काठमाडौं । वरिष्ठ नेता माधव नेपालको अहंकार र घमण्डका कारण नेकपा एमालेबाट उनीसहित केही पूर्वसांसद पार्टीबाट बाहिरिने सम्भावना बढेको छ । खासगरेर प्रतिद्वन्द्वी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका नेकपा एमालेका २३ पूर्व सांसदमध्ये केही सांसद चोइटिएर बाहिरिने स्थिति देखिएको छ । २०७८ असार १९ गते शनिबार सम्पन्न भएको नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठकले २०७८ असार २१ गते अपरान्ह ५ गते भित्रमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने एमालेका पूर्वसांसद पार्टीमा नरहेको ठहर गर्ने निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाललगायतका केही सांसद यो निर्णयअनुसार पार्टी अनुशासनको कारबाहीमा परेर निष्काशित हुने स्थिति बनेको छ ।
वरिष्ठ नेता माधव नेपालसँग सहमति र सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले चर्काे विवादका बिचमा पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाँकी रहेको मतभेदलाई समाप्त पारेर अगाडि बढ्न पटक पटक माधव नेपालसँग फोन सम्पर्क गरेको पनि सार्वजनिक भएको छ । तर माधव नेपालको माग बमोजिम पार्टी २०७५ साल जेठ ३ गतेभन्दा अगाडि फर्किने निर्णय भएपनि अझै पार्टी एकता हुन नसक्ने हठ नेता नेपालले राखेपछि अब कुनै चमत्कार भएर नेता नेपालको मन फर्किएन भने उनीसहितका केही नेताको एमालेबाट बर्हिगमन लगभग निश्चित जस्तै भएको छ ।
नेपालका निम्ति अस्वीकार्य ओली
पछिल्ला राजनीतिक घटनाक्रम र नेता नेपालले राखेको अडानको आधारमा नवौं महाधिवेशनबाट नेपाललाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका केपी ओली अहिले उनका निम्ति अस्वीकार्य अध्यक्ष बन्न पुगेको देखिएको छ । यही कारणले गर्दा नै नेपालले राखेको पार्टी २०७५ साल जेठ ३ गतेभन्दा अगाडिको स्थितिमा फर्किनुपर्छ भन्ने मागका साथै एमालेको द्वितीय अध्यक्षको प्रस्तावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्वीकारी सक्दा पनि विभिन्न बहाना अगाडि सारेर नेता नेपालले एकतामा अवरोध पु¥याउने काम गरिराखेको बालुवाटार श्रोत बताउछ । श्रोत भन्छ, नेता नेपाललाई उपयोग गरेर केपी ओलीलाई जसरी पनि हटाउने र एमाले विभाजित गर्ने अथवा कमजोर बनाउने कसरतमा पश्चिमा शक्ति लागेको र अहिले नेपाललाई यसैका निम्ति उपयोग गरिराखेको छ ।
पश्चिमा शक्ति नयाँ नेपालमा राजनीतिक स्थिरता भएको देख्न नचाहेसँगै कम्युनिष्ट शक्ति बलियो भएको देख्न नचाहेको कारण नेपाल कम्युनिष्ट पार्टी विघटन हुनुपूर्व पुष्पकमल दाहाललाई अमेरिकालगायतको पश्चिमा शक्तिले उपयोग गरेको र त्यसपछि माधव नेपाललाई पनि त्यही शक्तिले प्रयोग गरेको र त्यसको नेपथ्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत रहेको विश्लेषण कूटनीतिक क्षेत्रले गरेको छ ।
कति सांसद सति जालान नेपालसँगै ?
