(मानिसको जीवनमा कहिलेकाहीँ सामान्य इन्सिडेन्टले पनि ठूलो अर्थ राख्ने रहेछ । स्नेहा श्रेष्ठका लागि घरमा पालिएको कुकुर जाराको मृत्युले यस्तै नसोचेको यू–टर्न ल्याइदियो । पर्यटन व्यवसाय सञ्चालन गरेर बसेकी उनी त्यही घटनापछि एकाएक पशुअधिकारका लागि लड्ने निष्कर्षमा पुगिन् । सात वर्षअघि स्नेहा केयर सेन्टर स्थापना गरेर सडकका छाडा पशुचौपायको अभिभावकत्व ग्रहण गरिरहेकी श्रेष्ठसँग यो यात्रा सुरु गर्नुको कारण, छाडा पशुचौपायको अहिले देखिएको समस्यालगायत विषयमा केन्द्रित रहेर साँघु प्रतिनिधि सुयोग शर्माले गरेको सवाल : सम्पादक)
० पशु कल्याणको क्षेत्रमा सात वर्षदेखि क्रियाशील हुनुहुन्छ । अहिले यो क्षेत्रका मूलभूत समस्या के–के छन् ?
–पशुपन्छी पनि प्राणी हुन् । तिनको पनि मान्छेको जस्तै बाँच्न पाउने अधिकार हुन्छ । तर हाम्रोमा पशुपन्छीलाई हेर्ने दृष्टिकोण निकै खोटो छ । तिनलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता व्याप्त छ । काम लागुन्जेल पशुचौपायलाई पाल्ने, काम आउन छाडेपछि छाडिदिने निर्दयी रवैया र प्रवृत्तिले सडकमा छाडा पशुचौपायको संख्या बढिरहेका छन् ।
० पशुचौपायको सबैभन्दा धेरै समस्या कहाँ छन् ?
–अहिले हामी काठमाडौंमा बसेर पशु कल्याणको कुरा गरिरहेका छौं । यहाँ छाडा पशुचौपायको समस्या छ । नभएको होइन । तर यस्तो समस्या संघीय राजधानीमा भन्दा बाहिर बढी छन् । प्रदेशतिर पशुचौपाय व्यवस्थापनको आवरणमा मार्ने काम भइरहेको छ ।
सुदूरपश्चिमका सडकमा सबैभन्दा धेरै पशुचौपाय छन् र तिनैले सबैभन्दा धेरै क्रूरताको सामना अहिले गरिरहेका छन् । त्यहाँ हरेक किलोमिटरको अन्तरमा पशुचौपाय तारले घेरेर खुला आकाशमुनि राखिएका छन् । यसरी राखिएका पशुचौपायलाई उचित बासको प्रबन्ध गरिनुपर्ने हो । तर व्यवस्थित बासस्थानको कुरा त छाडौं, खाना र चरणको सामान्य सुविधासमेत उपलब्ध गराइएको छैन । म अस्ति भर्खर त्यहाँ गएकी थिएँ । जलस्रोतको दोस्रो धनी देशका गाई, बाच्छा बाच्छी पानी खान नपाएर मरिरहेको देखेँ । राष्ट्रिय जनावरको यो हविगत देख्दा मन कँुडियो । चित्त दुख्यो ।
० सुदूरपश्चिममा किन यति धेरै जटिल बनिरहेको छ छाडा पशुचौपायको समस्या ?
–यसमा म त्यहाँको प्रदेश र स्थानीय सरकारको कमजोरी देख्छु । छाडा पशुचौपायको व्यवस्थापनमा बजेट छुट्ट्याउनेदेखि कानून बनाउनेसम्मका अधिकार उनीहरूसँग छ । केही मात्रामा छाडा पशुचौपायको व्यवस्थापनका लागि बजेट नछुट्ट्याइएको पनि होइन । तर त्यो पर्याप्त छैन । प्रदेश र स्थानीय तहले आवश्यक ऐन, कानून बनाएर यसको दीगो समाधान निकाल्ने सक्थे । त्यसतर्फ पनि उनीहरूको ध्यान गएको पाइँदैन ।
० मुद्दा पनि हाल्नु भएको थियो होइन ?
