काठमाडौं । औपचारिकरुपमा नेपाल र चीन सरकारले घोषणा गरिनसकेको भएपनि चीनका राष्ट्रपति सी जिङपिङले यही असोजको अन्तिम साता नेपाल भ्रमण गर्ने निश्चित भएको छ । २०७६ भदौ २२ गते तीन दिनका लागि नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका बीचमा छलफल भएपछि चीनका राष्ट्रपति सीको नेपाल भ्रमण टुंगो लागेको हो । चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री ज्ञवालीका बीचमा भारतको पा“च दिने औपचारिक भ्रमण सम्पन्न गरेपछि चीनका राष्ट्रपति सीले एक रात र दुई दिनको नेपाल भ्रमण गर्ने कार्यक्रम निश्चित भएको हो ।
२३ बर्ष अगाडि सन् १९९६ मा तात्कालीन चीनका राष्ट्रपति जियान जेमिनले भ्रमण गरेपछि चीनका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । नेपालको तर्फबाट पटक पटक भ्रमणका निम्ति निमन्त्रणा गरिएको भएपनि नेपालको तर्फबाट तयारी नपुगेको भनेर अहिलेसम्म चीन सरकारले आफ्नो राष्ट्रपतिको नेपाल भ्रमण गराएको छैन ।
२३ बर्ष पछि विश्वकै शक्तिशाली चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण निश्चित भएको छ । चीनका राष्ट्रपति सीको नेपाल भ्रमण निश्चित भएपछि नेपाल भ्रमणको क्रममा हुने विभिन्न सन्धि सम्झौता तथा सहयोगका सम्बन्धमा गृहकार्य अगाडि बढाएर अन्तिम रुप दिनुपर्नेमा चीनका राष्ट्रपति सीको नेपाल भ्रमण हुन तीन साता मात्र समय बाँकी हुँदा नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसहित परराष्ट्रकै आधा दर्जनजति सहसचिवको टोली लिएर संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन भनेर २०७६ असोज ४ गते शनिबार अमेरिका प्रस्थान गरेका छन् । मन्त्री ज्ञवाली २०७६ असोज १४ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यसरी नेपालका परराष्ट्र मन्त्री ज्ञवालीलाई र परराष्ट्र मन्त्रालयलाई नै चीनका राष्ट्रपतिको २३ बर्ष पछाडि हुन लागेको नेपाल भ्रमणभन्दा अमेरिका भ्रमण महत्वपूर्ण हुन गएको छ । २०७६ भदौ २२ गते चीनका विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा पनि परराष्ट्र मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयहरुले आवश्यक गृहकार्य र तयारी नगरेकै कारणले गर्दा ५ हजार थान त्रिपाल र मनाङमा एउटा सानो अस्पताल खोलिदिने सम्बन्धमा सम्झौता भएको भनेर परराष्ट्रले अनावश्यक प्रचार गरेर चीनका विदेशमन्त्री यीको नेपाल भ्रमणको बेइज्जत र नेपालको अपमान गर्ने काम भएको थियो ।
चिनिया राष्ट्रपति सी को अति नै महत्वपूर्ण नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले परराष्ट्र मन्त्री र पर्राष्ट्र सचिवलाई अमेरिका भ्रमण गर्ने अनुमति कसरी र किन दिए भन्ने प्रश्न पनि खडा भएको छ ।



