(२०३६ सालदेखि नै उनी प्रजातान्त्रिक आन्दोलनका लागि अग्रसर हुँदै आएकी छिन् । न्यौपानेका माइतीपट्टीका हजुरबुबा भक्तबहादुर कार्की तत्कालीन राणा शासनका विरुद्ध मुक्ति सेनामा संगठित भएर प्रजातान्त्रिक व्यवस्था स्थापनाको लागि लडेका थिए । जेठा ससुरा जुद्धबहादुर न्यौपाने नेपाली काँग्रेसकोतर्फबाट २०१५ सालमा रोल्पा जिल्लाबाट सांसद निर्वाचित भएको उनले बताइन् । पुरै परिवार २००७ सालदेखि नै राजनीतिमा सक्रिय रहेको उनको दावी रहेको छ । ०५८ सालमा उनी नेपाली काँग्रेसको महिला संघको केन्द्रीय सदस्य हुँदै सोही अवधिमा उपाध्यक्षसमेत हुन पुगिन । पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेपनि पराजित भइन् । तत्पश्चात १२, १३ र १४औं महाधिवेशनबाट भने उनी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको उनी बताउँछिन् । ०६४ र ०७० सालका दुवै संविधानसभामा उनी संविधानसभा सदस्य रहेकी थिइन । ०७४ सालमा सम्पन्न आम निर्वाचनमा भने उनी कैलालीबाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लडेको भएपनि पराजित हुन पुगिन । ०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पार्टीले उनलाई समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभाको सांसद बनाएको छ । संसदका प्रमुख ठूला दुई दल नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलत नयाँ सरकारमा महिला मन्त्रीको न्यून उपस्थिति, मुलुकको आगामी राजनीतिलगायत विविध विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले सांसद न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश : सम्पादक)
० राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले केही हप्ता अगाडि सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति तपाईंलगायतले प्रतिनिधिसभामा कटाक्ष गर्नुभयो, कारण के थियो ?
–एकजना सांसदले कसैलाई पनि नपच्ने खालको अभिव्यक्ति दिएका छन, मुलुकको हित विपरीत । अहिलेसम्म उपनिवेश हुँदै स्वतन्त्र भएका देशहरू धेरै छन् । तर, नेपाल कहिले पनि कसैको उपनिवेश भएको छैन । यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद स्वर्णिम वाग्लेको भ्वाइस रेकर्ड नै सार्वजनिक हुनपुग्यो । एशियन मनोडक्टिन भनेर उनले प्रसंग उठाएका छन् । यो नै आपत्तिजनक विषय हो र उनले भन्न खोजेको के हो प्रतिनिधिसभामा आएर स्पष्ट पार्नुपर्यो । जो भर्खर उदाउँदो पार्टी पनि हो ।
० उनी त नेपाली काँग्रेसबाटै हुर्के बढेर रास्वपमा गएका नेता होइनन् र ?
–उनको अभिव्यक्ति मात्र होइन, पार्टीका अन्य सांसद र मुख्य जिम्मेवारीमा रहेकाहरु पनि विवादमा मुछिएका छन् । उनीहरुले पनि आफूमाथि उठेको प्रश्नको जवाफ दिनैपर्छ । अर्को कुरा स्वर्णिमजीलाई नेपाली काङ्ग्रेसले नै योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदै महासमितिको सदस्यसमेत बनाएको थियो । पटकपटक अवसरहरु दिँदादिँदै पनि उनी धोका दिएर पार्टी छोडेर अवसर छोप्न गए । तरपनि अझै .वीपीको नाम लिन छोड्दैनन् । केही हप्ता अगाडि दिएको अभिव्यक्ति सुन्दा उनलाई वीपीले सिकाएको सिद्धान्त त्यो होइन होला नि † नेपाल सानो मुलुक भएपनि सार्वभौम राष्ट्र हो । छिमेक हामी भन्दा ठूलो राष्ट्र छ भन्दैमा गाभिनुपर्ने ? अनि उसैको निर्देशनमा चल्नुपर्ने भन्ने त कदापी हुँदैन होला नि । आखिर धनी गरिब जे भएपनि सबैलाई आफ्नो मातृभूमि र परिवारको माया त हुन्छ नै । उनको यहीँ अभिव्यक्तिप्रति मलाई चित्त नबुझेर प्रतिनिधिसभामा प्रश्न गरेकी हुँ ।
० उप–सभामुख इन्दिरा रानाविरुद्धमा पनि नेपाली काँग्रेसले अलि बढी अनावश्यक टिकाटिप्पणी प्रतिनिधिसभामा गरेको आरोप लागेको छ नि ?