–कैलालीमा १ महिना ८ दिन बसेर गाईगोरुका लागि सेल्टर बनाइदियौं । गाई राखेर नगरपालिकालाई हस्तान्तरण पनि गरियो । तर काठमाडौं आइनपुग्दै सडकमा छाड्ने काम भयो । सन् २०१९ मा त घोडाघोडी नगरपालिकामा सयौं गाईहरू मारिए । यो क्रूरताविरुद्ध हामी सर्वोच्च अदालत गयौं । सर्वोच्चमा मुद्दा हाल्यौं । ०७६ वैशाख ८ मा सर्वोच्च अदालतले उचित व्यवस्थापन गर्न स्थानीय तहलाई आदेश दियो । आदेश कार्यान्वयनका लागि देशका ७५३ वटै स्थानीय तहमा सर्कुलर गरियो । काठमाडौं र ललितपुर महानगरपालिकामा हामी आफैं पत्र लिएर गयौं । तर सर्बोच्चको आदेशको पनि अवहेलना गर्ने काम भयो । व्यवस्थापनका नाममा घेरेर पशुचौपाय मारिरहेका छन् ।
० ऐन कानूनको समस्या संघतिर पनि छ भनिन्छ नि ?
–विश्वमा नेपाल मात्र यस्तो देश हो, जहाँ पशुपन्छीको पूजा गरिन्छ । तर दुःखको कुरा पूजा गरिने त्यही पशुपन्छीमाथि निर्दयी व्यवहार यही हुन्छ । पशुपन्छीमाथि ज्यादतिका श्रृंखला धेरै भए पनि हामीले अहिले पशुअधिकारको कुरा उठाएका छैनौं । यदि उठाउने हो भने के–के हुन्छ, हुन्छ । त्यसैले कल्याणको कुरा गरेका छौं । यसका लागि कानून बनाउन वर्षौंदेखि सरकार र राज्यलाई झक्झकाउँदै आएका छौं । तर सुनिदिनुपर्नेले सुनेका छैनन् । पशुचौपाय ढुवानीलगायत मापदण्ड पालना हुँदा धेरै हदसम्म अहिलेको समस्या समाधान हुने भए पनि कार्यान्वयनमा तातो लागेको छैन ।
० आफन्त बिरामी भयो भने मान्छेले अस्पताल लिएर जान्छ । कुकुरलगायत पशुमा शारीरिक समस्या देखिँदा सडकमा छाडिदिन्छन् । किन ?
–कारण प्रष्ट छ, सचेतनाको कमी ।
० अधिकारकर्मीले यसबारे निरन्तर जनचेतना जगाइरहनु भएकै छ नि होइन र ?
–यसमा हामी पशु अधिकारकर्मी लागिरहेका छौं । नबुझेकाको आँखा खोल्ने प्रयास गरिरहेका छौं । तर यो पर्याप्त छैन । यसका लागि मुहानमा नै सुधार गर्नुपर्छ ।
० त्यो कस्तो मुहान हो नि ?
–भनिरहनु परोइन, चेतना अभिवृद्धिमा शिक्षाको अहं भूमिका रहन्छ । तर हाम्रो शिक्षामा पशुकल्याणको विषय कहीँ पनि समेटिएको छैन । पाठ्यक्रममा दुध, मासु, अण्डामा आत्मनिर्भर भयौं भनेर त पढाइन्छ । तर पशुपन्छीको पनि अधिकार हुन्छ, माया गर्नुपर्छ भनेर कहीँ कतै सिकाइ हुँदैन । यदि त्यसरी पढाइन्थ्यो भने म सानै उमेरदेखि पशु अधिकारकर्मी हुन्थे होला । यसर्थ हाम्रा साना साना भाइ बहिनीले पढ्ने पुस्तकमा नै पशु कल्याणबारेका सामग्री राख्नु पर्छजस्तो मलाई लाग्छ ।
० यहाँ मानिसमाथि त अनेक अन्याय र थिचोमिचो छन् । कहिलेकाही पशुकल्याणको कुरा अलि बढी भयो कि जस्तो लाग्दैन ?
–मान्छेको हक अधिकारका लागि पर्याप्त कानून बनेका छन् । उसले ममाथि यो–यो अन्याय भयो भनेर बोल्न सक्छ, लेख्न सक्छ । यदि कुनै मानिस अन्याय हुँदाहुँदै चुप लागेर बस्छ भने राज्य र व्यक्तिको कमजोरी हुन जान्छ । तर पशुपन्छी त आफैं बोल्न सक्दैनन् । तिनको समस्या कसले भनिदिने ? आखिर कोही त चाहियो । त्यसैले हामीले तिनको आवाज बोलिदिएका हौं । जबसम्म यससम्बन्धी कानून बनेर पशुकल्याण हुँदैन, तबसम्म बोलिरहनेछौं ।
० प्रसंग बदलौं । तपाईं पर्यटन क्षेत्रमा लागेको मान्छे । एकाएक पशुपन्छी कल्याणको क्षेत्रमा कसरी आइपुग्नु भयो ?
