केही समय अगाडि यही स्तम्भमा, मेरो अमेरिका जा“दाको अनुभवलाई दुई भागमा बा“डेकी थिए“ । खासमा, त्यो त्यसरी श्रृंखलावद्ध लेख्ने योजनाले लेखिएको थिएन, अरु नै प्रयोजनको लागि लेखिएको, लामो लेख थियो, त्यसैलाई सम्पादकले दुई भागमा राखिदिनु भएछ । तर, यो चाहिं लेख्नै पर्ने स्थितिमा लेख्दैछु, कारण, ती लेखहरू पढेपछि थुप्रै सकारात्मक प्रतिक्रिया पाए“, कतिपयले किताब नै लेख्ने सल्लाहसमेत दिनुभयो, मेसेन्जरमा समेत मेसेजहरू पाए“ ।
म, त्यति जा“गरिलो व्यक्ति होइन, जो किताब लेख्ने बारेमा सोचु“ या भनौं, मसंग त्यति लामो अनुभव पनि छैन, किताबै लेखेर राखु“ ।
तर पनि यसलाई सकेको र मन लागेको बेला निरन्तरता दिने बिचारले अगाडि बढाउ“दैछु । आज म, अमेरिका पुग्नु अघिका केही स्मरण र अमेरिका पुगेपछि काम गर्नुपर्दा केही स्मरणहरू लिपीवद्ध गर्न चाहन्छु ।
’पैसाको बोट’को देश अर्थात, अमेरिकामा हामी पुग्ने बित्तिकै पैसा झर्छ भन्ठान्छौं । हामीमध्ये धेरै, कसरी हिसाव लगाउ“छौं भने, अमेरिका पुगेपछि हामी जुन ‘डलर’ कमाउने सपना देख्छौं, त्यसलाई नेपाली पैसामा रुपान्तरण गर्छौं र मख्ख पर्दै मनमनै हिसाव लगाउ“छौं,’ घन्टाको यति अमेरिकी डलर कमायो भने, महिनाको यति हुन्छ र, त्यसको नेपाली यति हुन्छ ।’
तर हामी, के सोच्दैनौं भने, पहिलो त घन्टाको सोचेजति डलरमा काम पाउन प¥यो र काम पाइसकेपछि पनि, त्यो डलर अमेरिकामा कमाएपछि, त्यसै अनुसारको खर्च पनि हुन्छ ।
मेरो सोच पनि त्योभन्दा फरक थिएन । हुन त, म, पैसा कमाउने उद्देश्यले गएकी पनि थिइन तर पनि आम्दानीको हिसाव लगाउने तरिका मेरो पनि त्यही थियो ।
मेरो छोरा र मेरो अमेरिका जाने टिकट, मेरो व्यक्तिगत गहना र केही चा“दीका भा“डाहरू बेचेर किनें, यसको साक्षी, संगसंगै काम गर्ने साथी, पत्रकार शोभा गौतमसमेत हुनुहुन्थ्यो । त्यसबाहेक अमेरिका उड्दाको दिन, मसंग, जम्माजम्मी २५ सय अमेरिकी डलर हातमा थियो । त्यो पैसा पनि धेरै त, मेरो छोराले, उसलाई मैले नै समय समयमा दिएर जम्मा गरेको पैसा थियो ।
हाम्रो पहिलो वास सिंगापुर थियो, त्यहा“ एक रात बस्दा २ सय डलर होटेललाई बुझाइएको थियो । त्यसबाट बा“की भएको २३ सय डलर लिएर, हामी अमेरिका छि¥यौं ।
हामी, अमेरिकाको टेक्सस राज्यस्थित, ह्युस्टन शहरमा अवस्थित जर्ज बुश कन्टिनेन्टल विमानस्थलमा अप्रिल १४, २००१ को दिन ओर्लियौं । जुन विमानस्थलमा, पछिल्लो चरणमा मैले करीब ७ वर्ष काम गरें । त्यहा“को थुप्रै कुराहरूसंग मेरो स्मृति जोडिएको छ ।
