काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकमा रहेको केउरानी वनमा अनाधिकृत रूपमा अतिक्रमण गरी वन भित्र बाटो बनाइएको विषयले अहिले विवाद चर्किएको छ । केउरानी वन उपभोक्ता समितिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र चन्द्रागिरी नगर वडा नं १ का अध्यक्ष गणेश गिरी र १ नं वडा अध्यक्ष हरिश्याम राना मगरको मिलिभगतमा उक्त कार्य गरिएको बताइएको छ । जिल्ला वन कार्यालय र केउरानी वन उपभोक्ता समितिको अनुमति बिना वन क्षेत्रभित्र सडक बनाए पछि वन उपभोक्ता समितिका सदस्यहरुले राजीनामा दिएका छन ।
सरकारको स्वीकृति बिना वन क्षेत्र भित्र बाटो बनाउन र रूख बिरुवा काटन पाइदैन । जंगल भित्रबाट रुख फडानी गर्दै बनाइएको सडक निर्माणको विषयमा केउरानी सामुदायिक वन समितिका पदाधिकारी चन्द्रागिरी नगरपालिका १ वडा कार्यालयलगायतका सरोकारवाला निकायसँग पनि स्पष्ट जानकारी नरहेको बताइएको छ । जिल्ला वन कार्यालय हात्तीसार र इलाका वन कार्यालय थानकोटले वन क्षेत्रभित्र स्वीकृति नलिइ सडक बनाउने, रूख बिरुवा काट्ने र वन फडानीमा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको बुझिएको छ ।
वन फडानी गर्नेमा को थिए भन्ने अझै पत्ता लाग्न सकेको छैन । तर उपभोक्ता समितिका अध्यक्ष गिरी र वडाअध्यक्ष राना मगरको यसमा अप्रत्यक्ष संलग्नता देखिएको घटनाक्रमबाट देखिएको समाचारस्रोतले जानकारी दिएको छ ।
अनाधिकृत रुपमा वन फडानी गरी वन क्षेत्रभित्र बाटो बनाएपछि आकस्मिक रुपमा राजीनामा दिएका सामुदायिक वनका सचिव सहितका सदस्यहरुले स्वयं अध्यक्ष गणेश गिरीकै संलग्नता रहेको आरोप लगाइरहेका छन् । वनकै विषयमा सव डिभिजन कार्यालय थानकोटमा उजुरी परेपछि वन कार्यालयले केउरानी वनमा अनुगमन गरेर पुन वृक्षारोपण गर्न खाडल समेत खनेको छ ।
तर कार्यालयले वन विनास गरेर रुख विरुवा नष्ट गर्नेहरुलाई समयमा कारवाही गर्न भने विलम्ब गरिरहेको स्थानीय जनताले आरोप लगाएका छन् । वन सीमामा रहेका जग्गामा प्लटिङ गर्ने उद्देश्यले बाटो निर्माण गर्न खोजिएको स्थानीयको गुनासो रहेको छ ।
केउरानी वनको विषयमा नेकपा माओवादी केन्द्र चन्द्रागिरी नगर समितिको बैठकमासमेत उक्त विषयमा छलफल भई केही नेताहरूबीचमा चर्काचर्की परेको समाचारस्रोतले बतायो । केउरानी वन उपभोक्ता समितिका अध्यक्ष गिरी माओवादी केन्द्र चन्द्रागिरी वडा नं १ का अध्यक्ष पनि हुन् । वन अतिक्रममा माओवादी पार्टीसमेत किन ? संलग्नता भन्दै स्थानीय जनताले प्रश्न तेस्र्याएका छन । बैठकमा गिरीको कदम विरुद्ध आवाज उठेको स्रोतले बताएको छ ।