–यो पनि अनावश्यक होइन । यदि त्यस्तो हो भने म माथि मिथ्या आरोप लगाइयो भनेर किन नबोलेको त ? अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको व्यक्ति उपसभामुख अनपढ पनि होइन । उपसभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले नजानेर पनि त्यस्तो कार्य गर्नु हुँदैन । महिला सम्बन्धी एक कार्यक्रममा अमेरिका जान लागेको र उप–सभामुख इन्दिरा रानाले भिसाका लागि सिफारिस गरेका पाँच जना व्यक्तिहरु असम्बन्धित रहेका छन् । उपसभामुख जाने प्रक्रिया नै फरक छ । उनीसँग को र कसरी जानुपर्छ भन्ने कुरा सचिवालयले व्यवस्थापन गर्छ नै ।
० उपसभामुखले करुणाभाव जागेर आफ्नो लेटरप्याडमा लेखेर सिफारिस गरेको बताउँदै अन्य विषय भने सत्य नरहेको बताउँदै आएकी छिन नि ?
–आफूलाई करुणाभाव जागेर सहयोग गरिदिएको भनाई बाहिर आयो । तर, ती व्यक्तिहरु उनको निर्वाचन क्षेत्रका पनि होइनन् । एकजना सँगै साइकल चलाउने हो भनिएको छ । यदि करुणाभाव नै जागेर अमेरिकामा लैजानको लागि सहयोग गरेको हो भने उजुरी किन गरियो त ? त्यसो हुनाले पक्कै बिचमा लेनदेन भएको छ नै । मेरो पार्टीको नेता नभए पनि नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरको नाम म पटकपटक लिन्छु । उनी साधारण लेखपढ मात्र गरेको महिला हुन् । संविधानसभा र संसदका पूर्व सभामुख स्वर्गीय सुवास नेम्वाङको कद र गरिमालाई उनले जोगाउन सफल भइन् । उनी सभामुख बन्दै गर्दा कसरी चलाउछिन् होला भनेर प्रश्न उठाइएको थियो तर, उनले विवादरहित र राम्रोसँग आफ्नो कार्यकाल पूरा गरिन । ओनसरीको तुलानामा त उपसभामुख राना धेरै पढेलेखेको महिला हो । तर, उनी शुरुदेखि नै विवादमा पर्दै आएकी छिन् ।
० योबाहेक उपसभामुख रानामाथि अरु पनि आरोप लागेको छ र ?
–०७२ सालमा गएको महाभूकम्प पश्चात ५ जना बच्चाहरू पालनपोषणका लागि भनेर उनले लगेको रहेछ । उनीहरुको पनि थर परिवर्तन गरिएको विषय बाहिर आयो । यतिखेर भन्न त उनीहरू कलेज पढ्छन् भनिएको छ । सभामुख र उपसभामुख भनेको त हामी सांसदहरुको अभिभावक नै हो । अभिभावक माथि नै यस्तो गम्भीर प्रश्न उठेपछि उनी स्वयम्ले जवाफ दिनुपर्छ । ताकि तथ्य पस्किएर वास्तविक रुपमा सफाई लिने आँट गर्न सक्नुप¥यो । होइन भने पदबाट राजीनामा दिनु उपयुक्त हुन्छ । राजीनामा नदिएर पनि ५ वर्र्षे कार्यकाल त कटाउन सकिएला तर जिन्दगीभर त्यो आरोपले पोलिरहन्छ, लागि रहन्छ ।
० नेपाली काँग्रेसले सहकारी अनियमितता प्रकरणसँग जोडेर रास्वपाको नेतृत्वमाथि बारम्बार खेदो खनिरहनुको कारण के हो नि ?
