चीनको विशाल थ्री गोर्जेस ड्यामले पृथ्वीको घुम्ने गति कम गरेर दिन केही लामो बनाएको अनुसन्धानले देखाएको छ । करोडौं घनमिटर पानी एकै स्थानमा जम्दा पृथ्वीको द्रव्यमान सर्ने र घुमाईमा करिब ०.०६ माइक्रोसेकेन्डको परिवर्तन आएको वैज्ञानिकहरूले जनाएका छन् ।
विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना मानिने यो ड्याममा करिब ३९.३ अर्ब घनमिटर पानी संचित गर्न सकिन्छ । यसरी ठूलो मात्रामा पानीको भार जम्दा पृथ्वीको घुमाई (परिक्रमा) मा सानो तर महत्त्वपूर्ण प्रभाव परेको अनुसन्धानकर्ताहरू बताउछन् ।
विशेषज्ञहरूको अनुसार, द्रव्यमान वितरणमा आएको हल्का परिवर्तनका कारण पृथ्वीको दिनको अवधिमा वृद्धि भए पनि यसको प्रभाव मानिसको दैनिक जीवनमा महसुस हुने खालको छैन । तर, भू–विज्ञान र खगोल विज्ञानका लागि भने यो तथ्य महत्त्वपूर्ण अध्ययनको विषय बन्न पुगेको छ ।
वैज्ञानिकहरूले थ्री गोर्जेस ड्यामलाई मानव निर्मित संरचनाले पृथ्वीको प्राकृतिक गतिमा पारेको उल्लेखनीय प्रभावका रूपमा हेरिरहेका छन् । उनीहरूका अनुसार यसले भविष्यमा ग्रहको प्राकृतिक गति र भू–गर्भीय परिवर्तन बुझ्न सहयोग पु¥याउनेछ ।




