काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन ।
अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।” वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।”
नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले “वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,” भने । नेता पौडेलले काङ्गे्रसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए । “तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ”, उनले भने । रासस