–हाम्रो आरोप होइन । सो पार्टीको नेतृत्वले नै त्यस्तो गरेको तथ्य कुरा हो । नयाँ पार्टी र राम्रो काम गर्न आएका हौँ भनेपछि त राम्रो मात्रै काम गरेर देखाउनु प¥यो नि । नेपाली काँग्रेसलाई जति पार्टी बढेपनि कुनै आपत्ति छैन । भोलि नेपाली काङ्ग्रेस पार्टी स्वयम्ले नराम्रो गरेको खण्डमा अर्को पार्टीको जन्म पनि हुनसक्छ । नेपाली जनताले नेपाली काङ्ग्रेसलाई नरुचाएर अरुलाई पनि छान्न सक्छन् । हिजो अप्ठ्यारो समयमा नेपाली जनताले ज्यान दिएर सहयोग पनि गरेका हुन् । खोई त हामी मुलुक छोडेर कतै गएका छैनौ । रास्वपाको सभापतिले त हिजो अप्ठ्यारो बेलामा देश छोडेर अमेरिका गएको होइन ? नेपाल फर्केपछि नागरिक बन्नुपर्छ भन्ने हेक्कासमेत राखेको देखिएन । पासपोर्टको विवाद त अझै अदालतमा छदैछ । अप्ठ्यारो पर्छ, पहिला नेपाली नागरिकता लिनुपर्छ भन्दा पनि नमानेर धम्क्याए । अनागरिक भएर पनि गृहमन्त्री हुँदा सर्वोच्च अदालतको फैसलाका कारण पद खुस्किएको विषय जग जाहेर नै छ । त्यसपछि स्वयम् उपस्थित भएर नागरिकता लिनुपर्ने बाध्यता आइलाग्यो । आखिर पहिला भनेको मानेको र घमण्ड नगरेको भए रविमाथि यस्तो अवस्था आउने नै थिएन ।
० अध्यक्ष लामिछाने त यदि म दोषी छु भने सरकारले एउटा चिर्कटो भुइँमा फाल्दिए म सजाय भोग्न तयार छु भनिरहेका छन् नि ?
–सहकारी अनियमितता सम्वन्धी छानबिन र अनुसन्धानका लागि सरकारले संसदीय छानबिन समिति नै गठन गरेको छ । त्यसकारण पनि उनले माग गर्दैमा चिर्कटोको आधारमा समितिले काम गर्ने पनि होइन । विधिको शासनले चल्ने, कानूनी राज्य भएको मुलुकमा कुनै पनि चिर्कटोले कानूनी कारबाही हुँदैन । उनी राजनीतिमा प्रवेश गरेपछि अवधिको प्राय क्रियाकलापहरु विवादित देखिएका छन् ।
० यो त ठूला र।जनीतिक दलहरुले आरिष गरेर, आरोप लगाएर विवादित बनाएको विषय हो भनिदैछ नि ?
