काठमाडौं । पीसीआर मेसिनको अभावले क्वारेन्टिनमा बसेका कोरोना आशंकितहरुको परीक्षण गर्नसमेत नसकिरहेको परिस्थिति छ । सांसदहरुले संसदमै पीसीआर परीक्षणको दायरा बढाउन सकरकारसँग माग गरिरहेका छन् ।
२०७७ जेठ ३२ मा प्रतिनिधिसभामा सांसद लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पद्म गिरीले पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका थिए । तर सरकारले पीसीआर मेसिन खरिद गर्न ढिलाइ गरिरहेको छ । कोरोना रोकथामका लागि आवश्यक पर्ने पीसीआर र संक्रमितको अवस्था गम्भीर हुँदा आवश्यक पर्ने भेन्टिलेटर समेत नेपालमा कम संख्यामा छन् ।
विश्वब्यापी चुनौती बनेको कोरोना महामारी रोकथामका लागि सरकारको सम्पूर्ण प्रयास हुनुपर्ने थियो । विकास निर्माण भन्दा पहिला मानिसको जीवन हो, मानिस नै नभए विकास निर्माण कसका लागि ? यो कुरा प्रधानमन्त्री केपी ओलीले पटक पटक भन्ने गरेका छन् । तर कोरोना संक्रमितको संख्या ५ हजार नाघिसकेको छ ।
कोरोना डढेलोसरी फैलिदैछ । दैलेखमा ४ सय भन्दा बढी संक्रमित देखिइसकेका छन् । भारतबाट फर्किएर क्वारेन्टिनमा राखिएकाहरुको पीसीआर परीक्षण हुन सकिरहेको छैन । पीसीआर परीक्षणका लागि सुर्खेत वा जुम्ला नै लानुपर्ने बाध्यता छ । दैलेखमा पीसीआर मेसिन जरुरी भए पनि सरकारले ब्यवस्था गर्न सकेको छैन ।
दैलेख घर भएका नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पटक पटक दैलेखमा पीसीआर मेसिन राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग अनुरोध गरे पनि अहिलेसम्म पनि ब्यवस्था हुनसकेको छैन ।
दैलेखमात्र होइन, बारा, रौतहट, सर्लाही, महोत्तरी जस्ता कोरोना संक्रमित बढिरहेका छन् । तर पीसीआर मेसिन अभाव छ । सर्लाहीका जनकपुरतिर जाने गरेका छन् भने रौतहट र बाराका बीरगंज जाने गरेका छन् ।
सरकारले सांसद विकास कोषमा छुट्याएको ६ अर्ब रुपैयाँ कोरोना सम्बन्धी आकस्मिक कोष बनाएर छु्ट्याई त्यस कोषबाट पीसीआर मेसिनदेखि भेन्टिलेटर समेत खरिद गर्ने कार्यमा उपयोग गर्नसक्थ्यो । एक सांसद बराबर कोषमा ४ करोड छुट्याइएको छ । जुन कोषमा रकम नछुट्याउन सरकारलाई चौतर्फी सुझाव दिए पनि छुट्याइएको छ ।



