काठमाडौँ, १६ पुस: ‘सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन’(साँचो जीवन निर्माण अभियान,२०६६) अन्तर्गत २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट शुरु गरेको ‘मानव सेवा आश्रम’ले ७१५ जना व्यक्तिको उद्धार, उपचार, पालनपोषण एवं २५० जनाभन्दा बढी व्यक्तिलाई सुन्दर पारिवारिक पुनःमिलन गराउन सफल भएको छ । शाश्वत चिन्तनका अध्यक्षमा डा गोविन्द टण्डन तथा आश्रमका सद्भावनादूतमा महजोडी रहेका छन् ।
त्यस्ता बेसहारा एवं मनोरोगीमा महिला१५९, पुरुष१३० र बालबालिका ४७ जनाको उद्धार गरेको र २८० जनाको भारत पुगेर पारिवारिक पुनःमिलन गराएको छ भने १०० जनाको शव सडकबाट उठाएको छ । उद्धार गरिएकामा गरिबी तथा आफ्नै स्वभाव र कर्मले मनोरोगी भएका ९० प्रतिशत र घाउ कुहिएका, अशक्त र वृद्ध १० प्रतिशतको उद्धारका साथै १०० जना मृतकको प्रहरीको मुचुल्का र शवपरीक्षणपछि पशुपति क्षेत्र विकास कोषको सहयोगमा सद्गत गरिएको मानव सेवा आश्रम काठमाडौँका संयोजक तथा प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए ।
मानिसलाई सडकमा बेसहारा बस्नुपर्ने अवस्था आउन नदिन आश्रमले शिप र क्षमता विकास तालीम, गोष्ठी जस्ता प्रवर्ध्दनात्मक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । अहिले आश्रममा ५० युवा स्वयंसेवी कार्यरत छन् जो विनापारिश्रमिक उद्धारका लागि हप्ताको सातैदिन रातदिन खटिरहेका छन् । संस्थाको कार्यकारी समितिमा पनि पूर्ण रुपमा स्वयंसेवक बनेकाहरु मात्र बस्न पाउने प्रावधान छ ।
काठमाडौँ महानगरपालिकाले पनि महानगरपालिकाका सडक तथा पेटीमा रहेका वृद्धवृद्धा तथा अशक्त एवं अपांग व्यक्तिलाई हटाई महानगरभित्रका ३२ वटै वडामा व्यवस्थित रुपमा राखिने जनाएको छ । यही पुस २१ गतेदेखि अभियानका रुपमा शुरु गरिने उक्त कार्यक्रममा आफ्नो टोल, छिमेक र सडकमा बेवारिसे अवस्थामा रहेकाहरुबारे सूचना दिन आग्रह गरिएको छ ।
उक्त कार्यका लागि मानवसेवा आश्रमले सहयोग गर्ने सो आश्रमका अध्यक्ष रामजी अधिकारीले शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिए । उनले आफ्नो संस्थाको सामाखुशी र बूढानीलकण्ठमा रहेका शाखा–उपशाखामा उनीहरुलाई तत्काल व्यवस्था गरिने बताउँदै आगामी दुई वर्षभित्र महानगरका सडक बेवारिसे तथा अनाथ व्यक्तिमुक्त गर्ने योजना भएको जानकारी दिए ।
मकवानपुरको हेटौँडाबाट आरम्भ भएको आश्रमका हाल चितवन, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, पर्सा र बागलुङमा आश्रम सञ्चालनमा छन् । हेटौँडा व्यवहारिकमै सडकमानव मुक्त बनिसकेको र औपचारिक घोषणाको अन्तिम तयारीमा रहेको छ भने ‘मानवीयताको शहर’ निर्माणका लागि नगर परिषद्बाट पारित भई कार्यान्वयनको तहमा रहेको बताइएको छ ।
हरेक महीना कम्तीमा एक हजार जनामा जीवन रुपान्तरण एवं मानवीय मूल्यमान्यता प्रवर्ध्दनसँग सम्बन्धित जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्ने तथा विसं २०८२ भित्र नेपाललाई नै ‘सहयोगापेक्षी सडकमानवरहित’ राष्ट्रका रुपमा विकास गराउने संस्थाको योजना छ ।
–––