–हामीले आरिष गरेको होइन । रास्वपाकै पूर्व महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले धेरै यी विषयहरुलाई हिम्मत गरेर उजागर गरेका छन् । उनले भनेका छन् मैले झुट बोलेको भए पोलिग्राफ मेसिनमा जाँचिन तयार छु । असत्य थियो भने मुकुल यति धेरै च्यालेन्ज दिन पक्कै सक्दैनथे होलान् । यो भन्दा अगाडि उपनिर्वाचनको समयमा रबिकै कोर टिमका एकजनाले दुई करोड रकम लिएको कुरा पनि आएको होइन ? । आखिर पछि उक्त व्यक्तिलाई मुखमा के गरेर बुझो लगाइयो थाहा भएन । एमालेका एकजना तत्कालीन मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा पढ्न गएका चेलीहरुको विषयमा बोल्दा नैतिकताको आधारमा राजीनामा दिन बाध्य हुनु प¥यो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र संचारमन्त्री गोकुल बाँस्कोटाले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएको होइन ।
० तपाईंको आशय प्रश्न उठेपछि अध्यक्ष लामिछानेले मन्त्री पदबाट किन राजीनामा दिएनन् भन्ने हो ?
–नयाँ पार्टी त्यसमा पनि मुलुक बनाउँछु भनेर गफ दिएर आएको नेतामाथि नै प्रश्न उठेपछि केही समय बाहिर बस्छु भन्ने आँट किन नदेखाएको ? म माथि छानबिन गर्नुस् भनेर खोई हिम्मत गरेको ? हिजोको दिनमा रवीजी गृहमन्त्री हुँदा नै नागरिकताको कारण पद खुस्कियो । पछि फेरि सहकारीको अनियमितता दबाउन सोही मन्त्रालय रोजेको होइन । मुलुकभित्र यतिखेर उसले गल्ती ग¥यो, मैले किन नगर्ने भन्ने प्रबृत्ति मौलाएको देखियो । यतिसम्मकि संसदमा बोल्दै विभिन्न मुद्दाका फाइल तयार रहेनछ म मन्त्री भएपछि फाइल तयार गरेको भनेर दावी गरेका थिए । मन्त्रीबाट बाहिरिएपछि फाइल भर्खर खोल्न थालेको थिएँ २४ घन्टा नपुग्दै सरकार ढल्यो भन्नसमेत भ्याएका छन् । केही दिन अगाडि संसदमा बोल्नेक्रममा फाइल अगाडिदेखि तयार भएपनि मृत अवस्थामा रहेका थिए भनेका छन् । आखिर चार महिना गृहमन्त्री बनेपनि केही गर्ने आँट गर्न सकेनन् । हामी सो दलमाथि होइन, प्रवृत्तिप्रति खनिएका हौं । पार्टी अध्यक्षले संसदमा बोलेको विषयले तल जनतासम्म प्रभाव पर्ने भएकोले विचार गरेर बोल्नुपर्छ ।
० संसदका प्रमुख दुई ठूला पार्टी मिलेर नयाँ सरकार बनेको छ, दलित समुदायको प्रतिनिधित्व भएन भनेर आलोचना पनि चुलियो, प्रदेश सरकारमा कतिपय विवादित, बद्नाम छविका अनुहारलाई नेपाली काँग्रेसले मन्त्री बनाएको भनेर आलोचना खेप्दै आएको छ, होइन के भएको यस्तो ?
–गल्ती कमीकमजोरी हामीबाट पनि भएको छ । नभएको होइन । नेतृत्वले चाह्यो भने संविधानमा वा पार्टीको विधानमा लेख्नु पनि पर्दो रहेनछ । २०१५ सालमा भएको आम निर्वाचन र २०१६ सालको मन्त्रिमण्डलका बारेमा अध्ययन गरियो भने संविधान र विधानमा नलेख्दा पनि समावेशीरुपमा गरिएको पाइन्छ । अझ मत सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छु । धेरै पछाडिसम्म कर्णालीको पुल नबन्दासम्म हामी नेपाली हो कि होइन भन्ने जस्तो आभास हुन्थ्यो । किनभने हामी काठमाडौं आउन पनि इन्डिया गएर पुन नेपाल आउनुपर्दथ्यो । त्यसैले नेपाली काङ्ग्रेस भनेको प्रजातन्त्रको प्रारम्भ र अभ्यास गर्न सिकाउने पार्टी पनि हो । कमी कमजोरी भएका छन् भने यसलाई सच्याउँदै अगाडि बढ्नुपर्छ ।
० विवादित प्रदेश सांसदलाई मन्त्री र संघीय सरकारमा दलितलाई मन्त्री नबनाएको विषयमा पार्टी नेतृत्व किन मौन बसेको होला ?
