काठमाडौं । सशस्त्र प्रहरी बलले २०७४ साउन ३२ मा निकालेको डीआइजीहरूको सरुवा, काज तथा पदस्थापनमा क्षेत्रीय प्रमुखहरूलाई यथावत राखिएको छ । पटक पटक क्षेत्रीय प्रमुख भएका डीआइजीहरू पूर्वान्चलका जानकी भट्टराई, मध्यमान्चलका नरेन्द्र सिंह र पश्चिमान्चलका सुबोध अधिकारीलाई निरन्तरता दिइएको छ । एसएसपी हुँदै निमित्त क्षेत्रीय प्रमुखका रुपमा कार्यरत मध्यपश्चिमान्चल सुर्खेतका बसन्त बानियाँलाई पनि यथावत राखिएको छ ।
अरविन्द खनाल पूर्वआइजीपी कोषराज वन्तसँगै निलम्बनमा परेपछि निमित्त पाएका बानियाँ गतबर्ष डीआइजी बढुवापछि पनि मध्यपश्चिममै पदस्थापन भएका थिए । पश्चिमान्चलबाट अर्को आकर्षक मध्यमान्चल क्षेत्रमा सरुवा भएका विवादित डीआइजी नरेन्द्र सिंहलाई सरुवा नगर्न माओवादी केन्द्रका नेता मात्रिका यादवले गृहमन्त्री जनार्दन शर्मालाई चर्को दबाब दिएकै कारण पूर्वका जानकी, पश्चिमका सुबोध अधिकारीले पनि निरन्तरता पाएको स्रोतले बताएको छ ।
पश्चिमान्चलमा हुँदा गणमा बिदा छोडेका सिपाहीको रासनको समेत घुस माग्ने गरेका नरेन्द्र सिंह मध्यक्षेत्रमा असुलीमा अति नै बदनाम भएका थिए । घुमुवा राखी तस्करदेखि अपराधीसम्म मिलेर घुस असुली गरेको गुनासो आएपछि सशस्त्र प्रहरी बलले उनलाई केही महिनाअघि सचेत गराएको थियो । तर पनि उनको असुली नरोकिएको सशस्त्र प्रहरी स्रँेत बताउछ । यसअघि गृहमन्त्री विमलेन्द्र निधिको आडमा पोखरामा सरुवा भएका उनी सरुवा नीति नै मिचेर पुनः मध्यक्षेत्रमा सरुवा भएका थिए । मध्यक्षेत्र सशस्त्र प्रहरी बलमा डीआइजीका लागि आकर्षक मानिन्छ । पूर्वका डीआइजी जानकी भट्टराई लगातार क्षेत्रमा नगए पनि यसअघि एक पटक पश्चिमान्चलको क्षेत्रीय प्रमुख भइसकेका हुन् । सुबोध अधिकारी मध्यपश्चिमबाट पुनः पश्चिमान्चलमा सरुवा भएका हुन् । यसरी पटक पटक क्षेत्रीय प्रमुख भएका डीआइजीलाई पुनः क्षेत्रमै निरन्तरता दिइएकोमा सशस्त्रभित्र असन्तुष्टी बढेको छ । सशस्त्रमा डीआइजी भएको लामो समयसम्म पनि रवि थापाले एकपटक पनि क्षेत्र पाएका छैनन् । अर्का डीआइजी मन्दिप श्रेष्ठ पनि क्षेत्रमा जान पाएका छैनन् ।
नेपाल प्रहरीमा भर्खरै बढुवा भएका गणेश केसीहरूले क्षेत्र पाए पनि सशस्त्रमा चिरन्जीवी अधिकारी, कविन्द्रमान श्रेष्ठलगायतको टोलीलाई दिइएको छैन । सशस्त्र मुख्यालयमा सात जना डीआइजीहरूलाई क्षेत्र नदिई पुराना र आगामी चैतको पहिलो साता अवकाश हुने नरेन्द्र सिंहहरूलाई क्षेत्रमा निरन्तरता दिइएकोमा सशस्त्रमा असन्तुष्टी छाएको हो । अवकाश हुन एक बर्ष बाँकी भएकालाई महत्वपूर्ण जिम्मेवारी नदिने नीति विपरीत तीनै डीआइजीलाई पटक पटक क्षेत्रको प्रमुख दिइएको छ ।
दुई डीआइजीको भीडन्त
विमलेन्द्र निधिको आडमा पटक पटक क्षेत्र पाएका बदनाम डीआइजी नरेन्द्र सिंह पछिल्लो समय मात्रिका यादव प्रयोग गर्दै अवकाश हुन्जेलसम्म मध्यक्षेत्रमा कमाउ धन्दा संचालन गर्ने योजनामा तत्काल सफल देखिएका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्रीका सल्लाहकार र भाइ पर्ने अनिल शर्माको शक्ति भिडाएर अर्का डीआइजी सुरज श्रेष्ठ मध्यक्षेत्रमा सरुवा हुने चलखेलमा लागेको खबर छ । सुदूरपश्चिम नै घर भएका डीआइजी श्रेष्ठले मध्यक्षेत्रमा सरुवाका लागि रामचन्द्र भट्टमार्फत् प्रधानमन्त्री पत्नी आरजु देउवालाई ठूलै भेटी अफर गरेको चर्चा सशस्त्र मुख्यालयमा छ । टीसीएनका पूर्व महाप्रबन्धक भट्ट पछिल्लो समय नेपाल प्रहरी र सशस्त्रका सरुवादेखि ठेक्कापट्टाको बीचौलियाका रुपमा चिनिन्छन् । भट्ट आरजु देउवाका भाइ भूषण राणापछिका बीचौलिया हुन् । भट्टले नरेन्द्र सिंहलाई फालेर मध्यक्षेत्रमा सरुवा गराउने आश्वासन डीआइजी श्रेष्ठलाई दिइसकेको स्रोतले बताएको छ । डीआइजी श्रेष्ठलाई मध्यक्षेत्रमा सरुवा गराउन एआइजी शैलेन्द्र खनाल पनि लागिपरेको समाचार छ ।
सशस्त्रका आइजीपी सिंहबहादुर श्रेष्ठ रबरस्ट्याम्प भएका कारण पनि सशस्त्रका डीआइजी कसैले एक पटक पनि क्षेत्र नपाउने त कसैले पटक पटक पाउने विभेदपूर्ण ब्यवहार भएको महसुस डीआइजीहरूले गरेका छन् । आगामी २०७४ चैतमा सशस्त्रका आइजीपी श्रेष्ठ, एआइजीद्वय प्रेम शाही र प्रकाश ओझा अवकाशमा पर्नेछन् । आइजीपी र एआइजी भन्दा अघि नरेन्द्र सिंह, सुबोध अधिकारी, जानकी भट्टराई, षडानन्द चौधरीलगायत ९ जना डीआइजी अवकाश हुनेछन् । चैतसम्म अवकाशको मुखमा पुगेका डीआइजीलाई क्षेत्रमा राख्ने नीतिमा गृहमन्त्री र आइजीपी रहेका छन् । अहिले क्षेत्र नपाएका डीआइजीहरूले चैतपछि पनि पाउने संभावना अति कम छ । चैतपछि ७ जना क्षेत्र नपाएका र रिक्त दरबन्दीमा बढुवा हुने ९ जना गरी १६ जना डीआइजीबीच क्षेत्रीय प्रमुखका लागि प्रतिस्पर्धा हुनेछ ।
सशस्त्रमा कसैलाई खात, कसैको पुर्पुरोमा हात