–यो क्षेत्रमा म आउनुको एउटा इन्सिडेन्ट छ । जसले मलाई सडकमा छाडिएका कुकुरलगायत पशुचौपायको कल्याण निम्ति काम गर्ने प्रेरणा प्रदान ग¥यो ।
० तपाईंको जीवनलाई नै यू–टर्न गराइदिने त्यो इन्सिडेन्ट कस्तो थियो ? हाम्रा पाठकलाई सुनाइदिनुहोस् न ?
–झण्डै एक दशकअघि मैले घरमा कुकुर पालेकी थिएँ । नाम थियो– जारा । निकै चकचके । घुक्ने, उफ्रिने । जाराको यस्तो हर्कतबाट छिमेकी निकै क्रुद्ध थिए । धेरै पटक कुकुरकै कारण झगडा पनि भयो । एक दिन घरमा हामी कोही थिएनौं । त्यसलाई कम्पाउन्डमा छाडेर बाहिर गएका थियौं । कार्यालयबाट फर्कंदा निकै ढिला भइसकेको थियो । घरमा आइपुग्दा कुकुरको हालत निकै खराब थियो । रक्तमुछेल अवस्थामा त्यो लडिरहेको थियो । रात छिप्पिसकेकाले त्यो दिन उपचारका लागि अस्पताल लैजान सम्भव भएन । भोलिपल्ट बिहानै अस्पताल लगेँ । तर निकै ढिला भइसकेको रहेछ । पशु चिकित्सकले विष खुवाइएकाले बचाउन नसकेको बताउनु भयो । ८ महिनाअघि मात्रै खरिद गरेर ल्याएकी थिएँ, त्यसलाई । निकै मायाले हुर्काएको । जाराको मृत्युले परिवारकै सदस्य गुमाएजस्तो ठूलो चोट प¥यो । तेह्र दिनसम्म त नुन नै छाडेँ ।
० विष खुवाउने छिमेकीलाई केस पनि गर्नु भयो कि ?
–विष खुवाएर मारिएको मेडिकल रिपोर्टबाट प्रमाणित भयो । छिमेकीविरुद्ध उजुरी गर्ने निर्णय सुनाउँदा उहाँहरू हाँस्नुभयो । त्यसपछि मलाई लाग्यो, पशु कल्याण गर्ने मामलामा त हामी निकै तल रहेछौं । अनि निचोड निकालेँ–अब पशुपन्छीको हक अधिकारका लागि काम गर्छु ।
० सुरुवात कसरी गर्नुभयो ?
–काठमाडौंका सडकमा अहिले छाडा कुकुरको संख्या कम भएको छ । एक दशकअघि यो समस्या अलि जटिल थियो । तिनले खान पाउँदैनथे । घाइते भए भने त्यहीँ जिंग्राएर मर्थे । मैले भोकालाई खुवाउने र घाइतेलाई उपचार गर्न थालेँ । घाइतेलाई आफ्नै प्राइभेट गाडीमा लगेर क्लिनिकमा उपचार गराउँथे । यसरी उपचार गरेका कुकुरलाई अलग्गै सुरक्षित राख्नुपर्ने । तर मसँग त्यसका लागि ठाउँ थिएन । समस्या आयो ।
काठमाडौंमा केनल क्लब जताततै थिए÷छन् । त्यही लगेर राख्ने विचार गरेँ । यसरी केनल क्लबमा छाडा पशुचौपाय राख्दा दिनको प्रति कुकुर २५० रूपैयाँ तिर्नुपर्दथ्यो । एक महिनामा ४०–४५ वटा कुकुरसम्म उद्धार गरेर केनल क्लबमा राखेको रेकर्ड छ । आर्थिक रूपले एक्लै गर्दा निकै खर्चिलो भयो । फेरि जति गर्नुपर्ने हो, उति गर्न सकिएन । त्यसपछि लाग्यो, एक्लै त यति धेरै कुकुरको हेरचाह गर्न सकेकी छु । टिम बनाएर गर्दा अझै धेरै गर्न सकिन्छ होला । यही सोचको उपज हो, स्नेहा केयर सेन्टर । अहिले हाम्रो टिममा मसहित २२ सदस्य छौं । यी सदस्य अहोरात्र छाडा पशुचौपायको सेवामा जुटिरहेका हुन्छौं ।
० स्नेहा केयरले अहिले के गरिरहेको छ ?
