काठमाडौँ, २६ वैशाख (रासस) : संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।
बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले रासससँग कुरा गर्दै भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ, नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।” बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा जानुभएन ।
साँघु श्राेतका अनुसार, लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी, अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का पूर्व प्रमुख दिलीप रेग्मी, पूर्वआइजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगकाे सदस्यमा पूर्व सचिव वीरबहादुर राईको सिफारिस भएकाे अपुष्ट जानकारी हुन आएकाे छ । पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका छन् ।