–सांसद निर्वाचित भइसकेको व्यक्ति मन्त्री बन्न अयोग्य हुँदैन । अयोग्य व्यक्ति हो भने टिकट दिनै हँुदैनथ्यो । त्यसकारण यो विषयमा बहस नगर्दा राम्रो होला । अर्को कुरा वर्तमान संविधान नेपाली जनताको बलमा बनेको हो । यसको जस अपसज पनि हामीले लिनैपर्छ । संविधानभित्र रहेर नै हामी चुनिएर आएका हौं । संविधान शिलामा लेखिएको ढुंगा जस्तो होइन, कमीकमजोरी करेक्सन गर्दै अगाडि बढ्न सकिन्छ । संविधानमा लेखेको कुरा कार्यान्वयन गर्न दलहरु र सरकार तयार हुनुप¥यो । केही कमी कमजोरी भएका छन् । संबिधानमा नै ३३ प्रतिशत महिला र एक तिहाई दलित भनेर सैद्धान्तिक रुपमा स्वीकार गरेका छौँ । मन्त्रिमण्डलमा कूल संख्याका एक तिहाइ दलितको उपस्थिति गराएको भए के फरक पर्दथ्यो । दलितकै कुरा गर्दा पनि सक्षमहरु सांसदहरु धेरै छन् । दुबै पार्टीबाट दलित सांसदको नाम आएपनि अन्तिममा किन कटाइयो । तरपनि काङ्ग्रेसले दलितलाई राज्यमन्त्री दिएर समावेशी बनाउने कोशिष गरेको छ ।
० तपाईंले महिला अधिकारको कुरा गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवाकै श्रीमती आरजु राणालाई नै वर्तमान सरकारमा परराष्ट्र मन्त्री बनाउनुपर्ने के बाध्यता आइलाग्यो, पार्टीमा अरु सक्षम महिला छैनन् र ?
–त्यसरी त भन्न मिल्दैन । डा. आरजु राणा निरन्तर १५ वर्षदेखि पार्टीको महासमिति सदस्य रहँदै आएकी छिन । उनी केन्द्रीय सदस्य पनि हुन, निरन्तर तीन अवधि भयो । संविधानसभा सदस्य हुँदै अहिले समानुपातिक सांसद पनि हुन् । पार्टीभित्र धेरै सक्षम व्यक्तिहरु छन् । तर, आरजुलाई पार्टी सभापति शेरबहादुरको श्रीमती भएर मन्त्री भएको भनेर जोड्नुपर्छ भन्ने पक्षमा म छैन । म पनि मुक्ति सेनाकी छोरी हो । मेरो परिवार राजनीतिमा हुँदा पनि त्यतिबेला महिला अधिकारको लागि बाहिर निस्किन निकै गाह्रो हुन्थ्यो । तरपनि घर व्यवहारसँगै राजनीतिमा पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता म मा रहेको थियो । मेरो श्रीमान र मेरो यही सोचको कारणले नै म राजनीतिमा आएकी हुँ । काम गरेपछि त्यसको मूल्यांकन त हुन्छ नै । त्यसैले श्रीमान श्रीमती भनेर जोड्न मिल्दैन ।
० भनिन्छ, प्रतिस्पर्धी ठूला पार्टी नै मिलेर सरकार बनाउनुलाई संसदीय व्यवस्थामा त्यति शोभनीय मानिदैन, दलको संख्या घटाउनका लागि थ्रेसहोल्ड बढाउने गरी संविधान संशोधन गर्ने योजना सरकारको रहेको देखिन्छ, जसका कारण विभिन्न आशंका र प्रतिगमनको खतरा बढेको बताईदैछ, तपाईंलाई के लाग्छ ?
