एकजना राजा हरहमेसा आफूलाई खुसी राख्न चाहन्थे । तर कहिले आफैं र कहिले छोराछोरी विरामी हुँदा त कहिले जनताको समस्या र कहिले राज्यको सुरक्षाका कारण उनी चिन्तित हुने गर्दथे । उनी एकजना महात्मासँग गए र सधैंभरी खुसी रहने उपाय बताइदिन अनुरोध गरे । राजाको समस्या सुनेर महात्माले भने–राजन यदि तपाईंले कुनै त्यस्तो व्यक्तिको कपडा लगाउनुहोस् जसले जीवनमा कहिले पनि पीडाको अनुभव गरेको छैन । यदि यसो गर्नसक्नुभयो भने तपाईं जहिले पनि खुसी रहन सक्नुहुनेछ ।
त्यसपछि राजाले जीवनमा कहिले पनि पीडा नभोगेको तथा जहिले पनि खुसी रहेको व्यक्ति खोजी उसले शरीरमा लगाएको कपडा ल्याउनका निम्ति चारै दिशामा सेना दौडाए । तर कैयौं दिनको दौडधुपपछि पनि सेनाले एउटा पनि त्यस्तो व्यक्ति फेला पार्न सकेनन् । राजाले रिसाएर सेनालाई त्यस्तो मानिस खोज्नका निम्ति थप एक महिनाको म्याद दिए । त्यो महिनाको अन्त्यमा एक जना सैनिक राजाको खुट्टामा लम्पसार परेर भन्यो, महाराज क्षमादान दिनुप¥यो ।
देशको सिमाना छेउमा एकजना साधु फेला परेका थिए । त्यहाँका जनताले त्यो साधु जहिले पनि खुसी रहन्छ भन्थे । उसको अनुहारमा गहिरो खुसी आभा पनि देखिन्थ्यो । तर महाराज त्यो साधु नांगै समाधीमा थियो । अनि उसको के कपडा लिएर आउनु ? यो कुरा सुनेपछि राजाको दिमागमा महात्माको भनाइको रहस्य खुल्यो ।




