सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३, स्थित एक होटेलमा खुलेआम यौन धन्दा हुने गरेको पाइएको छ ।
धार्मिक आस्थाको केन्द्र मानिने शम्भुनाथ मन्दिरको मुल गेटबाट ४/५ मिटर पश्चिमतर्फ रहेको आर के होटलमा लामो समयदेखि यौन धन्दा चलिरहेको तथ्य बाहिर आएको हो । स्थानीयहरूका अनुसार, होटलका सञ्चालक कृष्ण यादव कुनै साधारण व्यवसायी होइनन्—उनी लामो समयदेखि यौन धन्दा सञ्चालन गर्ने ‘पुराना खेलाडी’ हुन् ।
राजविराजस्थित आफ्नै घरमा यस्ता अवैध गतिविधि चलाउँदै आएका यादवले अहिले मन्दिरकै मुल गेटमा आपराधिक धन्दा चलाइरहेको बताइन्छ । यादवमाथि गाउँकी चेली, आर्थिक कठिनाइमा परेका र श्रीमान विदेशमा रहेका महिलाहरुलाई विभिन्न प्रलोभनमा फसाएर यौन धन्दामा लगाएको आरोप छ ।
"सुरुवातमा राम्रो कामको अवसर दिने, पैसाको लोभ देखाउने, अनि पछि जबरजस्ती यौन धन्दामा धकेल्ने—यो नै उनीहरूको काम हो,” एक पीडित नजिकका आफन्तले भने । अनेक पटक मौखिक र लिखित उजुरी दिइए पनि प्रहरीले ‘सबूत ल्याउनु’ भन्ने बहाना मात्रै पारेको स्थानीयको गुनासो छ ।
शम्भुनाथ मन्दिरमा पूजा गर्न आउने भक्तजन, पर्यटक र स्थानीय समुदाय यस्ता गतिविधिले आक्रोशित छन् । उनीहरू भन्छन्, “यो केवल अवैध धन्दा मात्र होइन, यो हाम्रो धर्म, संस्कृति र गाउँको इज्जतमाथि सीधा चोट हो ।” स्थानीयले तत्काल छानबिन गरि संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गरेका छन् ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ः




