काठमाडौं । २०७७ असोज १४ गते २५ औं मुख्यसचिवको जिम्मेवारी डा. शंकरदास बैरागीले पाएका थिए । उनी परराष्ट्रका क्याडर्स हुन् । निजामती सेवा, राष्ट्रिय सुरक्षाको शून्य ज्ञान भएपनि सोर्सफोर्स भिडाएर मुख्यसचिव बन्न सफल भए । उनको कार्यकाल करिब आठ महिना अर्थात आगामी २०८० असोजसम्म रहेको छ । यो अवधिमा उनले तीनवटा सरकार बेहोरिसकेका छन् । तर, उनको कार्यशैलीप्रति निजामती प्रशासन सेवाका कर्मचारीहरू भने सन्तुष्ट हुन सकेका छैनन् ।
निजामती प्रशासन सेवाको पीडा नबुझ्ने चाकडी गरेर आफ्नो पद सुरक्षित गर्ने प्रवृत्तिका मुख्यसचिव वैरागी सरकारले दुई महिना नपुग्दै सचिव, सहसचिवहरुको सरुवा गरेर निजामती प्रशासन सेवालाई थिलथिलो पार्दा समेत पनि उनले रोक्न नसकेको गुनासो निजामती सेवा प्रशासन भित्र बढ्दै गएको छ । स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई बेला कुबेला सरुवा गर्दा पनि उनी सरकारको अगाडि मूकदर्शक र निरीह हुने गरेको भन्दै उनको कार्यशैलीप्रति प्रशासन क्षेत्रमा नकारात्मक टिकाटिप्पणीहरू हुने गरेको बताइन्छ ।
विकासे मन्त्रालयमा सचिव सरुवा गर्दा उनले शुभलाभमा ध्यान दिने गरेको गुनासो बाहिर आएका छन् । त्यस्तै राजश्व संकलनका हिसाबले आकर्षक मानिने विभागमा महानिर्देशक र कर्मचारी खटाउँदा समेत उनको लोभी नजर पर्ने गरेको कर्मचारी बृत्तमा चर्चा चलिरहेको छ । कतिसम्म भने सचिव बढुवा भएकाहरू कनिष्ठ सचिवलाई प्रदेशको प्रमुख सचिवमा खटाउनुपर्ने हो तर कनिष्ठ सचिव भए पनि उनले आफू अनुकूलकालाई सिधै शक्तिशाली मन्त्रालयमा खटाउन सरकारलाई सिफारिस गर्दै आएका थुप्रै उदाहरण छन् ।
मुख्यसचिव वैरागीको यो कार्यशैलीबाट उच्च प्रशासकहरू पनि दिक्दार बनेको बताउछन् । केही सचिवले तीन वर्षसम्म पनि एकै निकायमा रहेर काम गर्नु परेको छ । उनीहरू मन्त्रालयको बागडोर नसम्हाली घर जाने तयारीमा रहेका छन् । केही सचिवको भने दुई महिना पनि नपुग्दै आकर्षक अन्तर मन्त्रालयमा सरुवा हँ‘दा पनि मुख्यसचिव वैरागी रमिते बनेर बेथितिको साक्षी बनेर मस्त छन् । कृष्णहरि पुस्कर कर्ण जस्ता चतुर खेलाडीले सचिव बढुवा हुनासाथ २०७८ असार पछि राजस्व, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै संघीय मामिला तथा सामान्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न भ्याइसकेका छन् ।




