देशमा बेरोजगारी र अभाव व्याप्त छ । बर्सेनी लाखौं युवाहरू विदेशिने गर्छन् । त्यस्तै जनशक्ति निर्यात गर्ने व्यवसाय पनि फस्टाउने गरेको छ । सरकारले एकदमै खुकुलो अनुसन्धानमा राखेर म्यानपावर सप्लाई कम्पनीहरू दर्ता गरिदिने गरेका छन् । विदेशिएका कामदारहरूको वास्तविक जीवन भने कहालीलाग्दो र दर्दनाक कथाहरूले भरिएको पाइन्छ । अझ गैरकानूनी ढंगले मानव तस्करको धन्दा पनि विगत केही वर्षयतादेखि बढ्दै गएको छ । जसको सञ्जाल अनेक देशहरूसम्मै फैलिएको देखिन्छ ।
ती मानव तस्करहरूले राज्यका निकायहरूमा समेत आफ्नो पहुँच जमाइसकेको मानिएको छ । त्यसले देशमा गम्भीर र जटिल खालको आपराधिक क्रियाकलाप पनि बढाउँदै ल्याएको छ । ती गैरकानूनी क्रियाकलापहरू, साना हतियारको ओसारपसार, सुन तथा मादकपदार्थको ओसारपसार, महिला बेचबिखनजस्ता ज्यान मास्ने–बेच्न अपराधहरू पनि हुन् । त्यसले देशको सामाजिक क्षेत्रमा विसंगति, आर्थिक क्षेत्रमा भ्रष्टाचार र राजनीतिमा अतिवादलाई हुर्काउँदै ल्याएको छ । सारसंक्षेपमा नेपाली युवा पिँढीहरू वैचारिक स्खलनमा परी आदर्शहीन पतनशील समाजको निर्माण गरिरहेका छन् ।
पुँजीवादी युगमा प्रवेश गर्दा युरोपमा पनि अराजकतावादले ठाउँ जमाउन खोजेको थियो । तर, नेपाली समाजले पनि त्यही गल्ती दोहो¥याएर अभ्यास गर्नुपर्छ भन्ने कुनै वैचारिक सूत्र होइन । धन आर्जन गर्न कुनै पनि अपराध वा गैरकानूनी बाटो अपनाउन थालेपछि मानवीय आदर्श र सभ्यताका कुराहरू फजुल हुन पुग्छन् । एकताका काठमाडौं वरिपरिका जिल्लाहरूले बम्बईको कोठीमा नेपाली केटीहरू ओसार–पसार गर्नेमा कुख्याति कमाएको थियो.। अहिले श्रम निर्यातक कम्पनीहरूले नै विदेशमा नेपाली महिला निर्यात गर्न थालेपछि तिनको कुख्याति दोस्रो दर्जामा झरेको देखिन्छ ।
नेपालमा बेरोजगारीको संख्या बढ्दै आएको तथ्यांकले बताउँछ । तर काठमाडौं उपत्यकाभित्र दर्ता गरेका नगरेका दर्जनौं रोजगारदाता कम्पनीहरू सक्रिय रहेको पाइन्छ । आकर्षक तलब र सीप नभएकालाई तालिमसमेतको निःशुल्क व्यवस्था रहेको पर्चाहरू बाटोभरि बाँड्ने गरेका छन् । जुन पर्चाहरूमा कामको किसिम, तलब सुविधाहरू र आवश्यक कामदारको संख्या तोकिएका हुन्छन् । सम्पर्क कार्यालय वा व्यक्तिको मोबाइल नम्बर अंकित रहेको देखिन्छ ।
तर काम गर्ने ठाउँ, कारखाना वा कार्यालयको ठेगाना भने दिएका हुँदैनन् । त्यस्ता पर्चाहरू विशेष गरी युवा, विद्यार्थी वा किशोरी छात्राहरूप्रति लक्षित गरी वितरण गर्ने गरेको पाइन्छ । प्रायः विद्यार्थीहरूको भीड लाग्ने क्याम्पसहरूको छेउछाउमा विज्ञापनको पर्चा वितरकहरू खटिएको देखिन्छ । पहाडी जिल्ला ११÷१२ को अध्ययन सकेर पठनपाठनका लागि उपत्यका पसेका बेरोजगार युवाहरू त्यसप्रकारको विज्ञापनतर्फ आकर्षित हुनु स्वाभाविकै हो ।
तर कुनै कम्पनी वा निजी संख्याको नामै नखोली परीक्षा फाराम भर्न लगाउने र सो बापत पाँच सयदेखि एक हजार पाँच सयसम्म शुल्क लिएर ठगी गर्ने गरेको गुनासाहरू सुनाउने गर्छन् । अत्तोपत्तो नभएको कथित होटल, रेस्टुरेन्ट वा अफिसमा काम दिलाई दिने भन्दै बेरोजगार युवायुवतीहरू ठगीबाट पीडित हुन पुग्ने गरेका छन् । त्योभन्दा पनि त्यही सम्पर्कको माध्यमबाट अन्य प्रलोभन देखाएर गैरकानूनी धन्दाको सञ्जालमा फसाउने जोखिम टड्कारो रूपमा देखिन्छ ।
अहिलेसम्म प्रहरी–प्रशासनको यसतर्फ ध्यान पुगेको देखिन्न । काठमाडौंका तीन सहरमा वेश्यावृत्ति अनियन्त्रित ढंगले बढेको सन्दर्भमा रोजगारको अवसरको मीठो आशा बाँड्दै हिंड्ने, दर्ता भएका नभएका यी कम्पनी वा व्यक्तिहरू आफ्नो ‘व्यवसाय’ सही ढंगले चलाएका छन् वा छैनन् भनी सरकारले निगरानी गर्नुपर्ने हो । अझ सुरक्षा निकायहरू र अपराध अनुसन्धान विभागले विशेष ध्यान दिएर अभियान नै चलाउनु नितान्त जरुरी भएको जनगुनासो बारम्बार आउने गरेको छ ।
उपत्यकामा घरेलु नोकरी गर्ने महिलाहरूमाथि पनि यौन दूराचार हुने गरेको समाचार बारम्बार आउने गरेको छ । पर्यवेक्षकहरूका अनुसार महिला हिंसासम्बन्धी, यौनशोषण र बलात्कारको सवालमा नयाँ मुलुकी संहिताले कठोर सजायको व्यवस्था गरेता पनि पीडित पक्षले सम्बन्धित निकायमा सुसूचित गर्न नसक्नु र फौजदारी मुद्दाको दायरामा आउने मामिलामा प्रहरी–प्रशासनले कडाइका साथ हेर्ने नगर्नाले पनि महिला हिंसा बढ्न गएको मानिन्छ । त्यसकारण महिला जागरणका साथसाथै प्रहरीको निगरानीको दायरा पनि फराकिलो पार्नुपर्ने आजको आवश्यकता हो । –कैलाश क्षेत्री, चौंरीदेउराली, काभ्रेपलाञ्चोक