–धेरै आशंका गर्नु पर्दैन । हामीहरुले धेरै राम्रो काम गर्न सक्छौं । जनताको प्रतिनिधिले शासन गर्न पाउने व्यवस्थालाई कसरी हटाउन सक्छौं ? माओवादी जनयुद्ध संचालन गर्दा १७ हजार मान्छे मारिए । संविधानसभाले संविधान बनाउदै गर्दा संसदमा अविश्वासको प्रस्ताव दुई वर्षसम्म राख्न नपाउने व्यवस्था गरौं भनेर छलफल भएको थियो । एक पटक अविश्वासको प्रस्ताव राखेपछि एक वर्षसम्म ल्याउन नपाउने भनेर संविधान बनायौं । तर, अविश्वासको प्रस्ताव पो राख्न नपाउने, सरकारमा सहभागी दल बाहिरिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान राखियो । कार्यकारी प्रधानमन्त्रीले चाहँदैमा मुलुकमा अस्थिरता नआवोस् भनेर छलफल पनि गरेका थियौं । यी विषयलाई गंभीर रुपममा नलिंदा मुलुकमा राजनीतिक अस्थिरता बढ्न पुग्यो । यसैलाई ट्रयाकमा ल्याउनका लागि अहिले नयाँ ढंगले दुई पार्टी अगाडि बढेका हुन् जस्तो मलाई लाग्छ । कसैलाई पाखा लगाउनका लागि संविधान संशोधन गर्न लागिएको होइन, आवश्यकताको आधारमा गर्नुपर्छ ।
० २०७९ को आम निर्वाचनमा नेकपा माओवादीसँग चुनावी एकता गरेर गएको नेपाली काँग्रेर निर्वाचनपछि एकाएक पछि हटेकोले राजनीतिक अस्थिरता त्यहीबाट शुरु भयो भनिदैछ नि ?
–०७४ को आमनिर्वाचन पछि हामी प्रतिपक्षमा बसेका थियौं । मलाई त तत्कालीन नेकपाले ५ वर्ष सरकार चलाइदियोस् भन्ने लागेको थियो । राम्रो गरे पुन उहीँ आउला, नराम्रो गरे हामी आउँला भन्ने सोच हामीमा थियौं । तर, हामी प्रतिपक्षमा बसेकोलाई नै हात जोडेर सरकारको नेतृत्व गरिदिनुु प¥यो भनियो । जसका कारणले गर्दा स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनमा जानुप¥यो । गठबन्धनका कारण नेकपा माओवादीलाई पनि काङ्ग्रेसमा भोट हाल्न गाह्रो भयो होला । हाम्रा कार्यकर्ताले पनि माओवादीमा रोएर भोट हालेका छन् । आम चुनावपछि ठूलो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने बित्तिकै पूर्व प्रधानमन्त्री प्रचण्ड बुर्लुक्क बालकोट पुग्नुभयो । पछि फेरि हामीतिरै आउनुभयो । त्यसकारण हाम्रो कारणले राजनीतिक अस्थिरता आएको पक्कै होइन ।
० कसका कारणले यस्तो अवस्था आयो त ?
–हामीले त महासमिति बैठकमा छलफल गरेर पाँच वर्षसँगै गठबन्धनमा रहेर सरकार संचालन गनुपर्छ भनेर बाचा गरेका थियौं । फेरि प्रचण्ड भड्किएर बालकोट गएपछि अस्थिरता सुरु भयो । राजनीतिक स्थिरता बिना विकास संभव हँुदैन । अव राजनीतिक परिवेशसँगै नेपाली जनतालाई आस पलाउने काम गर्नैपर्छ । नेपालमा केही हुँदैन भनेर विदेशिनेक्रम बढ्दा लगानीकर्ता डुबेका छन् । बाहिरका लगानीकर्तालाई बोलाउनु परेको छ । त्यसैले दुई ठूला दल मिल्दा कसैले शंका पनि गर्नु पर्दैन ।
० स्थिरताकै लागि हो भने त प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व किन नगरेको त ?
