काठमाडौं । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव संसदले अस्वीकृत गरेको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सभामुख अग्नि सापकोटाले मतदानको परिणाम सुनाउँदै प्रधानन्त्रीको प्रस्ताव अस्वीकृत भएको बताए ।
सोमबार प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्रीलाई मात्र ९३ सांसदले मत दिए । प्रतिनिधिसभामा नेकपा एमालेका १२१ सांसद भए पनि माधव नेपालपक्षीय सांसद अनुपस्थित रहे ।
१२४ सांसदहरूले विपक्षमा मतदान गरे । १५ जना सांसदहरूले भने पक्ष वा विपक्ष कतैतिर पनि मत दिएनन् ।
संविधानको धारा १०० (१) मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ । यही व्यवस्थामा टेकेर प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका हुन् ।
योसँगै प्रधानमनत्री ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । संविधानको धारा १०० (३) मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ ।
योसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आजैबाट कामचलाउमा परिणत भएको छ ।
अहिले अल्पमतमा परेकाे सरकार नेपालको संविधानको धारा ७६ (२) अनुसार माओवादी केन्द्र र एमालेकाे गठबन्धनले गठन भएको सरकार हाे । जसमा प्रतिनिधिसभाका दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्न सकिने व्यवस्था छ । अहिलेको संसदको गणितअनुसार यो धारा अनुसार सरकार गठन हुने देखिँदैन ।
अब राष्ट्रपतिबाट संविधानकाे धारा ७६(३) अन्तरगत सबैभन्दा ठुलाे दललाई सरकार बनाउन आव्हान गर्नुपर्ने व्यवस्था संविधानले गरेकाे छ । संविधानकाे धारा ७६(३) काे यही व्यवस्था अनुसार केपी शर्मा ओली कै नेतृत्वमा सरकार बन्ने छ ।
पहिलो विकल्पबाट सरकार नबनेमा सबैभन्दा ठूलो दलले सरकार निर्माण गर्न सक्नेछ । यसो भएको खण्डमा पुनः नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । यसरी बनेको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।




