काठमाडौं । स्ववियू निर्वाचनको प्रक्रिया २०७९ फागुन १९ गते देखि देशैभर सुरू भएको छ । आगामी २०७९ चैत ५ गते बिहान ८ बजे देखि ४ बजेसम्म स्ववियू निर्वाचनको मतदान हुने कार्यतालिका रहेको छ । स्ववियु चुनावमा भाग लिने विद्यार्थी संगठनहरूले फागुन १९ गते शुक्रवारबाट नै संगठनको दर्ता क्याम्पसहरूमा गरेका थिए ।
स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने भनिए पनि आंगिक ५ सय ४० वटा क्याम्पसले मात्र निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन । अन्य क्याम्पसले विभिन्न कारण देखाउदै कार्यक्रम सार्वजनिक गरेका छैनन । चुनावी कार्यतालिकाअनुसार हिजो फागुन २१ गते मतदाता सूची प्रकाशन, आगमाी २५ गते बिहीवारका दिन मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।
यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली माथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँने भएका छन् । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको छ ।
स्ववियु निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्म मिति भएका र सो भन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् । त्रिविले गत माघ २२ गते नै स्ववियू निर्वाचन सम्बन्धी निर्देशिका पारित गरेको थियो । स्ववियूको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने गरि व्यवस्था मिलाइएको छ ।
स्ववियू कार्यसमितिमा दुई सय विद्यार्थी भर्ना बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भर्ना भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भर्ना भए १९ जनाको कार्य समिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भर्ना भए २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
त्रिविमा २०१८÷१९सालदेखि स्ववियुको प्रत्यक्ष निर्वाचन प्रणालीमा निर्वाचन हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई–दुई वर्षमा गराउन थालिएको थियो । २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको छ । २०७३ मा त्रिविविका ६२ आंगिक क्याम्पस मध्ये उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । २०६५ सालयता स्ववियुको नियमित चुनाव हुन सकेको छैन । २०६५ चैत ६ गते पछि एकैपटक आठ वर्षमा २०७३ फागुन १५, १८, २१, २३ र २४ गते स्ववियू चुनाव गरिएको थियो ।



