काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँहरुले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिनुभएको हो ।
निरीक्षणका क्रममा दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेलाई घटनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहाल तथा गृहमन्त्री रवि लामिछानेले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
—
रासस