२०७८ असार १९ गते बसेको नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठकले आज ५ बजेभित्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको र अहिले सर्वाेच्च अदालतमा विचाराधीन रहेको हस्ताक्षर फिर्ता नलिने पूर्वसांसदहरू स्वतः नेकपा एमालेबाट बाहिरिएको ठहरिने निर्णय गरेको छ । २०७८ असार २० गते साँझ यो समाचार तयार पार्दासम्म नेता नेपाल कुनै हालतमा पनि आफ्नो पक्षले कांग्रेस सभापति देउवालाई सभापति बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखिराखेका छन् ।
तर २३ मध्ये कति पूर्वसांसद माधव नेपालको अहंकारको पछाडि लागेर सती जान्छन् भन्ने प्रश्न एमाले वृत्तमा नै उत्सुकताका साथ उठेको छ । अध्यक्ष ओली र नेता नेपालका बिचमा विवाद चर्किएसँगै नेपाल पक्षमा प्रस्तुत हुँदै आएका युवा नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट तथा सुरेन्द्र पाण्डेसमेत एमालेबाट अलग भएर नेपालसँगै सती नजाने पक्षमा रहेको श्रोत बताउछ । यसैगरी आफ्नो र पार्टीको भविष्यलाई ध्यानमा राखेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका अन्य पूर्व सांसदसमेत नेपाल गुट परित्याग गरेर पार्टीको मूलधारमा आउने स्थिति रहेको छ ।
विवाद सैद्धान्तिक कि व्यक्तिगत ?
२०७७ साल असार १० गतेबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकबाट शीर्ष कम्युनिष्ट नेताहरूका बिचमा विवाद उत्पन्न भएको थियो । स्थायी समितिसँगै नेकपाको सचिवालयमा समेत व्यापक भएको यो विवाद २०७७ साल फागुन २३ गते सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको वैधानिकतालाई नै अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई अलग पारिदिएपछि नेकपा एमालेका नेता माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरु गरेको विवादलाई निरन्तरता दिइराखेका छन् ।
पार्टीको नवौं महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमा पराजित भएका माधव नेपालले सैद्धान्तिक आधारमा होइन, व्यक्तिगत इष्र्यामा प्रधानमन्त्री ओलीसँगको विवादलाई निरन्तर जटिल र गम्भीर बनाउँदै लगेका छन् । अध्यक्ष ओली र नेता नेपालका बिचमा चर्किएको विवादबाट राजनीतिक फाइदा लिनका लागि धुपौरे चरित्रका केही नेतासमेत नेपालका पक्षमा देखिएका छन् ।
एमाले सिध्याउन पश्चिमा शक्ति सक्रियता
२०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा नेपालमा कम्युनिष्ट शक्ति जनताको समर्थनबाट राजनीतिको मूलधारमा स्पष्टसँग स्थापित हुन पुगेको थियो । जनताको समर्थनमा नेपालका कम्युनिष्ट शक्तिले प्राप्त गरेको यो सफलता खासगरेर पश्चिमासँगै अमेरिकालाई समेत पछि राखेको थिएन र नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्नकै लागि एमालेका नेता माधव नेपाललाई गोटीको रुपमा पश्चिमा शक्तिले उपयोग गरेको ठम्याई विश्लेषकहरूको रहेको छ ।
नेकपा एमालेले नेतृत्व गरेको नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर बनाउनका लागि जापानमै रहेकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा केही दिन अगाडि उपचारलाई अधुरै राखेर विमानबाटसमेत ह्वीलचियरबाट काठमाडौंमा उत्रिएकी छिन् । नेपालको आन्तरिक मामिला र धार्मिक विषयलगायतमा दृश्य अदृश्य रुपमा खेल्दै आएको पश्चिमा शक्ति नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर र छिन्नभिन्न बनाउने अभियानमा सक्रिय रहेको महसुस हुन्छ ।
यस्तो अन्तर्राष्ट्रिय डिजाइन र षड्यन्त्रमा नेपालका सम्मानित संस्थाका पूर्व र वर्तमान पदाधिकारीमा समेत पसेर खेल्ने गरेको कुरा संवैधानिक निकायको प्रमुख रहेका व्यक्तिहरूको नाम समावेश गरेर समूहगत रुपमा निस्किने प्रेस विज्ञप्तिले पुष्टि गर्दछ । तरल राजनीतिक अवस्थामा गुज्रिराखेको नेपालको राजनीतिमा ढुंगा हान्दै सर्वमान्य संवेदनशील संवैधानिक निकायले केही दिन यताबाट गरेको राजनीतिक प्रेरित निर्णयको कारण नेपालका सम्मानित संस्थाहरूसमेत अन्तर्राष्ट्रिय चलखेल र षड्यन्त्रमा फस्न पुगेको विश्लेषण हुन थालेको छ ।




