काठमाडौं, ५ माघ : थाइल्यान्ड टि -२० स्म्यास क्रिकेटको फाइनलमा नेपाल ७० रनले पराजित भएको छ । यो सँगै नेपालको विजेता बन्ने चाहना सपनामा नै सीमित भएको छ ।
थाइल्यान्डले दिएको १ सय २२ रनको मध्यम लक्ष्य नेपालले पूरा गर्न नसक्दा उपविजेतामा नै चित्त बुझाउनु पर्यो । जवाफी ब्याटिङ गरेको नेपाल १७.२ ओभरमा पूरै विकेट गुमाउँदै ५१ रनमा सीमित भयो ।
नेपालका लागि सीता राना मगरले १३ र नेरी थापाले १७ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रतियोगितामा सबै खेल जित्दै फाइनलमा पुगेको नेपाल १२ वर्षमा दोस्रोपटक अन्तर्राष्ट्रिय उपाधिबाट वञ्चित हुनु पर्यो । यसअघि सन् २००७ मा नेपालले वुमेन्स च्याम्पियनशिपको फाइनलमा बंगलादेशलाई हराएको थियो ।




