धरान । के अपार्टमेन्ट दिएर सुकुम्वासी समस्या समाधान हुन्छ ? धरानमा यस्तो उपाय सुझाइएको छ । धरानमा खोला किनारमा सुकुम्वासी वस्ती रहेको छ । किनारमा भव्य सडक बनाउने, सडक किनारामा उपमहानगरपालिकाले अपार्टमेन्ट बनाउने, अपार्टमेन्टको एउटा हिस्सा सुकुम्वासीलाई दिएर बाँकी हिस्सा बेच्ने या लिजमा दिने उपाय धरान जागरण अभियानले सुझाएको छ ।
मनिता घिमिरे संयोजकत्वको धरान जागरण अभियानले जागरण पत्र सार्वजनिक गर्दै सुकुम्वासीलाई अपार्टमेन्ट दिएर सुकुम्वासी समस्या समाधान गर्ने उपाय सुझाएको हो । जागरण पत्र सार्वजनिक कार्यक्रममा मनिताले भनिन्, ‘सुकुम्वासीले ओगटेको जग्गा समस्या होइन, समाधान हो । सुकुम्वासीले जग्गा ओगटेकाले ती जग्गा ठूला भूमाफियाहरुले कब्जा गर्न पाएनन् । अब ती जग्गा सुकुम्वासी सहित सबैको हितमा प्रयोग गर्नुपर्छ ।’
धरान जागरण अभियानले प्रस्ताव गरे अनुसार खोला किनार तथा सुकुम्वासीले ओगटेका अन्य जग्गा उपमहानगरले लिनुपर्छ र त्यसमा व्यापारिक तथा व्यावसायिक अपार्टमेन्ट बनाउनुपर्छ । ती अपार्टमेन्टको केही हिस्सा सुकुम्वासीलाई दिएर बाँकी विक्री गर्ने हो भने सजिलै सुकुम्वासी समस्या समाधान हुने मनिताले दावी गरिन् ।
अभियानले जागरण पत्रमा प्रस्ताव गरेको अर्काे कार्यक्रम भने निकै विवादास्पद छ । धरानबाट उत्तर तर्फको पहाडी जलाधार क्षेत्रको वस्ती उठाएर जंगल बनाउने र सो वस्ती तल चारकोसे झाडीमा सार्ने योजना प्रस्ताव गरिएको छ । यसो गरिएमा चुरे तथा अन्य पहाडको संरक्षण हुने र धरानलाई खानेपानी दिने जलाधार क्षेत्रको संरक्षण पनि हुने तर्क अभियानको छ । कार्यक्रममा मनिताले भनिन्, ‘जंगल हुनुपर्ने पहाडमा वस्ती वस्ती हुने अनि वस्ती हुनुपर्ने समतल भूभागमा जंगल हुने उल्टो अवस्थाको अन्त्य गरेर पर्यावरण बचाउनुपर्छ ।’
कार्यक्रममा कांग्रेस नेता विनोद राईले धराने जनता जागरुक छन् तर नेताहरु नालायक भएको बताए । उनले धरानलाई बिगारेको धरानकै नेताहरुले हो भने । त्यसैगरी पत्रकार संजीव वाग्लेले धरानको भविष्य अन्धकार हुन नदिन धराने जनता नै जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा धरान जागरण अभियानकी सदस्य झुमा राईले धराने जनताका छोराछोरी बिग्रिएका छन्, दुर्व्यसनमा लागेका छन्, यसले धरानको विकासमा बाधा पुगेको छ भनिन् । तर, पत्रकार राजकुमार रेग्मीले चाहिँ धराने जनताका युवा तथा किशोर छोराछोरी बरालिनु सामान्य हो भन्दै बताए, ‘खासमा यो देशमा नेता बिग्रिएका छन्, जनता बिग्रिएका छन् । नेपाल भनेको बिग्रेका नेताका बिग्रेका जनता भएको देश हो ।’
कार्यक्रममा विजयपुर मिडिया ग्रुपकी अध्यक्ष हिमाल राईले धरानको विकासका लागि एकीकृत प्रयास आवश्यक भएको बताइन् ।
त्यसैगरी जनप्रतिनिधि सन्ध्या श्रेष्ठले धरानको विकासमा जनप्रतिनिधि र जनता एकढिक्का भएर मात्र सम्भव छ भनिन् । उपमहानगरकी अर्की जनप्रतिनिधि रहिसा कसजूले धरानबाट सरकारी कार्यालयहरु अन्यत्र सार्ने कामको विरोध गरिनुपर्ने बताइन् । अभियन्ता रमिता श्रेष्ठले पूर्वी नेपालका अन्य गाउँहरु सहर बनेका छन् तर धरान भने सहरबाट गाउँ बन्ने बाटोमा लागेकोमा चिन्ता व्यक्त गरिन् ।
विजयपुर मिडिया ग्रुपकी अध्यक्ष हिमाल राईले धरानको विकासका लागि एकीकृत प्रयास आवश्यक भएको बताइन् ।
कार्यक्रममा पत्रकार किशोर कुमार कार्की, धरान जागरणका अभियानका केशव खड्का तथा निर्मला नेपाल, वसन्त राई, श्यामा रेग्मी, पञ्चकला राई, भूपेन्द्र सुन्दर लावती, सपना राईलगायतले बोलेका थिए ।




