको छ । यद्यपि, कीर्तिपुरमा तिमल्सिनाविरुद्ध कांग्रेसभित्रै ठूलो पंक्ति विरोधमा रहेको प्राध्यापक स्रोत बताउछ ।
संगठनको अधिवेशन नगराई पद ओगेटर बसेको आरोप लागेका तिमल्सिनामाथि नपढाउने शिक्षक भन्ने आरोप पनि लाग्ने गरेको छ । त्यसैले, उनलाई रोक्न कांग्रेसकै एउटा सशक्त पंक्ति विरोधमा रहेको छ । विश्वविद्यालयमा दलीयकरण हटाउने प्रयास भइरहेका बेलामा दलको खाँट्टी कार्यकर्ता ल्याउन नहुने पनि विश्वविद्यालयमा चर्को आवाज उठेको छ । तर, पनि तिमल्सिनाको दौडधुप भने चलेकै छ ।
यता, रेक्टरमा पनि अन्य दलका नेताहरुले नजर लगाएका छन् । रेक्टरबाहेका विभिन्न संकायका डीनमात्र होइन, त्रिविविका विभागीय प्रमुखहरुमा पनि राजनीतिक दलले नजर लगाउन थालेका छन् । अहिले जति पनि सरुवा बढुवा र नियुक्ति पाएका छन्, ती सबै राजनीतिक दलको आस्थाका आधारमा भएको स्पष्ट देखिन्छ ।
त्यसैले, त्रिवि सेवा आयोगमा पनि दलका कार्यकर्ता नै जान खोजिरहेका छन् । सेवा आयोगको अध्यक्ष कांग्रेसले लिएका कारण सदस्यमा सत्ता गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीदेखि जसपासम्मले नजर लगाएका छन् । शिक्षामन्त्री जसपाको भएका कारणले पनि उनीहरुले केही ठूला पोजिसन खोजिरहेका छन् ।
(साँघु साप्ताहिक, २०८० फागुन २१)




