सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्य्रा“ई गर्छन् भन्ने श्रृंखलाबद्ध अर्को उदाहरण २०७४ असार २३ गते शुक्रबार सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर जे गरे त्यसले उनीमाथिको आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । परिपक्व सहयोगीको अभावमा प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हास्यास्पद पनि हो ।
बाढी पीडितको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा दलबलसहित २०७४ असार २३ गते शुक्रबार सप्तरी पुगे । स्थलगत अवलोकपछि देउवाले तत्काल राहतको प्याकेज घोषणा गरे । लिखित मन्तव्य राखेका प्रधानमन्त्री देउवाको अभिव्यक्ति त्यतिबेला अप्रासांगिक बन्दै गयो, जतिबेला उनले ‘‘जलउत्पन्न प्रकोप डिभिजन कार्यालय लाहानमा व्यापक अनियमितता भएको छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ’’भनेर मञ्चबाट भाषण ठोके ।
बाढी पीडितको कुरा गरिरहेका प्रधानमन्त्री देउवाले ‘‘जल उत्पन्न प्रकोप डिभिजन कार्यालयमा अनियमितता भएको छ, संसदीय छानबिन समिति गठन हुन्छ’’ भन्ने कुरा बोलेपछि उपस्थित मन्त्री र नेताहहरू सबै अक्क न बक्क भए । प्रधानमन्त्री देउवा अनियमितताको प्रसंगमा अकमकिंदै अगाडि बढेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले ‘यो त अर्कै प¥यो हजुर’ भन्दै सम्झाए ।
प्रधानमन्त्री देउवालाई पूर्व सिंचाइमन्त्री तथा माओवादी सांसद उमेश यादवले जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लाहानमा अनियमिता भएको भन्दै छानबिनका लागि ज्ञापनपत्र बुझाएका रहेछन् । प्रधानमन्त्री देउवाले त त्यही ज्ञापनपत्र पो खुरुखुरु पढिदिए । आफ्नो लिखित मन्तव्य र ज्ञापनपत्र पनि बुझ्न र छुट्ट्याउन नसक्दा प्रधानमन्त्री देउवा फेरि हास्यपात्र बनेका छन् ।




