काठमाडाैं । भारतीय सेनाका Chief of Defence Staff (CDS) तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत (PVSM, UYSM, AVSM, YSM, SM, VSM, ADC), रावतकी श्रीमती मधुलिका रावत तथा अन्य ११ जना सैनिकहरुको २०७८ मंसिर २२ गते भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले नेपाली सेनालाई दु:खी तुल्याएको नेपाली सेनाबाट २०७८ मंसिर २३ गते प्रेस जारी विज्ञप्तिमा उल्लेख छ ।
यस दु:खद घडीमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति मंसिर २२ गते साँझै फोन तथा पत्र मार्फत हार्दिक समवेदना व्यक्त गरिएको थियो ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माले यस दु:खद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पुग्नुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख छगरेका छन् । सेनापति प्रभुराम शर्माबाट भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चीर शान्तिको कामना गरिएको छ ।
साथै, जनरल रावतको २०७८ मंसिर २४ गते नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बाल कृष्ण कार्की जाने कार्यक्रम तय भएको सेनाले जानकारी दिएकाे छ ।
३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनरल विपिन रावतलाई राष्ट्रपति विद्या देवी भण्डारीबाट २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गरिएको थियो ।
जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी भएकाे नेपाली सेनाले स्मरण गरेकाे छ ।




