सत्तारुढ दलले संविधान संशोधनमा सघाउन राप्रपासंग आग्रह गर्दै आइरहेको छ । २०७४ असार २४ गते शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमल थापा र पशुपति शमशेर राणालाई भेटेर सहयोगका लागि आग्रह गरेका थिए । तर, राप्रपा विशेष गरेर कमल थापा तत्कालै यसबारे निर्णय लिने पक्षमा छैनन् । पार्टीका अधिकांश सांसद्हरू संशोधनमा सघाउनु पर्ने पक्षमा देखिए पनि कमल थापा अझै पर्ख र हेरको पक्षमा छन् । स्रोतका अनुसार, थापाले आफू सरकारमा जाने वातावरण बनेमा मात्रै संशोधनमा सघाउने निर्णय लिन सक्छन् । ‘कमल थापाले संशोधनको मुद्दासंग सत्ता साटफेर गर्ने रणनीति बनाएका छन्,’ स्रोतले भन्यो, ‘आफू सरकारमा जाने अवस्था बनेमा सघाउने र नबनेमा नसघाउने निर्णय थापाबाट आउनेछ ।’ स्रोतका अनुसार, यही नीति अनुसार थापा अन्तिममा संशोधनबारे बोल्ने मनस्थितिमा छन् । यद्यपि, थापाको पार्टीमा संशोधनमा सघाएर सरकारमा सहभागी हुनुपर्ने मत अत्यधिक छ ।




