(परिस्थितिअनुसार मानिस आफै अगाडि बढ्छ । उसलाई इच्छा र आकांक्षाले भने सफलताको बाटोतिर मोड्छ । तर इच्छा र आकांक्षा पूरा भए पनि मानिस सफलता नै हासिल गर्छ भन्ने छैन । त्यस्तै भएको छ सनबहादुर लिम्बुको जीवनमा पनि । ४५ वर्षे तेह्रथुमका यी युवा गाडी लाइनका भने पुराना पात्र हुन् । उनले सोचेजस्तो काम त पाए तर दाम पाउन सकेनन् । उमेरको आधा भन्दा बढी समय यही लाइनलाई दिएर पनि कहाँनेर चुके उनी ? बा २ क १३४२ नम्बरको टिपरका चालक लिम्बुले सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसंग आफ्नो जीवन मिश्रित भावले खोलेका छन् –सम्पादक)
० कहिलेदेखि लाग्नुभयो यो लाइनमा ?
–भयो २५ वर्ष ।
० कसरी लाग्नुभयो ?
–साथीहरूको संगतले लागियो नि कसरी भन्नु ।
० के भएको थियो बताउनुस् न ?
–तेह्रथुममा जन्मिएको । त्यतिबेला आर्थिक कमजोरीका कारण २ कक्षाभन्दा बढी पढिएन । नपढेको पछुतो लागेर अब अर्थ पनि रहेन । पढाइ छाडेर गाउँमै खेती किसानी गरियो । अनि २०५० सालमा साथीहरूको संगतमा लागेर राम्रो काम पाइने आशामा काठमाडौं छिरें । त्यतिबेला ड्राइभर नै बन्ने लक्ष्यले काठमाडौं आएको थिएँ । तर सात वर्षसम्म टिपरमै खलासी भएर काम गरियो ।
० कत्तिको सजिलो हुँदो रैछ खलासी बन्दा ?
–के सजिलो हुनु नि । निकै दुःख कष्टले काम गरियो कहिले टिपर कहिले ट्रकको ढोकामा बसेको थिएँ ।
० कहाँ कहाँ गइयो ?
–यही काठमाडौं वरिपरि नै गइयो ।
० के के गरियो ?
–त्यही इँट्टा, बालुवा, गिट्टी उठाउने र पु¥याउने काम गरियो ।
० अनि गाडी कसरी चलाउन थाल्नुभयो ?
–सात वर्षसम्म टिपरमा काम गरेपछि त्यही टिपर नै चलाएँ । २० वर्ष भएहोला कहिले टिपर र कहिले ट्रक चलाइयो ।
० अरु गाडी चलाउन मन लागेन ?
–सुरुदेखि नै यसमा काम गरियो । अन्त जान मन लागेन । यसमै गरियो ।
० कस्तो छ त ड्राइभरको जिन्दगी ?
–खत्तम छ । बेहाल छ ।
० किन नि ?
–कमाइ छैन । महंगी बढी छ । महिनाको ३०–४० हजार कमाइ गरेर परिवार धान्न गा¥हो छ ।
० कति छन् सन्तान ?
–एक छोरा र एक छोरी ।
० काठमाडौंमै पढ्छन् ?
–हैन । गाउँमा पढ्छन् । यहाँ गा¥हो छ पढाउन । फेरि आजकल गाउँमा पनि पढाइ राम्रो छ । हाम्रो त काठमाडौंमै बस्ने बानी प¥यो । त्यसले पनि गाह्रो भइरहेको छ । मिहिनेत गर्ने हो भने आजकल काठमाडौंमा भन्दा बढी कमाइ गाउँमै गर्न सकिन्छ ।
० विदेशतिर जाने सोच आएन ?
–आएको थियो । प्रयास पनि गरेको हो । भएन । पढाइ पनि कम भयो । अनि पैसा पनि महङ्गो भयो । त्यतिबेलै दुई लाख रुपैयाँ मागेपछि कसरी सक्नु र ? त्यतिबेलाको दुई लाख अहिलेको पचास लाख बराबर हो ।
० कत्तिको उन्नति गरियो त ?
–गरिएन । उन्नति भएको भए अहिलेसम्म साहुको गाडी चलाएर बस्ने अवस्था आउने थिएन । आफैले गाडी किनेर चलाइन्थ्यो । साहुको गाडी चलाएर आफ्नो उन्नति कहिले पो हुन्थ्यो होला र ।
० भोलिका दिनमा के गर्ने सोच छ ?
–सकुन्जेल यसरी नै गाडी चलाउने हो । त्यसपछि फर्केर गाउँ जाने हो । पहिले पनि खेती गरेकै हो । फेरि पनि गरिन्छ ।
० सरकारले केही गर्ला कि ?
–सरकारले केही गर्दैन । कुनै पनि पार्टीको सरकारले केही गर्दैन । अहिलेसम्म नगरेको अब के गर्ला ? काँग्रेसको सरकार पनि भोगेकै हो । माओवादीको पनि भोगियो । एमालेको पनि भोगियो । कसैले केही गर्दैन ।
० टिपरले त दिनमा चलाउन पाइँदैन । असजिलो हुँदैन ?
–असजिलो भएको छ नि । हामीलाई मात्र होइन उपभोक्तालाई पनि असजिलो भएको छ । एक टिपभन्दा बढी टिप गर्न सकिँदैन । दिउँसोमा भएको भए दुई टिप हुन्थ्यो । एक टिपको चार हजारले पुग्थ्यो । अब रातिमा दुई टिप गर्न नपाउने भएपछि चार हजारलाई छ हजार गराउनै प¥यो । उपभोक्ताले पनि बढी रकम तिर्नुपर्ने भयो ।
० अनि टिपरले त ज्यान लिन्छ भन्छन् नि ?
–यो थेगो हो । फिल्ममा बन्ने थेगो जस्तै । कीरा फट्याङ्ग्रा त हामीले मार्न सकिँदैन कसरी मार्ने हो मान्छे ? १०–१२ चक्केले हाने पनि हामी नै पर्दछौं । होलान् एक दुई जना युवाहरू त्यस्ता । तर, तिनीहरूको नाममा टिपर सबै ज्यानमारा ठहरिनु गलत भयो । सानो ठाउँ पाए पनि बाइक अगाडि आएर बस्छ । धेरै नजिक अगाडिको देखिँदैन टिपरबाट । कतिबेला बाइक छिर्छ पत्तो हुन्न । यो लापरवाही रोक्नुप¥यो । फेरि गल्ती जसको छ उसलाई पो त कार्वाही गर्ने । जसलाई पनि कार्वाही गर्ने भन्ने त भएन नि ।
० ट्राफिक प्रहरी कस्तो छ ?
–कस्तो हुनु नि दुःख दिन्छ ।
० कमाई कस्तो हुन्छ ?
–हाम्रो काम असार साउनको भेल जस्तो । स्टेयरिङमा बस्यो कमाइ हुन्छ । बसेन हुँदैन ।