अमेरिकामा, मेरी छोरी र उनको हुनेवाला जीवनसाथी, हामीलाई लिन प्लेनबाट निस्कने ढोका बाहिर नै कुरिरहेका थिए । अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ को त्यो भयानक दुर्घटना हुनु अगाडिसम्म, डोमेस्टिक विमानस्थलमा यात्रुहरूलाई लिन प्लेनको ढोकाबाट निस्कने स्थानसम्मै यात्रुहरूलाई लिन जान पाइन्थ्यो ।
मेरी छोरी र उनको हुनेवाला जीवनसाथीको ईच्छा, मेरो छोरा र म, उनीहरूसंगै बसुन् भन्ने थियो । तर मेरो चाहना भने, आफैं गरी खानुपर्छ, कसैमाथि परनिर्भर भएर बस्न हुन्न र भर्खरै किशोरवयमा टेक्दै गरेको मेरो छोराले पनि अलिकति स्वतन्त्रतापूर्वक हुर्कन पाउनुपर्छ भन्ने हृदयदेखिको मनसाय थियो । त्यसैले, मेरी छोरीले, एक महिना पछिलाई अपार्टमेन्टको लागि सह–कन्ट्रयाक्टर बसेर अपार्टमेन्टको वन्दोवस्त गरिदिइन् । हामी आमा÷छोरा चाहिं छोरीबाट छुट्टै बस्ने भयौं ।
यही“बाट सुरु भयो, अमेरिकाको संघर्षयुक्त जीवनको सुरुआत । कारण, अमेरिका, यहा“बाट देखेजस्तो सजिलो कतै पनि छैन । एउटा अपार्टमेन्ट भाडामा लिन पनि कि त, त्यहा“को राम्रो र बलियो क्रेडिट हिस्ट्रि चाहिन्छ, कि, कसैले, ‘उस÷उनले भाडा नतिरेको खन्डमा, म, उक्त व्यक्तिको जिम्मेवारी लिन्छु ।’ भनेर कबुलियतनामा गरिदिनुपर्छ । त्यसबाहेक, अपार्टमेन्ट भाडामा लिंदा, एक महिनाको भाडा बराबरको रकम डिपोजिट गर्नुपर्छ । तोकिएको समयमा भाडा तिरेन भने, केही समय दिएर, अपार्टमेन्ट भाडामा दिने कम्पनीले त्यहा“बाट निकाल्न सक्छ । भाडा तिर्न नसके पनि अनुबन्धित समयभन्दा अगाडि अपार्टमेन्ट छाड्न पाइन्न । यदि, बीचमै कन्ट्रयाक्ट तोड्यो भने, पछिका दिनहरूमा, अपार्टमेन्ट लिनमात्रै होइन, अन्य आर्थिक कारोबार हुने कुराहरूमा समेत नकारात्मक इतिहास बस्छ, अर्थात, धेरै हानी हुनसक्छ ।
अपार्टमेन्ट भाडामा लिएपछि, बिजुली, पानीको लागि डिपोजिट राखेर ती कुराहरू जडान गरिदिन्छन् । ल्यान्डलाइन फोन पनि त्यतिबेला अत्यावश्यकीय वस्तु मै पर्दथ्यो । ती सबै सेवाहरू वापत डिपोजिट राख्दा र जीवन निर्वाहका अन्य अत्यावश्यकीय सामानहरू किन्दा त्यो २३ सय डलर त वालुवामा पानी हाले जस्तै भइहाल्यो ।
जब छुट्टै अपार्टमेन्टमा बस्ने तय भयो, तब, काम सुरु नगरी बस्ने त कुरै भएन ।
भर्खर नेपालबाट गएको मान्छे, अंग्रेजीको कखरा मात्रै जानेको, यस्तो भन्नुको कारण, कुनै कन्भेन्टमा पढेको होइन, कनिकुथि बीए पास (त्यो पनि प्राइभेट परिक्षार्थी भएर) गरेको मानिसले त्यहा“को जिब्रो बटारेर बोल्ने अंग्रेजी कसरी बुझ्नु †
त्यसमाथि पनि एउटै अंग्रेजी शव्दको, बिभिन्न माने लाग्ने, ‘स्ल्याङ्’ मा एकथोक, ‘अब्र्यान डिक्सनेरी’ले अर्को थोक बुझाउने ठाउ“मा छोरीले आफ्नो चिनजानको भरमा आइसक्रिम पार्लरमा काममा लगाइदिइन् ।
