काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः नामाकरण गर्न माग राखेर भएको आन्दोलनका क्रममा चैत ५ गते घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बूको मृत्यु भएको हो । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छ ।
समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।




