चीफ सा’ब ! सैनिक संगठनले सिनिरेटीमा कपट गरेर जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनायो
यो साँघु मार्फत हामीलाई आफ्नो भावनालाई प्रकट गर्न दिनु भएकोमा धन्यवाद दिन चाहन्छौं ।
श्रीमान् प्रधान सेनापतिज्यू,
जंगी अड्डा ।
नेपाली सेनामा भर्ना भए पश्चात व्यक्तिगत नम्बर प्रदान गर्ने गरिन्छ र जसको आधारमा नै सिनियर जुनियर छुट्ट्याउने गरिन्छ । नेपाली सेनाले लागू गरेको नीति–नियम आफैमा परिपुरक भएको पाईदैन । त्यो किन हो ? जुन २०६० साल पछिको सै.क.हरूमा देखिएको समस्या हो ।
२०६० साउन २० गते भर्ना भएका सै.क.हरूको कुरा गरौं । जहाँ सैनिक संगठनले व्यक्तिगत नम्बर २११८… हुने महिला सै.क.लाई सिनियर बनाएर २११६…. व्यक्तिगत नम्बर हुने सै.क.हरूलाई जुनियर बनाएको छ यो कसरी भयो ? हुन त संगठनको डोसियारमा बुझ्दा तालिम पास आउटमा महिला सै.क. सिनियर भएकोले उनीहरूलाई सिनियर बनाएको भन्ने बुझाईमा आउँछ । यदि त्यसो हो भने हामी भन्दा पछाडिका टोलीको कुरा गरौं । भर्ना मिति २०६१ पुुस २० गते छ ।
उनीहरू तालिमको सिलसिलामा दुई स्थानमा विभाजन भएछन् । उक्त टोलीमा पनि एउटा टोलीको २१७०…. व्यक्तिगत नम्बर छ भने अर्को टोलीको २१९५…. को छ । त्यहाँ पनि २१९५.. व्य.नं.भएका सै.क.लाई सिनियर बनाएको छ त्यो कसरी भयो ? अझ बुझाईमा आए अनुसार त २१७०.. को टोलीको पास आउट पनि २१९५.. वाला भन्दा एक महिना पहिले नै भएको भन्ने बुझिन्छ । अब छानविन गर्नुस् चीफसा’ब यो कहाँ कसको गल्ती हो ? यदि पास आउंटको आधारमा हो भने त २१७०.. टोली सिनियर हुन पर्ने हो तर किन त्यो भएन ?
तत्कालीन समयमा दर्ता नम्बर दिईन्थ्यो र सोही अनुसार तालिममा पठाउने र तालिम अबधि मै नेपाली सेनाको सैनिक अभिलेखालयबाट कम्प्युटर नम्बर प्रदान हुन्थ्यो र सोही नम्बरको आधारमा सिनियर जुनियर छुट्ट्याउने गरिन्थ्यो । तसर्थ, यो के भएको हो उचित छानविन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौ जसको सिकार अझ पछि आउने पीढीमा देखा नपरोस् । जुन सिनियरिटी नमिल्दा जुनियरले सिनियर भएर प्रमोशन खाए त्यस्तो अरुलाई नपरोस् भन्ने हाम्रो अनुरोध छ । नेपाली सेनामा सेवा सुविधा व्यक्तिगत नम्बरको सिनियरिटीको आधारमा प्रादान गर्ने भएको हुँदा सिनियर नम्बर भएर जुनियर भई रहनु परेकोमा चीफ सा’ब हामी साह्रै दुःखी भएका छौं ।
सैनिक संगठनले बनाएको सरुवा नीति अनुसार २ वर्ष भ्याली बाहिर २ वर्ष भ्यालीभित्र सरुवा हुन पर्ने हो तर त्यो नियम कागजमा मात्र सीमित भएको छ । सोर्सफोर्स हुने व्यक्तिको सरुवा हेडक्वाटरभित्र एक कार्यालयबाट अर्को कार्यालयमा हुन्छ अनि साधारण व्यक्तिको सरुवा भ्याली बाहिरबाट भ्याली बाहिरै हुने गरेको पनि हामीले भोगेका, देखेका छौं । कति कर्मचारीहरूको हेडक्वाटरबाट हेडक्वाटर पोष्टिङ्ग मिलेन भने देखावटीरुपमा भ्याली बाहिर पोष्टिङ्ग निकालेर हेडक्वाटरमा नै बस्ने अनि २ वर्ष पुग्न लागे पछि पुन हेडक्वाटर सरुवा गरेर मिलाउने गरेको पनि देखिरहेकै छौं ।
श्रीमान् चीफ’साब, सरुवा भएका व्यक्तिलाई सरुवा भएको ठाउँमा पठाउन सकिदैन भने किन सरुवा गर्ने त्यस्ता व्यक्तिहरूलाई सदा एउटै युनिटमा राखि दिए हुन्न र ? देखावटी सरुवाले गर्दा बाहिर युनिटमा कर्मचारीको कमी हुने र कार्यमा बाधा पर्ने गरेको त हेडक्वाटरमा बस्नेलाई थाहा हुँदैन जहाँ दुःख गरिरहेका हुन्छन् ती कर्मचारीलाई मात्र थाहा हुन्छ । जुन नीति–नियम संगठनले बनाएको छ त्यो आफैमा लागू हुन नसक्नु यो कसको कमजोरी हो, छानविन होस् प्रधान सेनापतिज्यू ?
