२०७७ साल (कात्तिक १७–कात्तिक २३) गते साँघु साप्ताहिक र २०७७ कात्तिक १९ गते साँघु न्यूजमा प्रकाशित ‘सर्लाहीको बागमती नगरपालिका भ्रष्टाचारको केन्द्र : मेयरको खेती : अर्बको गिटीबालुवा विक्री गर्ने, एक रुपैयाँ आम्दानी नबाँध्ने’ शिर्षकको समाचारमा लगाइएको आरोप र गलत तथ्यांकसहितको समाचारप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गलत तथ्यांक उल्लेख भएको समाचारले यस नगरपालिकाको मेयर भरतकुमार थापाको व्यक्तिगत छविमाथि असर परेको जानकारी गराउँदै यस नगरपालिकाले हालसम्म गरेका विकास निर्माणका काम आम नागरिकको मागलाई ध्यान दिँदै पूर्ण पारदर्शीरुपमा सञ्चालन भइरहेको व्यहोरा जानकारी गराउँदछु ।
समाचारमा मेयरलाई संजय टक्लासँग जोडेर मेयरको बद्नाम गराउने प्रयास भएको र उनीसँग कुनै सम्बन्ध नरहेको अवगत गराउन चाहन्छु । साथै आजको दिनसम्म कसैको कर्मचारी वा ज्यालाा मजदूर भएर काम नगरेको समेत उल्लेख गर्न चाहन्छु । त्यसैगरी जनयुद्धको समयमा तत्कालीन माओवादीका लोक रोशन प्रधानले बैंक लुटेर ल्याएको पैसा राख्न दिएको र उनको निधन पछि सो पैसा मेयर थापाले पचाएको, सोही पैसाले क्रसर सञ्चालन गरेको भन्ने आरोप अत्यन्त निराधार रहेकोले पुष्टि गर्न समेत चेतावनी दिन चाहन्छु ।
जननिर्वाचित मेयरलाई ठेकेदारजस्ता विभिन्न संज्ञा दिएर बद्नाम गराउन रचिएको निराधार र कपोकल्पित समाचारले स्थानीय तहको मनोबल खस्किन पुगेको छ । समाचारमा उल्लेख गरिएका आरोपहरु भ्रामक र मेयरको छवि धुमिल पार्ने किसिमको भएकाले समाचारको पुष्टि गर्न चुनौती दिँदै समाचारको खण्डन गर्दछु ।
–भरतकुमार थापा, नगरप्रमुख