–सुरुवाती दिनमा हामी छाडा कुकुरको व्यवस्थापनमा जुटेका थियौं । सडकमा छाडा कुकुरको मात्र समस्या थिएन । गाईगोरुलगायत पशुपन्छी पनि उत्तिकै समस्यामा थिए÷छन् । त्यसैले हामीले कुकुरका अतिरिक्त गाईगोरु, सुंगुर, भैंसी, खसीको उद्धार पनि गर्छौं ।
० उद्धार गरेका पशुलाई कहाँ व्यवस्थापन गर्नु भएको छ ?
–ललितपुरको भैंसेपाटीमा हामीले सेल्टर बनाएका छौं । सडकबाट उद्धार गरेका पशुचौपायलाई त्यही लगेर राख्छौं ।
० के–के छन् अहिले सेल्टरमा ?
–हाम्रो सेल्टरमा अहिले कुकुरका अतिरिक्त दुई भैंसी, चार खसी र ७ सुंगुर छन् । ढुवानी मापदण्ड पालना नगरेको अवस्थामा भेटिएका दुई भैंसी उद्धार गरेर ल्याएका हौं । सुँगुरको चाहिँ छुट्टै किस्सा छ । गाई गोरुको सेल्टर बनाउन सन् २०१९ मा कैलाली गएको थिएँ । बास बसेको घरमा निकै दयनीय अवस्थामा सुँगुर राखिएको देखेँ । खोरको छानो नभएको, हिलैहिलोमा डुबेको । निकै टीठ लाग्यो र खरिद गरेर आफ्नो सेल्टरमा राखेको हुँ । अहिले सेल्टरमा यी सुँगुरहरू खेल्छन्, रमाउँछन् ।
० सेल्टरमा राखिएका चौपायको घाँसपानी, दानाको प्रबन्ध कसरी भइरहेको छ ?
–अहिले हाम्रो सेल्टर जहाँ छ, त्यसकै अपोजिटमा भेजिटेबल फार्म छ । बाटामा छाडिएका गाईहरूको मल प्रयोग गरेर सेल्टर अगाडिको लगभग ५० रोपनी जग्गा लिजमा लिएर तरकारी लगाएका छौं । अहिले साग, टमाटर फलिरहेको छ । जाडोयाममा भारतसँग प्रतिस्पर्धा गर्नुनपर्ने काँक्रो र साग लगाउने सोच छ । यसरी लगाइएको तरकारी बजारमा लगेर बेच्छौं र त्यसको पैसाले गाईगोरूलाई खुवाउँछौं ।
० यसबाहेक अरू थप केही योजना पनि बनाउनु भएको छ कि ?
–सन् २०१४ देखि म यो क्षेत्रमा लागेकी हुँ । त्यसअघि म टुरिजम सेक्टरमा थिएँ । अहिले पनि मेरो ट्रेकिङ एजेन्सी छ । यसबाहेक पेट स्टोर खोल्ने सोच छ । घरको कुकुर धेरै बाटोमा आइरहेकाले त्यसलाई न्यूनीकरण गर्ने हेतुले यस्तो योजना अघि सारेकी हुँ ।
० धेरै पशुपन्छीको हत्या हुने पर्व हो, दशैं । खासमा दशैं कसरी मनाउनुपर्ला ?
–दशैं मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिई मनाइने पर्व हो । बिछोडिएका, भेटघाट नभएका आफन्तसँग पुनर्मिलनको गतिलो माध्यम पनि हो, दशैं । आफ्नो परिवारसँग रमाइरहँदा अर्काको (पशुपन्छी) छोराछोरी काट्नु उचित होइन । फेरि दशैंमा मासु नै खानुपर्छ भनेर कहीँ कतै लेखिएजस्तो मलाई लाग्दैन । शुद्ध शाकाहरी भएर दशैं मनाउन सकिन्छ ।
० बलि प्रथा पनि एउटा समस्याको रूपमा छ । यसतर्फ पनि केही कार्यक्रम गर्दै हुनुहुन्छ कि ?
–धर्मशास्त्रमा पशुको नभएर लोभ, क्रोध, मोहको बलि दिनु भनेर लेखिएजस्तो लाग्छ । देवी भनेकी आमा हुन् । उनीहरूका लागि मानिस र पशुपन्छी सबै छोराछोरी सरह हुन् ।
आमाले एउटा छोराछोरीको इच्छा पूर्तिका लागि अर्को छोराछोरीको बलि देऊ कदापि भन्नु हुन्न । कुनै बेला हिन्दू धर्ममा सतिजस्तो कुसंस्कार थियो । श्रीमान् मर्दा जिउँदै श्रीमतीलाई जलाइन्थ्यो । यस्तो कुसंस्कार त हामीले हटायौं भने बलि प्रथा पनि हटाउनु पर्छ ।




