काठमाडौं । यही असार ८ गते पत्रिकालाई उचाइमा पुर्याउने तर्क पेस गर्दै सम्पादक अखण्ड भण्डारीले पुराना सबै संरचना खारेज गरेर ‘विशेष खोज व्युरो’ खडा गरेपछि त्यहाँ पत्रकारको मनमा चिसो पसेको थियो । कतै ‘विशेष खोज व्युरो’लाई हतियार बनाएर प्रहार गरिने त होइन भन्ने भय खासगरी अखण्डलाई नरुचाउने पत्रकारमा थियो । अन्ततः त्यहीँ अनुमानअनुसार सम्पादक अखण्ड आफ्ना सहकर्मीमाथि निर्मम प्रस्तुत हुन थालेका छन् । यही क्रममा उनले आफूमातहतका ६ पत्रकारलाई जिल्ला सरुवा गरेर अप्ठ्यारो पारिदिएका छन् ।
अन्नपूर्णले मुख्यालयमा कार्यरत आफ्ना ६ पत्रकारलाई सोमबार विभिन्न जिल्लामा सरुवा गरेको हो । सरुवा हुने सबै यही असार ८ गते खडा गरिएको ‘विशेष खोज व्युरो’ मा समेटिएका पत्रकार हुन् ।
लकडानको असाधारण परिस्थितिमा पनि जिल्ला धपाइएका पत्रकारमा विकास कार्की, विश्वराज खनाल, सुशील पोखरेल, डिल्लीराज उपाध्याय, दीपकराज घिमिरे र गोविन्द देवकोटा छन् । विशेष खोजको फोटो संयोजक तोकिएका कार्कीलाई कैलालीको धनगढी जान फर्मान जारी गरिएको छ । खनाललाई इलाम र पोखरेललाई दार्चुला कार्यक्षेत्र तोकिएको छ । त्यसैगरी, उपाध्यायलाई हुम्ला, घिमिरेलाई रोल्पा र देवकोटालाई मनाङ पुगेर काम गर्न भनिएको छ ।
सोमबार सम्पादक अखण्ड भण्डारीले मानव संशाधन विभागलाई लेखेको पत्रमा ‘विशेष खोज व्युरोको संघीयता स्वरूपमा देशव्यापी विस्तारका क्रममा मुख्यालयबाट सिनियर पत्रकारहरू परिचालन गर्ने गरी सिर्जना गरिएका उच्च महत्त्वका दरबन्दीमा सरुवा गरिएको’ उल्लेख छ । साउन १ गतेदेखि लागू हुनेगरी सरुवा गरिएकालाई आवश्यक सवारीसाधन व्यवस्था गर्न पनि सम्पादक भण्डारीले संशाधन विभागलाई आग्रह गरेका छन् । यद्यपि, सरुवा गरिएकाहरू तोकिएको स्थानमा गएर जिम्मेवारी सम्हाल्ने मनस्थितिमा भने नरहेको बताइएको छ ।
पत्रकार हटाउने मक्सद
स्रोतका अनुसार, लकडाउनपछि सिर्जित परिस्थितिपछि अन्नपूर्णले पत्रकार तथा कर्मचारी निष्कासन गरिरहेको छ । बाँकीलाई पनि उसैगरी बिदा गर्ने दाउ उसको छ ।
सम्पादक भण्डारी पनि यही मौकामा आफूविरोधी पत्रकारलाई ठेगान लगाउन चाहन्छन् । मालिक र सम्पादकको यही स्वार्थअनुसार संकटका समयमा पनि पत्रकारहरूमाथि निर्मम प्रहार भएको त्यहाँ कार्यरत पत्रकार बताउँछन् ।
पहिलो चरणमा ६ पत्रकारलाई जिल्लामा सरुवा गरेको अन्नपूर्णले अन्यलाई पनि उसैगरी सरुवा गरेर जागिरबाट हात धुन बाध्य पार्ने तयारी गरेको छ । खोज व्युरो नामको हतियार प्रयोग गरेर पत्रकारमाथि नियोजित रूपमा आक्रमण गर्न थालेपछि अन्नपूर्णमा कार्यरत पत्रकारहरू त्यो कुनबेला आफैंमाथि प्रहार हुने हो भनेर भयक्रान्त भएका बनेका छन् ।