ओहो मेरो भाग्य † मलाई परिस्थितिले कहा“बाट कहा“ पु¥यायो त †
मेरो जीवनको पहिलो काम, पहिलो काम यस अर्थमा कि, घरबाट बाहिर निस्किएर आर्थिक स्रोत जुटाउन थालेको काम, नेपाल राष्ट्र बैंकमा विक्रम संवत २०४१ साल असोजबाट सुरु भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैंकको जागिर, सानै पोष्ट भए पनि सम्मानित र सरकारी कार्यालयहरूभन्दा बढी सुविधा प्राप्त थियो । सहायक पदमा अस्थायी सेवाबाट जागिर सुरु गरेकी मैले महिनाको रु. ७ सय ६० तलव प्राप्त गर्दथें । त्यहा“बाट घरजग्गा सापटी, औषधोपचार खर्च सबै पाइन्थ्यो ।
म, राष्ट्र बैंकमा गर्जो टार्न जागिर खान गएकी थिइन । जागिर खाने भित्री रहर मेटाउनु र आत्मनिर्भर हुनुपर्छ भन्ने मनसायबाट जागिरतर्फ आकर्षित भएकी थिए“ । जागिर खान गए पनि म भित्र एउटा ठूलो दम्भ थियो । त्यो दम्भले मलाई राष्ट्र बैंकको सहायक पदको कर्मचारी बन्दा पनि ‘सुब्बा होमप्रसाद बाँस्कोटा’को बुहारी बढी बनाइ राखेको थियो । कार्यालय १० बजे पुगिसक्नु पर्दथ्यो, अनि पिउनले बनाएर ल्याएको चिया खायो । गफ छा“ट्यो, दुई चारवटा पत्रहरू चलानी ग¥यो, जाडो महिनामा स्वेटर बुन्यो, जागिर पकायो, ५ बजे घर फक्र्यो । न कामको जिम्मेवारी, न, बोझ †
म कार्यरत ‘कृषि कर्जा विभाग’को फष्र्ट क्लास हाकिम रुबी जोशी हुनुहुन्थ्यो, हरेक दिन, उहा“को एकाध घन्टा यता उताको गफ हामीले सुन्नै पर्दथ्यो । आफ्नै कोठाको मुख्य हाकिम दक्ष (बहादुर ?, गायक हिरण्य भोजपुरेका भाइ ) श्रेष्ठ हुनुहुन्थ्यो । उहा“ले सीधै कहिल्यै केही अह्राउनु हुन्नथ्यो । सबैले ‘सुब्बा होमप्रसादकी बुहारी, जागिर खानै नपर्ने मान्छे’को रुपमा मान दिन्थे । भ्रमको संसारमा रमेकी म, जीवनको निर्घात् चुटाई खाइसकेकी थिइन, त्यो ‘भ्रामक मान’लाई सत्य ठानेर गमक्क पर्थें ।
एकदिन, सायद, कोठामा पिउन थिएनन्, दक्षजीले मलाई अह्राउनु भयो, ‘बा“स्कोटाजी, यति नम्बरको फाइल ल्याउनूस् त † त्यो ड्रयरमा छ †’
त्यो सुनेर मेरो आ“खाबाट झन्डै आ“शु वर्षिएन † मनैमनले सोच्यो, ‘ओहो, म, सुब्बा बाजेको बुहारीलाई त्यसरी काम अह्राउने †’
मैले, मेरो अस्तित्व त्यहा“को कार्यालय सहायक हो र मभन्दा माथिल्ला तहका हाकिमले त्यसै गरी काम अह्राउन मलाई त्यहा“ भर्ना गरेका हुन् भन्ने कुरा त मेरो दिमागको कुनै कुनामा पनि बसेकै पो रहेनछ †
धेरै दिनसम्म, दक्षजीसंग मनैमन रिस उठिरह्यो, उहा“को मुख पनि हेर्न मन लागेन । त्यो थियो, ‘सुब्बा होमप्रसाद बा“स्कोटा’की बुहारीको फूर्ती †
तर समयको अन्तरालले सुब्बाकी बुहारीलाई ‘मार्बल स्ल्याब’को आईसक्रिम पार्लरमा पु¥यायो तर पनि च“ुक्क नगरी काम गर्न तयार हुनुप¥यो ।
क्रमश……..




