काठमाडौं । मुलुकमा आम चुनावको चटारो चलिरहेको भएपनि रोजगारीको लागि विदेश जाने मोहमा कमी आउन सकेको छैन । सरकारले चुनावको मिति घोषणा गरेको समय २०७९ भदौ महिना नै ७६ हजार चार सय तीन जना युवाहरु रोजगारीको सिलसिलामा बिदेशीएका छन । भदौ महिनाको तुलनामा असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा केही कमी आएको बैदेशिक रोजगार बिभागले जनाएको छ । ०७९ असोज महिनामा ६२ हजार ७ सय ७ जना नेपाली युवा रोजगारीको लागि विदेशिएको बताइएको छ ।
भदौको तुलानामा असोजमा कमी
०७९ भदौ महिनामा विदेशिने युवाको संख्या ७६ हजार ४ सय ३ जना रहेको भए पनि असोजमा झण्डै १२ हजारले कमी आएको छ । गत साउन महिनामा बिदेशीनेको संख्या ६३ हजार ३९ जना रहेको थियो । असोज महिनामा औसत दैनिक २ हजार ९० जनाका दरले नेपाली युवा रोजगारीका लागि विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।
मलेसिया जाने अझ बढी
असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै युवाहरु मलेसिया गएका छन । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका बिभागस्रोतले जानकारी दिएको छ । महामारीका कारण लामो समय बन्द रहेको मलेसियाको रोजगारी खुलेसँगै कामदारको मागसमेत ह्वात्तै बढेको बताइन्छ ।
जसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च भएको बिभागको दावी छ । गत असोजमा ९ हजार ८ सय ४५ कतारमा, ७ हजार ८ सय ४५ जना यूएईमा, ६ हजार ५ सय ३६ जना साउदी अरेबियामा, ३ हजार ४ सय ९७ जना कुवेतमा र १ हजार ९ सय १८ जना नेपाली श्रमिक कोरियामा पुगेको बिभागले जनाएको छ ।
संस्थागत भन्दा व्यक्तिगत बढी
असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४ सय १२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएको बताइएको छ । अरु बाँकी श्रम स्वीकृति, नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएको बिभागको भनाई छ ।
असोज महिनामा ४४ हजार ३४ जना श्रमिकले नयाँ श्रम भिसा अर्थात संस्थागत तथा व्यक्तिगत रुपमा विदेश गएका थिए । भदौमा यो संख्या बढेको छ । नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ५७ हजार ९ सय ९३ जना रहेको बिभागले जानकारी दिएको छ ।




