काठमाडौँ, (रासस) : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रहरी प्रधान कार्यलयमा २०७९ चैत ११ गतेबाट अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग-निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो ।
अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।
उहाँले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिनुभयो । सिंहसहित उहाँका ब्याची चैत १० गते राति १२ बजेबाट अबकाश भएका हुन् । नवनियुक्त महानिरीक्षक कुँवरले २०७९ चैत ११ गते शनिबारदेखि कार्यभार सम्हाल्नुहुने छ ।
सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उहाँका ब्याजी नौ जना प्रहरी अधिकृतहरु चैत १० गतेबाट अनिवार्य अवकाशमा हुनु भएकाे हाे । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिनुभयो । उहाँका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाश हुनु भएकाे छ ।
चैत १० गते राति १२ बजेदेखि उहाँहरुको कार्यकाल सकिने भएकाले चैत १० गतेको मन्त्रिपरिषद् बैठकले चैत ११ गते शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरेकाे हाे । उहाँहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश हुनु भएकाे छ ।
प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि चैत १० गते राति १२ बजेदेखि लागू हुने गरी अनिवार्य अवकाशमा गएकाे प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो ।
—




