🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कम्युनिष्ट कोर्टमा पृथ्वीजयन्ती

 
 पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा मनाउॅदैछौ – नेपाल एकीकरणको प्रतीकको रूपमा रहेको यस दिनलाई सबै नेपालीले जीवनपर्यन्त मनाउन पाइरहुन्- हामी सबैलाई शुभकामना छ ।
 
  पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा २०४५ सालमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको राष्ट्रव्यापी अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगितामा म पुरस्कृत भएको दिन, आज ३४ वर्षपछि पनि मलाई मीठो सम्झना हुन्छ ।
 
१० हजार शब्दमा लेख्नुपर्ने उक्त निवन्ध लेख्दा मसॅग त्योबेला कम्प्युटर नभएकोले २ वटा पातलो टाइप पेपरको बीचमा कार्बन पेपर राखेर हातले लेखेको २१ पेजको मेरो निबन्ध, त्रिभुवन विश्वविद्यालयले “एकेडेमिक जर्नल” मा प्रकाशित गर्ने भनेको थियो- लगत्तै देशमा राजनीतिक आन्दोलन भएकोले छाप्यो कि छापेन, मलाई जानकारी हुन सकेन ।
 
“घुस खान्या र दिन्या, देशका शत्रु हुन्” भनी पृथ्वीनारायणले पहिचान गर्नुभएको राष्ट्रिय रोग समेत प्रचण्डको प्रधानमंत्रीत्वको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको मुख्य बुँदाको रूपमा आउनुबाट प्रचण्डले अघोषित रूपमा पृथ्वीपथलाई साझा मार्गको रूपमा अधि बढाउने असल सोंच राख्नुभएको हो कि भनी बुझ्न सकिन्छ ।
 
 
  मसॅग खल्तीमा पैसा नभएको बेलामा ठूलो धनराशिको नगद पुरस्कार जित्दा मलाई संसारै जिते जस्तै भएको थियो । हुन त यो निबन्ध मैले लेख्नुको मूल लक्ष्य पैसा जित्नकै लागि मात्र थियो । तर यस निबन्ध लेखनमा मेरो यति मेहनत परेको थियो कि आखिर यही लेखनीले नै मलाई लेख्ने बानी सिकायो र देशप्रति निष्ठावान रहने आदत बसाली दियो । यसकारण व्यक्तिगत रूपमा पृथ्वी जयन्ती मेरो मानसपटलमा घुमिरहन्छ ।
 
गोर्खाका राजा पृथ्वी नारायण शाहले सदियौंदेखि टुक्रिएर विखण्डित रहेको नेपाललाई एकीकरण गर्ने महाअभियानको जग हालेर विश्वभरी नेपाली जातीको पहिचान स्थापित गराएका हुन् ।
 
  आधुनिक नेपालको तराई, पहाड र हिमालमा बसोबास गर्ने “विशाल नेपाले देश”बाट टुक्रिएका खस, अवध, विधेय, कोचिला, लिम्वुवान, किराँत, विजयपुर, चौदण्डी एवं बाइसे र चौविसे टुक्रेराज्यहरूलाई पृथ्वीनारायण शाहले पुनः एकीकरण नगरेको भए, आज नेपाल एक सार्वभौम देशको रूपमा स्थापित हुने थिएन, हामी जहाँरहे बसेका भए पनि हामी कोही पनि नेपाली रहने थिएनौं ।
 
यसकारण पृथ्वीनारायणलाई राजा भनेर सम्झिनुपर्ने नभई देश एकीकरणका महानायक भनेर प्रत्येक नेपालीले सम्झिनुपर्ने नै हुन्छ ।
छिमेकी भारत, चीन र महाशक्तिराष्ट्र अमेरिका भन्दा अघि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्रमा स्थापित हुने कुरा चानचुने होइन, युगान्तकारी कुरो हो ।
 
जुनबेला अहिलेका भारतीयहरू काश्मीर, ग्वालियर, हैदरावाद, बरोडा, मैसुर, ट्रिभ्यान्कोर, सिक्किम, मेवाड, कोचिन लगायतका देशका नागरिक थिए, त्यसभन्दा २३० वर्षअघि नै सार्वभौम र स्वतन्त्र नेपाल र नेपालीको पहिचान स्थापित भइसकेको थियो ।
 
  ऊ बेला पृथ्वीनारायण अनपढ थिए होलान्, गवार थिए होलान्, गरिब थिए होलान्, आजको भाषामा अप्रजातान्त्रिक थिए होलान्, कठोर, दम्भी र निरंकुश थिए होलान- तर उनको सामाजिक सद्भाव र सॅास्कृतिक लगाव, राष्ट्रप्रेम र देशभक्तिमाथि कसैले प्रश्न उठाउन सक्तैन ।
 
  जुनबेला अमेरिकी, हिन्दुस्तानी र चिनीयाहरूले देशलाई स्वतन्त्र र सार्वभौम बनाउने सपना सम्म पनि देखेका थिएनन् त्यसबेला पृथ्वीनारायण शाहले “देशनिर्माण” (Nation building) को जीवन्त खाका नै बनाइसकेका थिए- जुन उनको “दिव्य उपदेश” बाट बोध हुन्छ ।
 
उनले गरेका देश निर्माणको परिकल्पना तथा विकास र सुधारको काम आज ३०१ वर्षपछि पनि कुनै शासकले पनि आंशिक कार्यान्वयनसम्म गरेको पाइन्न । यतिका दसकौं मौका पाउदा आफूले गर्न नसकेका देश निर्माणको कामका निम्ति अहिले पृथ्वीनारायण शाहलाई सरापेर हुन्छ र ?
 
