काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) आन्तरिक समीकरण मिलाउन नसक्दा समस्यामा फसेको छ । नेकपाको एकता बदरपछि सत्ता समीकरणमा ‘किङमेकर’देखिएको जसपाभित्र लफडा पैदा हुँदा उसले राजनीतिक निकासका लागि कुनै निर्णय लिन सकेको छैन ।
कांग्रेस–माओवादीको गठबन्धनमा लाग्ने, प्रधानमन्त्री केपी ओलीलाई साथ दिने वा आफै सरकारको नेतृत्वको दावी गर्ने तीन विकल्पमध्ये केही पनि नगरी बसेको जसपा गुटगत समस्यामा फसेको हो । जसपाले जे निर्णय लिए पनि अबको सत्ता समीकरणमा फेरबदल हुने स्थिति छ । तर, अहिले जसपाका नेताहरु गा“ड कोराकोरमा लागेको श्रोत बताउछ ।
समयसमयमा हुने आन्तरिक समीकरण फेल भएका कारण पनि नेताहरु निर्णयमा पुग्न सकेका छैनन् । उपेन्द्र यादवस“ग रुष्ट रहेका सांसदहरु केही दिनअघिसम्म महन्थ ठाकुरको पक्षमा थिए । उनीहरु प्रधानमन्त्री ओलीलाई साथ दिनुपर्ने पक्षमा थिए । र, दबाबमा परेका उपेन्द्र यादवले पार्टी निर्णय गर्नेगरी बैठक बस्न सकेका थिएनन् ।
संसदीय दलको नेता छान्न बसेको बैठक पनि उपेन्द्रकै कारण भाँडिएको थियो । यादवसँग असन्तुष्ट रहेका सांसद मोहम्मद इस्तियाक राइ, प्रदीप यादव, सुरेन्द्रप्रसाद यादव, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, प्रदीप यादवलगायत महन्थ ठाकुरस“ग नजिक बनेका थिए । र, उपेन्द्र यादव पार्टीभित्र कमजोर भएका थिए । तर, पछिल्लो दिनमा आफ्ना सांसदलाई यादवले फकाइसकेका छन् ।
आफ्नामात्र फकाएका छैनन, पूर्वराजपाका महेन्द्र राय यादवलाई पनि साथ लिइसकेका छन् । जसपा श्रोतका अनुसार अहिले महन्थ ठाकुरसँग १२ जनामात्रै सांसद छन् । एकताअघि १७ जना सांसद ठाकुरस“ग थिए ।
यादवका असन्तुष्टहरुसमेत मिसिएपछि २४ जना पुगेका थिए । अहिले असन्तुष्टलाई फकाउनेमात्र होइन, पूर्वराजपाका नेताहरु नै यादवसँग नजिकिन थालेका छन् । महेन्द्र राय यादव ओलीको प्रतिगामी कदमलाई साथ दिन सकिदैन भन्न थालेका छन् ।
मन्त्री हुने रहरमा लागेका शरतसिंह भण्डारी पनि अहिले यादव र ठाकुर दुवैको देखिन खोजेका छन् । जता फाइदा हुन्छ उत्तै लाग्ने भनेर हिंडेका भण्डारी पार्टीभित्र मौन छन् । त्यसैले अहिले जसपा प्रधानमन्त्री ओलीलाई साथ दिनेगरी निर्णय गर्न सक्ने अवस्थामा छैनन् ।
ठाकुर र राजेन्द्र महतोको मन ओलीसँग मिलेर जाने र चुनावी तालमेलसमेत गर्ने मनसायमा छन् । ओलीसँग चुनावी तालमेल गर्नेसम्मको चर्चा पार्टीमा चलेपछि केही नेताहरु भने ठाकुरसँग भड्किएका छन् । केही भने उत्साहित रहेका छन् । नरमाया ढकाल, मोहम्मद इस्तियाक राईहरुको प्रधानमन्त्री ओलीसँग चुनावी तालमेल गर्नुपर्ने लाइनमा छन् । भलै अहिले इस्तियाक खुलेर ठाकुरको पक्षमा भने लाग्न सकेका छैनन् ।




