काठमाडौं । म्यादी प्रहरीलाई दोलखा जिल्ला प्रहरी कार्यालयले खाना खान समेत नदिएकोमा विरोध भएको घटना सेलाउन नपाउँदै म्यादी प्रहरीको पोशाक खरिदको ठेक्का पाएका ठेकेदार मनोजकुमार भारतीले भुक्तानी लिएर कबोल गरेको कमिसन पनि नदिई गायब भएपछि प्रहरीका हाकिमहरुको रुवाबासी भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि म्यादी प्रहरीको पोशाक आपूर्तिकर्ता ठेकेदार मनोज भारतीले भुक्तानी लिएर बेपत्ता भएपछि प्रादेशिक प्रहरी प्रमुख, संघीय इकाई प्रहरी कार्यालयदेखि जिल्लाका प्रमुखदेखि लेखापालसम्म तनावमा परेका छन् । विशेष गरी ७ नम्बर प्रदेशका एआइजी माधवप्रसाद नेपाल, संघीय प्रहरी इकाई कार्यालय सेतीका प्रमुख एसएसपी दानसिंह बोहरा र महाकालीका प्रमुख सुनिल भण्डारी कमिसन नदिई बेपत्ता भएका मनोज भारतीको खोजपड्ताल गरिरहेका छन् । भारतीले यसअघिका एआइजी विजयराज भट्टलाई नै कमिसन दिइसकेको भनेर हालै पदस्थापन भएका माधव नेपाललाई चक्मा दिएर गायब भएका छन् । तर भुक्तानी नै नभएकाले भट्टलाई उनले कमिसन दिने कुरै भएन, प्रहरी स्रोत भन्छ, भारतीले दुवै एआइजीलाई गुमराहमा राख्न सफल भएका छन् ।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनमा ९७ हजार २ सय म्यादी प्रहरीको पोशाकका लागि नेपाल सरकारले एक जनाबराबर ४ हजार रुपैयाँ बजेट दिएको थियो । ४ हजार बजेट छुट्याएपछि त्यही बराबरको रकमबाट विनाटेण्डर म्यादीका कपडा खरिद गरी करोडौं रुपैयाँ भ्रष्टाचार गर्न लागिएको समाचार साँघु साप्ताहिकले उजागर गरेको थियो । साँघुको समाचारका कारण प्रहरी प्रधान कार्यालयले ३१ सयमा म्यादी प्रहरीका लागि गुणस्तरीय पोशाकदेखि जुत्ता खरिद गर्ने निर्णय गरेको थियो । तर १ नम्बरका प्रदेश प्रमुख एआइजी पशुपति उपाध्यायले प्रतिब्यक्ति २९ सय रुपैयाँ र ७ नम्बरका बिजय भट्ट (हाल सरुवा)ले २८५० मा पनि म्यादीको पोशाक खरिद गरेका छन् । सुगम भए पनि ३ नम्बर प्रदेशका एआइजी केशरी घिमिरेले ३१ सय प्रतिब्यक्ति म्यादीका लागि कपडा खरिद गरेका थिए ।
टेण्डर गर्ने समय हँुदाहुँदै गुजारेर कमिसनकै लागि सिधै खरिद गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको थियो । म्यादीको लागि कपडा खरिद नहुँदै ३ नम्बर प्रदेशका एआइजी केशरीराज घिमिरे र डीआइजी गणेश केसीले ठेकेदार मनोज भारतीलाई म्यादीको कपडा झिकाएर धमाधम ३ वटा साइजमा सिलाउन लगाएको समाचार साँघुले प्रकाशित गरेको थियो । एआइजी घिमिरे, डीआइजी केसी र ६ नम्बर प्रदेशका एआइजी रणबहादुर चन्द समेत लगानीकर्ता रहेको फिटवेल गार्मेन्टका मनोजकुमार भारती देखावटी ठेकेदार हुन् ।
म्यादीको पोशाक आपूर्ति गर्दा ठेकेदारले ब्रम्लुट गरेका थिए । प्रहरीकै उच्च अधिकारीको लगानीमा ठेकेदार भारतीको फिट वेल गार्मेन्टले २ नम्बर प्रदेशका सप्तरीबाहेक सबै जिल्लामा ठेक्का पाएको थियो । त्यस्तै ३ नम्बरका सबै जिल्ला, ७ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र ४ नम्बर प्रदेशको मुस्ताङको ठेक्का पाएको थियो । ५ नम्बर प्रदेशका रुपन्देही र कपिलवस्तुमा पनि भारतीले ठेक्का पाएनन् । अरु जिल्लामा उनैले पाएका थिए । उपत्यकामा काठमाडौंमा राजमान मिश्र र ललितपुर र भक्तपुरमा श्रवण अग्रवालले म्यादीको पोशाकको ठेक्का पाएका थिए । मनोजकुमार भारतीले म्यादीको पोशाक आपूर्ति गर्दा कतिपय जिल्ला रोल्पा, रुकुम लगायतमा स्वीटर, सिटीकट त कहीँ बेल्ट छैन । तर लेखापाललाई मिलाएर स्वीटर आपूर्ति नै नगरी भुक्तानी लिएर भारती मालामाल भएका छन् । १ नम्बर प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको दबाबमा नेपाल प्रहरीका पूर्व निरीक्षक खिला केसीले म्यादीको ठेक्का पाएका थिए ।
म्यादी प्रहरीको पोशाकमा ३१ सयमै ठेक्का पाउँदा पनि प्रतिजोर १ हजार रुपैयाँ फाइदा ठेकेदारले लिनसक्ने पोशाक आपूर्तिकर्ता एक ब्यवसायी बताउँछन् । उनका अनुसार एक जोर जुत्ता, मोजा, सिटी, बेल्टको ठूलो स्केलमा खरिद गर्दा लागत २१ सय ५० पर्न आउँछ ।