–यो एउटा बाध्यात्मक स्थिति पनि हो । एमालेबाट ठक्कर खाएपछि माओवादी अध्यक्ष प्रचण्डजीले पार्टी सभापतिलाई फोन गरेका थिए । तर, हाम्रो सभापतिले वचन दिइसकेकोले ‘सरी’ भनि दिएपछि नयाँ परिस्थिति बनेको हो । त्यसैले अव स्थिरता सँगसँगै विकासको गतिलाई पनि अगाडि बढाउनुपर्छ । हाम्रो उद्देश्य जसरी पनि राजनीति स्थिरता र स्थायित्व नै हो ।
० अहिले जनतामा एक किसिमको राजनीतिक वितृष्णा बढेको र बंगलादेशको राजनीतिलाई उदाहरण दिन थालिएको छ, संसदमा दुई तिहाई बहुमत हुँदा प्रधानमन्त्रीले देश छोडेर किन भाग्नुप¥यो होला भन्ने प्रश्न उठेका छन् नि ?
–बङ्गलादेशमा आरक्षणको विरोधलाई समयमा संवोधन गर्न नसकेको कारण त्यो अवस्था आएको हो । यो नेपालका नेता र सरकारका लागि ठुलो पाठ पनि हो । नेतृत्वप्रति असन्तुष्टि बढ्दै गयो भने सानो झिल्को ठूलो आगो बन्न सक्छ भन्ने सन्देश पनि यस घटनाले दिएको छ । त्यहाँ विकास नभएको होइन, भएको छ । तर, जो माथि छन, ऊ झन माथि पुग्ने र गरिब सधैं तलको तलै रहेको अवस्था छ । जसको तरङ्ग नेपाल पनि नआउला भन्न सकिन्न । जनताले राजतन्त्र त फाले भने हामीलाई पनि त्यसो नगर्लान् भनेर दावी गर्न चाहिं सकिन्न । त्यसैले हामी सबै सच्चिएर अगाडि बढ्नुको अर्को विकल्प छैन । आक्रोस कति छ भनेर सामाजिक सञ्जाल हेर्न सकिन्छ । जस्तैः म प्रति जनताले हेर्ने नजर कस्तो छ, थाहा पाउन सकिन्छ । सकारात्मक र नकारात्मक कमेन्ट हेरेर पनि सच्चिदै, सुध्रिदै अगाडि बढ्नुपर्छ ।
० समानुपातिक निर्वाचन प्रणालीको नाममा नेतृत्वले आफू निकट र परिवारवादलाई फोकस गर्दा लक्षित वर्ग छुटेका छन, होइन ?
–एकदुई प्रतिशत त्यस्तो भएको हुनसक्ला । हाम्रै पार्टीमा पनि होला । तर, जनआन्दोलनको समयमा बालबच्चाहरुलाई खाकमा लिएर सडकमा कुद्ने त उनै महिला र श्रीमती होलान् नि । नेताको श्रीमती, भाइ, दाइले सांसद बन्न नै नपाउने भन्ने त हुँदैन होला । उसको योगदान के कति छ त्यो भने हेर्नैपर्छ । कतै गल्ती भयो भने त्यसलाई सच्याउनुपर्छ । मेरै पार्टीको नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँडले ०६२ र ०६३ को आन्दोलनमा सडकमा बच्चा लिएर उत्रिएको तपार्इंहरुले पनि देख्नुभयो होला । योगदान गरेको मान्छेलाई मूलधारमा ल्याउँदा सकारात्मक रुपमा लिनुपर्छ । (साँघु साप्ताहिक, २०८१ साउन २८)