  नेकपा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय निर्वाचनमा त्यही कालजयी पृथ्वीनारायण शाहको जन्म र कर्मभूमिबाट निर्वाचित हुनुभएको छ । निर्वाचनको १० दिनअघि म सहित राप्रपा नेपालका ५ पदाधिकारीलाई खुमलटारमा उहाँले चियापानको भेटघाटका क्रममा नेपाल एकीकरणको थलो गोर्खा जिल्लाबाट चुनावमा उम्मेदवारी दिनुको मूल आशय नै “राष्ट्रिय एकता र सद्भावको सन्देश दिनलाई” भएकोले तपाईहरूको सहयोगका लागि समेत अनुरोध गर्छु भन्नु भएको थियो ।
 
वास्तवमै प्रचण्डजीले गोर्खाबाट चुनाव जित्नुमात्र भएन, यस पटक उहाँले पृथ्वीनारायण कै रूपरेखा अनुसार संसदमा भएका अधिकांश दलहरूको राष्ट्रिय सहमति नै जुटाएर २०७९ पुस २६ गते मात्रै विश्वासको मत पनि प्राप्त गर्नुभएको छ ।
 
यसका अतिरिक्त, उहाँले पुस २७ मा राज्यस्तरबाटै पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता र सद्भावको सन्देश समेत दिनुभएको छ । यसभन्दा अघि राप्रपा नेपालका अधयक्ष उपप्रधानमंत्री कमल थापा सरकारमा छॅदा पनि सार्वजनिक विदा दिएर राज्यस्तरबाटै पृथ्वी जयन्ती मनाइएको थियो, तर त्यो राजनीतिक चक्रव्यूहमा परेर फेरि राज्यस्तरबाट मनाउन छोडियो । तापनि जनस्तरमा मनाउने चलन शायदै रोकिएको छ ।
 
 अब परिस्थिति बदलिएको छ ।अहिले नयॅा पुस्ताका राजेन्द्र लिंगदेन, रवि लामिछाने र सिके राउत जस्ता जुझारू व्यक्तिहरू प्रधानमंत्रीको साथमा छन् । “घुस खान्या र दिन्या, देशका शत्रु हुन्” भनी पृथ्वीनारायणले पहिचान गर्नुभएको राष्ट्रिय रोग समेत प्रचण्डको प्रधानमंत्रीत्वको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको मुख्य बुँदाको रूपमा आउनुबाट प्रचण्डले अघोषित रूपमा पृथ्वीपथलाई साझा मार्गको रूपमा अधि बढाउने असल सोंच राख्नुभएको हो कि भनी बुझ्न सकिन्छ ।
 
पृथ्वीनारायणकै परिकल्पना अनुसार समावेशी सामाजिक, राजनीतिक र आर्थिक थिति बसाल्ने, देशमा औधोगिकीकरण र खनिज पदार्थको उत्खनन गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने । गरिबी न्यूनीकरण गर्ने जस्ता कुराहरूलाई समाविष्ट गरिएको न्यूनतम साझा कार्यक्रमलाई सफल पारेर राष्ट्निर्माणको गतिलाई समयानुकूल नयाँ दिशाबोध गर्न प्रधानमंत्री प्रचण्डले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा लिनु भएको समायोजनकारी दृष्टिकोण नेपाल र नेपालीका लागि शुभलाभकारी हुने अपेक्षा राख्न सकिन्छ । के कुरा सत्य हो भने ईतिहासलाई “कन्डेम” गरेर भविष्यको निर्माण हुन सक्तैन ।
 
भौगोलिक एकीकरण र सामाजिक सद्भावको थालनी गरेका पृथ्वीनारायणको परिकल्पना अनुसारको देशनिर्माण (Nation building) को कामकाज विगत ३०० वर्षका उनका वंशानुगत उतराधिकारी वा गैरवंशानुगत शासकहरूले गर्न सके-सकेनन् भनेर विवाद गरी समय खेर फाल्नुभन्दा प्रचण्डजी पृथ्वीनारायण शाहका अधुरा परिकल्पनाहरूलाई पूरा गर्ने “सेतु” बन्नसक्नु भयो भने त्यसले वर्तमान लोकतान्त्रिक प्रणाली जनताको समृद्धि र देशलाई स्थिरतातर्फ उन्मुख गराउन सक्छ । तर एउटा कम्युनिष्ट नेताका लागि योभन्दा ठूलो चुनौती र अवसर अर्को के नै होला र !?