काठमाडौं, चैत १४ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र नेपालका लागि चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा चैत १४ गते बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइन्छ ।
मन्त्री पुनसंगको भेटमा चिनियां राजदूतबाट नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिएको मन्त्रीको निजी सचिवालयले बताएको छ ।
राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनिया सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागि सरकारले पनि उपयुक्त वातावरण वनाउनुपर्नेमा जोड दिइएको थियो ।
चिनिया राजदूतद्वारा मन्त्री पुनसंगको भेटमा हाल चिनिया कम्पनीले करीव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिइएको थियो ।
राजदूतबाट वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनिया लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको जानकारी समेत दिइएको थियो ।
राजदूत होङले चिनियां कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानूनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेको पनि बताइएको छ ।
राजदूतले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिंदै त्यसका लागि नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दीर्घकालीनरुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गरेको बताइएको छ ।
भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गरेका थिए । उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आपूmले समाधानका लागि पहल गर्ने बचन दिएका छन् ।
मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागि पहल गर्न राजदूत होङलाई आग्रह पनि गरेका छन् ।
‘नेपालमा चिनिया कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भीर छौं त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन् ।’ भेटमा मन्त्री पुनले भने ।
चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानका लागि उर्जामन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बचन दिएका छन् । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागिताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उर्जामन्त्री पुनले रसुवा–केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरेका छन् ।
नेपालमा चिनिया लगानीकर्तालाई लगानीको वातावरण बनाउन सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिएका थिए ।
‘अहिलेसम्मको सहयोगको लासग चीन सरकारलाई म धन्यवाद दिन चाहन्छु, नेपालमा चिनिया लगानीकर्तालाई सहज वातावरण बनाउने जिम्मा हाम्रो भयो, तपाईहरुको तर्फबाट पनि थप लगानी होस् । ’ मन्त्री पुनले भनेका छन् ।
मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागि ठूला आयोजना निर्माणमा सरकारको ध्यान जाने बताए ।
राजदूतसंगको भेटमा मन्त्री पुनले ठूला आयोजना निर्माणको लागि चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेको कुरा पनि मन्त्री पुन प्रेस संयोजक रोशन खड्का बताए ।
राजनीतिक स्थिरतासहित सुशासन र सम्बृद्धिको वातावरण बनाउने नयां“ सरकारको योजना रहेको मन्त्री पुनको भनाई रहेको बताइएको छ ।




