एकजना बटुवा कुनै नयाँ गाउँमा पुग्यो र बाटोमा भेटिएको एक वृद्ध व्यक्तिलाई सोध्यो– वा ! यो गाउँका मानिस कस्ता छन् ? मिलनसार र असल छन् ? ती बुढा व्यक्तिले जवाफ दिनुको वदला उल्टो प्रश्न गरे, तिम्रा गाउँका मानिस कस्ता छन् ? त्यो पहिले बताउ । बटुवाले दुखी तथा आक्रोशित हुँदै भन्यो, त्यहाँका मानिसको कुरै नगर्नुस्, त्यहाँका जस्ता दुष्ट मानिस मैले कहीं देखेको छैन । मेरो सारा दुःखका कारण उनीहरू नै हुन् । बुढाले एकछिन गम खाएर दुखित हुँदै भने, यहाँका मानिस पनि तिम्रै गाउँका जस्ता दुष्ट छन् । त्यो मानिस आफ्नो बाटो लागेको केही समयपछि अर्को व्यक्ति आई पुग्यो र बुढालाई नमस्कार गरेर पहिलो बटुवाले गरेकै प्रश्न दोहो¥यायो ।
बुढाले पनि जवाफ दिनुको साटो तिम्रो गाउँका मानिस कस्ता छन् भनेर प्रतिप्रश्न गरे । बुढाको प्रतिप्रश्न सुन्नासाथै त्यो व्यक्ति खुसीले गदगद भयो मानौ उसको दिमागमा जीवनका खुसीका क्षणहरूको सम्झना ताजा भयो । उसले भन्यो–मेरा गाउँका जनतालाई म कहिले विर्सन सक्दिन । उनीहरू सा¥है मिलनसार र सहयोगी छन् । मेरो खुसीको कारण पनि उनीहरू नै हुन् । उसको कुरा सुने पछि बुढाले भने— यहाँका मानिस पनि तिम्रै गाउँका जस्ता सहयोगी र मिलनसार छन् । फरक गाउँका मानिस होइन आफैंमा हुने गर्दछ । जो जस्तो छ, त्यस्तै गाउँमा पुग्दछ । मानिस मानिसमा खासै फरक हुँदैन ।




