काठमाडौं । एमाले छोडेर माधव नेपाल र झलनाथ खनालले गठन गरेको एकीकृत समाजवादी पार्टीले आउँदो माघमा महाधिवेशन गर्ने घोषणा गरेको थियो । पार्टीको केन्द्रीय कमिटीले नै निर्णय गरेर २०८० माघको लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।तर, पार्टीले महाधिवेशनका लागि भने कुनै पनि तयारी गरेको छैन । २०८० मंसिर मध्यतिर आइपुग्दा पनि जनवर्गीय संगठन र जिल्ला कमिटीहरुको अधिवेशन हुने छाँटकाँट छैन । अधिवेशन गर्नका लागि पार्टीले निर्देशन पनि दिएको छैन । जिल्ला कमिटीहरुमध्ये केही जिल्ला कमिटी एमालेमा गइसकेका छन् । केही निस्क्रिय भएका छन् । सोहीकारण धेरै जिल्ला कमिटीले कामयावी नभएको बताइन्छ ।
एमाले छोड्दा बनेका जिल्ला कमिटीलाई निरन्तरता दिइरहेको एसले नयाँ जिल्ला कमिटी बनाउने र प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढाउने विषयमा कुनै पनि चासो दिएको छैन । पार्टीले महाधिवेशन गर्न नचाहेकै कारण अधिवेशनका लागि जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर नगरेको टिप्पणी हुन थालेको छ । पार्टीले महाधिवेशन गर्ने भन्दा पनि एमाले वा माओवादी केन्द्रसँग एकताको कुरा गर्न चाहेको त होइन् ? भन्ने आशंका पनि हुन थालेको छ । माधव नेपाल स्वयम् अध्यक्षका लागि दाबेदार रहेका छन् ।
अध्यक्ष नेपाललाई वरिष्ठ नेता झलनाथ खनालले टक्कर दिन खोजेका छन् । यी दुई नेताहरुवीच सहमति नभएसम्म महाधिवेशन नहुने चर्चा पनि हुन थालेको छ । हुन त पछिल्ला दिनमा खनालले माधव नेपालविरुद्ध अभिव्यक्ति दिएका छैनन् । सोहीकारण कतै मिलेमतो भइसक्यो कि भन्ने पनि आशंका पार्टीमा भइरहेको छ ।तर, अहिलेसम्म उनीहरु बिच मिलेको घटना वा तथ्य चाहिँ बाहिर आएको छैन । तर, दुवै नेता अध्यक्षको दाबेदार रहेका कारण उनीहरु बिच कसरी सहमति हुन्छ ? भन्ने प्रष्ट भइसकेको छैन ।
साथै, यस बिचमा महासचिव घनश्याम भुसालको कुरा पनि अध्यक्षका लागि चर्चा थियो ।तर, भुसाल र भुसालको टीमले मुख खोल्न भने सकेका छैनन् । त्यसैले, अबको अध्यक्षमा माधव नेपाल र झलनाथ खनालकै प्रतिस्पर्धा हुने चर्चाकै बिच महाधिवेशनको तयारी नै नभएका कारण माधव नेपाल २०८० माघको महाधिवेशन सार्ने पक्षमा रहेको चर्चा एसभित्र हुन थालेको छ । (साँघु साप्ताहिक, २०८० मंसिर ११)



