काठमाडौं, ८ पुष । गत वर्ष प्रदर्शनमा आएको हिट चलचित्रमा ‘ऐश्वर्य’ लाई धेरैले नायक रमेश उप्रेतीको कमब्याकको रुपमा लिएका थिए । संयोगवश चलचित्रमा बक्स अफिसमा पनि हिट भयो ।
यही चलचित्रबाट नै नवनायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले एकअर्कालाई जीवनसाथीको रुपमा पाए । व्यापारदेखि क्रिटिक्सबाट पनि वाहावाही पाएको चलचित्रलाई दर्शकहरुले पनि रुचाए । साथै खलनायकका रुपमा प्रशान्त ताम्राकारलाई पनि धेरैले मन पराए ।
अब यो चलचित्रको सिक्वेल पनि बन्ने भएको छ । तर यसका लागि भने केही समय कुर्नु पर्ने भएको छ । नायिका जल शाहकी आमा प्रेमा शाहको प्रथम स्मृति सभामा बोल्दै नायक उप्रेतीले यस्तो आशय व्यक्त गरेका हुन् ।
‘‘ऐश्वर्यको सिक्वेलका लागि काम भइरहेको छ तर भनेको जस्तो कथा नभेट्दा केही समय भने लाग्न सक्छ । चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ र अर्को वर्षबाट छाँयांकन सुरु हुन्छ’’, उनले भने ।
कथावस्तु देखि लिएर पात्र छनोटमा तालमेल देखिएको ‘ऐश्वर्य’ मा अब फेरी पुरानै अनुहार दोहोरिन्छन् कि नाई, यसको लागि भने प्रतिक्षाको विकल्प छैन ।