बैठकमा नगर समितिका सदस्यलगायत माओवादी केन्द्रका तर्फबाट काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी केन्द्रीय सदस्य कल्पना धमला समेत उपस्थित रहेको बताइएको छ । अध्यक्ष गिरीले आफूलाई विवादमा तानिएको र पार्टीले पनि असहयोग गरेको भन्दै सहयोग गर्न अनुरोध गरेका थिए । तर एक सदस्यले विगतमा बैठकमा गिरीले केउरानी वनमा सडक निर्माण गर्ने र सो वापत वन समिति र पार्टीलाई करिव ३० लाख रुपैयाँ उपलब्ध गराउने जग्गावालाबाट प्रस्ताव समेत आएको कुरा स्मरण गराएका थिए ।
बैठकमा धमलाले गिरीलाई सम्पूर्ण दोष र आरोप तपाई तर्फ नै सोझिएको भन्दै पार्टीले जिम्मेवारी नलिने बताएको समाचारस्रोतको भनाई छ । समाचारस्रोत भन्छ ‘उक्त सम्पुर्ण अपराधको जिम्मेवारी गिरी स्वयंले लिनुपर्ने भनेर आक्रोस पोखेको थिइन् ।’ केन्द्रीय सदस्य धमलाले अध्यक्ष गिरीको गतिविधि राम्रो नभए पनि र पार्टीले जिम्मेवारी र सहयोग नलिएको भए पनि सकेसम्म उनलाई जोगाउने तर्फ पनि सदस्यहरुलाई निर्देशन दिएको समाचार स्रोतको दावी रहेको छ ।
विगत केही महिनादेखि वन फडानी र बाटो निर्माण भएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि च.न.पा वडा नं १ कार्यालयमा वन समिति र सरोकार वालाहरुलाई बोलाएर वडा अध्यक्ष हरिश्याम रानामगरले स्पष्टीकरण सोधेका थिए । केउरनी वन उपभोक्ता समितिको साधारण सभा २०७९ चैत्र १८ गते गर्ने तयारी गरिएको भए पनि विवादका कारण पुनः सारिएको छ ।
वन फडानी सम्बन्धी उजुरी परेपछि सो ठाउँमा वन कार्यालयका अधिकारीहरुले वृक्षारोपण गरेका थिए । उक्त क्षेत्रमा करिव १८ वटा भन्दा बढी ठूला रुखहरु ढालिएका र केही रुखहरुको जरा कमजोर हुने गरी क्षति पुरयाइएको छ । यस्ता ठुला रूखको एउटा कै पाँच लाखदेखि दस लाख मूल्य पर्ने बताइएको छ । सडक निर्माण गरिरहेका केही व्यक्तिहरुलाई वनस्थलमै वडा सदस्यहरुले पहिचान गरेर खनजोतमा प्रयोग भएको औजारसमेत जफत गरेको करिव एक महिना पछि जानकारी गराइएको थियो ।
पटक–पटक त्यस क्षेत्रमा वडा अध्यक्ष, वडा सदस्यहरु, वन उपभोक्ता समितिका अध्यक्ष गिरी र कार्यालयका कर्मचारीहरुले अनुगमन गरे पनि फडानी र वन क्षेत्रमा बाटो बनाएको स्पष्ट क्षतिको विवरण प्रतिवेदनमा सार्वजनिक गरिएको छैन । सवै सरोकारवाला पक्षहरु पूर्ण जानकारी नभएका र वन फडानीमा आफ्नो संलग्नता नरहेको प्रष्टिकरण दिइरहेका छन् ।
तर, स्थानीय उपभोक्ताहरुको भनाइ भने वन फडानीमा जग्गा प्लटिङकर्ता देखि वनका अध्यक्ष र वडाकार्यालयका व्यक्तिहरु पनि उदासिन देखिनुले उनीहरू नै यसमा दोषी रहेको आरोप लगाइरहेका छन् ।
व्यापक विरोध र उजुरी बढ्दै गएपछि वन कार्यालयले पदाधिकारी, संलग्न केही व्यक्ति र संस्थालाईसमेत स्पष्टिकरणको लागि कार्यालयमा उपस्थित हुन पत्राचार गरेको बुझिएको छ । केउरानी वनमा रातारात फडानी गरी एक्कासी सडक कसले, किन र कुन उद्देश्यले बनायो ? घटनामा को–को सडक निर्माणमा संलग्न थिए भन्ने विषयको अनुसन्धान भइरहेको समाचार स्रोत बताउँछ । माओवादी केन्द्रका स्थानीय नेताहरूले सत्ताको आडमा उक्त काम गरेको स्थानीय जनताको आरोप रहेको छ ।



