बीस वर्ष लामो अन्तरालपछि मुलुकभर प्रदेश नं २ बाहेकका अन्य सबै प्रदेशहरूमा भर्खरै दुई चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणामको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरू मध्येको सबैभन्दा ठूलो र सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचनमा भोग्नुपरेको निराशाजनक परिणाम र त्यसमा अन्तर्निहित कारणका बारेमा स्वाभाविक रुपले विभिन्न टिप्पणीहरू भइरहेका छन् । निर्वाचनको मुखमा राजदूत नियुक्ति, आइजीपी नियुक्ति प्रकरण, प्रधान न्यायाधीश माथिको महाभियोग जस्ता विवादास्पद र अदूरदर्शी प्रकरणहरूमा नेतृत्व नफसेको भए नेपाली कांग्रेसले निर्वाचनमा प्राप्त गर्न सक्ने संभावित परिणामको बारेमा चर्चा हु“दै गर्दा एउटा अहं सवालतर्फ कमैको ध्यान पुगेको देखिन्छ । नेपाली कांग्रेसलाई यसको समग्रतामा मात्र बुझ्न खोजियो भने समस्याको चुरो पहिल्याउन सकिंदैन ।
नेपाली कांग्रेसको इतिहासमा यसभित्र सदैव भिन्नभिन्न धारहरू अस्तित्वमा रह“दै आएका छन् । व्यक्ति विशेषले नेतृत्व गरेको आधारमा नेपाली कांग्रेसभित्रका समूहहरूलाई समूह विशेषको नाममा मात्र विभाजित गरेर हेर्नु गंभीर भूल हुन्छ । सधैं अस्तित्वमा रहेका यी समूहहरूबीच प्रवृत्तिगत भिन्नताहरू छन् । एउटा समूहले कांग्रेसभित्र वीपी कोइरालाको आदर्शको प्रतिनिधित्व गर्दछ जो त्याग र सच्चरित्रतामा विश्वास गर्दछ र संगठनमा मौरी ज्यामीले झैं काम गर्दछ । अर्को समूह शक्ति र सत्ता केन्द्रित राजनीति गर्दछ जो मह खान मात्र व्यस्त छ र जनताको विवेकलाई पद र पैसाले प्रभावित गर्ने दिवास्वप्न देख्छ । यही दोस्रो प्रवृत्तिको समूहको पार्टीमा हाल हालीमुहाली हुनु नै नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षाकृत निकै कमजोर परिणाम भोग्नुपर्नुको मुख्य कारण हो । हालसालै सामाजिक संजालहरूमा भाइरल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको बीबीसीसंगको साझा सवालको प्रतिक्रियाले हामी कस्तो विडम्बनापूर्ण स्थितिको शिकार भइरहेका छौं भन्ने पुनः स्मरण गराएको छ ।
पूर्व संस्थापन भनेर चिनिने पहिलो समूहमा रहेका अधिकांश नेताहरूको क्षेत्रमा नेपाली कांग्रेसले निर्वाचनमा निकै राम्रो परिणाम हात पारेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा त कांग्रेसले करीब सम्पूर्ण स्थानमा जीत हाँसिल गरेको छ । रामचन्द्र पौडेल, दिलेन्द्र बडु, महेश आचार्य, शेखर कोइराला, बद्री पाण्डेलगायतका नेताहरूको क्षेत्रमा कांग्रेसले हासिल गरेको सफलताको श्रेय नेपाली कांग्रेसको भूमिकालाई जनता समक्ष स्पष्ट गर्न र आफ्नो क्षेत्रमा पार्टी संगठन सुदृढ गर्न यी नेताहरूले निर्वाह गरेको भूमिकालाई जान्छ । पार्टी सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, बालकृष्ण खा“ड, एनपी सावद, कृष्ण सिटौला, रमेश लेखक, गगन थापा, डिना उपाध्यायलगायतका संस्थापन पक्षका नेताहरूको क्षेत्रमा भएको कांग्रेसको पराजय र मत परिणामले यी नेताहरू पार्टी संगठनको सवालमा पटक्कै गंभीर छैनन् र उनीहरूको छवि जनताको मत आकर्षित गर्ने नभई विकर्षित गर्ने खालको छ भन्ने यथार्थ छर्लंग भएको छ । आज पनि नेपाली कांग्रेसको साख पूर्व संस्थापन पक्षधरहरूकै कारण जोगिएको छ ।
अंकगणितीय हिसाबले तत्कालको लागि पार्टी सभापति शेरबहादुर देउवा समूह संस्थापन भनेर मानिए पनि नेपाली कांग्रेसको वास्तविक विरासत र उत्तराधिकार पूर्व संस्थापन मानिने वरिष्ठ नेता रामचन्द्र समूहसंगै छ भन्ने स्पष्ट हु“दै गएको छ । नेतृत्वको अपरिपक्वता र गैरजिम्मेवार क्रियाकलापले दिन प्रतिदिन झनझन धूमिल बन्दै गइरहेको पार्टीको छवि सुधार्न र आसन्न निर्वाचनहरूमा पार्टीको स्थिति मजबूत बनाउन पार्टीभित्र इमान्दार कार्यकर्ताहरूले जागृतिको अभियान शुरू गर्न अब विलम्ब गर्नुहु“दैन ।
–सुभाष घिमिरे, चितवन, हालः अमेरिका