समय समयमा सरुवा जान ईच्छुक युनिटको विवरण माग भई आउंछ त्यो देख्दा अब त केही हुन्छ कि भन्ने लाग्छ तर सरुवा निस्कदा थाहा हुन्छ कि त्यो त बनावटी कागजको पाना मात्रै रहेछ । कुनै कर्मचारीले आफ्नो बस्तबिक समस्या दर्शाएर सरुवा मागेका हुन्छन् तर त्यो कहिल्यै हँुदैन । हालै मात्र निस्केको सरुवा पनि त्यस्तै देखेका छौं हे.क्वा.बाट हे.क्वा.भित्र सरुवा भएको छ ।
नेपाली सेनामा सरुवाको नीति नियम सबैलाई लाग्ने हो कि सोझा व्यक्तिको लागि मात्र हो ? भ्याली बाहिर पनि पावर हुने व्यक्ति एउटै स्थानमा मिलाएर बसेका छन् के त्यो ठाउँमा उसलाई मात्र राख्न पर्ने कारण के छ ? आपूmलाई पाएक परेको युनिटमा सरुवा भएपछि सो युनिटबाट अन्यत्र युनिट सरुवा हुने जस्तो भएपछि कोसेली बोकेर जाने कर्मचारीको सरुवा निस्किदैन यदि निस्की हालेपनि उसले भनेकै ठाउँमा निस्किन्छ हैन भने सबै कर्मचारीको सरुवा विवरण हेर्दा पनि थाहा हुन्छ कि सरुवा अबधि पूरा भई एकै ठाउँमा सरुवा मिलाएर बसेका कर्मचारीहरू कति रहेछन् भनेर ।
तिनीहरूको चाहिं सरुवा हुनु पर्दैन ? कोसेलीको बोकेर जाने कर्मचारीहरू (विशेष पदिक) धेरै छन् र तिनीहरूको सरुवा नभएको पनि रेकर्ड हेरियो भने छर्ल¨ हुनेछ । सरुवाको नीति–नियम लाग्ने भए सबैमा लागू होस् हैन सोझाको लागि मात्र हुने हो भने यो सरुवा नीति नै खारेज होस् ।
सोझा व्यक्तिको सरुवा हे¥यो भने पूर्वमा घर भएका व्यक्तिलाई पश्चिम पु¥याउने, पश्चिमकालाई पूर्व, उत्तरकालाई दक्षिण, दक्षिणकालाई उत्तर हुन्छ । नेपाली सेनामा हरेक जिल्लाका सैनिक कर्मचारी छन् । सैनिक संगठनमा कसको घर कहाँ र त्यसलाई कहाँ पाएक पर्छ सबै रेकर्ड हुन्छ । सोही अनुसार रेकर्ड हेरी सरुवा किन गरिदैन ? पूर्वका व्यक्तिहरूलाई पूर्वकै युनिटहरूमा, पश्चिमका व्यक्तिलाई पश्चिमकै जिल्लाहरूमा तैनाथ रहेको युनिटहरूमा सरुवा गराउंदा के हुन्छ होला ? काठमाण्डौं घर नभएका व्यक्तिहरूलाई काठमाण्डौमा सरुवा गरेर र के काम ? बरु तिनीहरूलाई पायक पर्ने गरी भ्याली बाहिर नै सरुवा गरिदिने व्यवस्था भएमा निजहरूको समस्या समाधान हुन्थ्यो तर त्यो भन्दैमा एउटै युनिटमा राख्ने भन्न खोजेको चाहिं हैन है हजुर ।
जस्तैः बैतडीतिरको व्यक्तिलाई काठमाण्डौ, नगरकोटको व्यक्तिलाई बझाङ्ग सरुवा गर्नुभन्दा उनीहरूलाई त नजिक हुने (खर्च कम लाग्ने) युनिटहरूमा सरुवा गरि दिए खुसी हुन्छन् र यसो गर्दा सरुवा भएको युनिटमा समयमा नै हाजिर पनि हुन्छन् । जसले गर्दा युनिटहरूमा सै.क.हरूको कमी हुने तथा सरुवा भएका कर्मचारी हाजिर हुन नजाने प्रबृत्ति घट्ने र कार्यमा तिब्रता आउने देखेका छौं । हामीलाई आशा छ कि यो विषयमा श्रीमान् प्रधान सेनापतिज्यूबाटै गहन अध्ययन गरी बक्सने छ ।
–पीडित सैनिकहरू, नेपाली सेना




