काठमाडौं । कही“ नभएको जात्रा हा“डीगाउ“मा भन्ने आहान नेपाली समाजमा प्रचलित छ । तर, हा“डीगाउ“मा भन्दा पनि चर्को जात्रा नेपालकै निर्वाचन आयोगमा हुने गरेको छ । पहिलो चरण निर्वाचनमा सुस्त मतगणना गरेर चर्को आलोचना खेपेको निर्वाचन आयोगले दोस्रो चरण निर्वाचनमा त्योभन्दा पनि गन्जागोल वातावरण बनाएको छ ।
आयोगले चुनाव सकिएको ४ दिनपछि चुनाव हुनुभन्दा अघि गर्नुपर्ने काम गरेर व्यवस्थापनको नमूना पेश गरेको हो । विराटनगरलगायतका धेरै मतदाता भएका स्थानीय तहको मत गणनाको तयारीमा खासै चासो नदिएको आयोगले ४ दिनपछि गणनाका लागि धमाधम कर्मचारी खोजिरहेको छ । कर्मचारी अभावमा ८० हजार मत खसेको विराटनगर महानगरपालिकाको गणना ४ दिनमा १० हजार मात्रै सकिएपछि आयोग कर्मचारी खोज्न जुटेको हो ।
आयोगले कर्मचारी जुटाउन सरकारी कार्यालयहरूसंग गुहार नै मागेको छ । काठमाडौं, ललितपुरलगायत महानगरपालिकाको मतगणना दुई हप्ता लगाएर सकेको आयोगले यसबाट पाठ सिक्दै दोस्रो चरणको निर्वाचनमा कमजोरी सुधार्न अपेक्षा गरिएको भए पनि दोस्रो तह निर्वाचन सकिएको चार दिनपछि भोट गणनाका लागि मोरङ जिल्लास्थित सरकारी कार्यालयहरूलाई पत्रचार गरेर कर्मचारी पठाइदिन याचना गरेको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले हस्ताक्षर गरेर जिल्लाका सबै सरकारी कार्यालयहरूलाई कर्मचारी उपलब्ध गराइदिने व्यहोराको पत्र थमाएका छन् । तुरुन्त कर्मचारी उपलब्ध गराउन आग्रह गर्दै गरिएको पत्रमा कर्मचारीहरूलाई आकर्षक सेवा सुविधा दिने घोषणा गरिएको छ । रोचक के छ भने कर्मचारी अभावमा छटपटिएको निर्वाचन आयोगले मतगणनाका लागि कुनै प्रक्रिया नै पूरा गर्न नपर्ने भन्दै चटपटे दोकान सञ्चालकले ग्राहक बोलाएजस्तो कर्मचारीलाई मतदान स्थलमा आउन भनेको छ । सरकारी काम कसले देओस् ध्यान भनेको यस्तै यस्तै सरकारी रवैयाले पो हो कि ?




