🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमान न्यायाधीश नै कतिसम्म अत्याचारी !

केही दिनअघि बहसको लागि सर्वोच्च अदालत पुगेका थियौँ । हाम्रो पक्ष हामीभन्दा अघि नै अदालत पुगेर इजलास बाहिर बसिरहनु भएको थियो ।
पालो कुर्ने क्रममा आश्चर्यजनक घटना देख्न पुग्यौँ ।

एक्कासि हाम्रो पक्ष (मुद्दाका वादी) डगडग काम्न थाल्नु भयो । वहाँ कालीभक्त हुनुहुन्छ भन्ने जानकारीसम्म थियो । घरमा प्रतिस्थापित कालीको विशाल मूर्ती अगाडि बसेर साधना गरिरहनु हुन्छ भन्ने सुनेका थियौं  । त्यसरी साधना गर्दा पनि वहाँमा काली चढेपछि त्यसरी नै काम्नुहुन्छ भनेर विपक्षीका वकिल मित्रले त्यसैदिन भन्नु भएको थियो । उक्त दृश्य देख्नेमा अन्य मुद्दाका केही पक्षहरुको अतिरिक्त विपक्षीका एकजना वकिल मित्र र इजलास सुरक्षामा खटिनु भएको एकजना महिला प्रहरी पनि हुनुहुन्थ्यो ।

मैले वहाँलाई सम्झाउँदै भने,  "हाम्रो तर्फ प्रमाण राम्रै छ, त्यसैले यसरी आत्तिनु हुँदैन ।"
डगडग काँप्दै वहाँ फलाक्न थाल्नु भयो, "हेर्, अन्याय हुँदैछ । कसैलाई केही फरक पर्दैन । जसले अन्याय गर्छ, उसैले पाप भोग्छ ।"
महिला प्रहरी आत्तिएर यताउता गर्दै हुनुहुन्थ्यो । सम्भवत: वहाँले फोन गर्नु भइसकेकोले होला, एक छिनपछि केही प्रहरी अधिकृत र जवान त्यहाँ आउनु भएको थियो । त्यसबेलासम्म हाम्रो पक्ष शान्त भइसक्नु भएको थियो ।

प्रहरी मित्रहरुसित केही सामान्य कुरा भएपछि महिला प्रहरीको अनुरोधमा थप एकजना प्रहरी त्यहाँ तैनाथ गरिएको थियो ।
काँपेको अवस्थामा पक्ष (मुद्दाका वादी)ले भन्नुभएका कुराले मनमा अनेकन आशङ्का उब्जन थालेको थियो । केही महिनादेखि तिनै न्यायाधीशकहाँ परेको सबै मुद्दामा निरन्तर असफलता मिल्दै गरेको दु:खद् परिणतिमा 'अन्याय हुँदैछ' भन्ने काली-वाणीले कताकता निराश महसुस हुँदै थियो ।

यसअघिको असफलतामा हाम्रो तर्फबाट अध्ययन राम्रो हुन नसकेको र प्रमाण पनि यथेष्ट नभएको अर्थमा पीडानुभूत महसुस गर्दै असफलतालाई स्वीकार गरेका थियौँ । यद्यपि पक्षलाई परेको पीडा यहाँ शब्दमा भन्न कठिन हुन्छ । मैले प्रतिनिधित्व गर्ने मुद्दा प्राय: तिनै निज न्यायाधीशको इजलासमा पर्नु र निरन्तर असफल हुनु सम्भवत: काकतालीमात्र हुनसक्छ भनेर विश्वास गर्न पनि अब त गाह्रो लाग्नथालेको छ । काकताली र विडम्बनाबीचको दूरी खोज्न मन आज आतुर हुँदैछ ।

मेरो निस्पक्ष लेखनको कारणले यदि मप्रति न्यायाधीश नकारात्मक रहेकोले मुद्दामा त्यस्तो निर्णय हुने गरेको हो भने ज्यादै दु:खको विषय हो । यसरी पक्ष हार्नु भनेको न्याय मर्नु हो । पेशाप्रति कुनै ग्लानिबोध छैन, तर परिणतिको पीडाले गर्दा पक्षसित मैले माफी माग्नुपर्ने हुन्छ ।

बहस सकेर हामीहरु अन्यत्र लाग्यौँ । पछि सो मुद्दा पनि असफल भएको जानकारी हाम्रो तर्फका अर्का वकिल मित्रले सुनाउनु भयो ।

वहाँले थप यति पनि भन्नुभयो, "यस्तो मुद्दामा पनि हार्नुपर्दा वकालत पेशा नै छाड्नु पर्लाजस्तो लाग्छ ।"
पेशाप्रति कस्तो पीडादायी वितृष्णा !

उक्त इजलासबाट निरन्तर असफल हुँदै आएको अनुभवले गर्दा प्रतिक्रया दिन मैले आवश्यक देखिन ।

पक्षलाई जानकारी गराउन म तयार थिइन, तर पक्षले कतैबाट परिणाम थाहा पाइसक्नु भएको रहेछ ।

वहाँले फोनमा भन्नुभयो, "माताले मलाइ अघि नै सङ्केत गरिसक्नु भएको थियो । मलाइ केही फरक पर्दैन । अन्याय गर्नेले नै पाप भोग्ने हो !"
अन्याय र पापको 'फ्युजन' कस्तो हुन्छ, थाहा छैन, तर पक्षको आत्मविश्वास र वहाँको काली-भक्तिमा विश्वास गर्दा र यदि यो अदृश्य शक्ति सत्य हो भने अन्याय गर्नेले पाप भोग्छ जस्तो लाग्छ ।

तर पापको परिणति कस्तो हुन्छ भनेर सोध्ने धृष्टता चाहिँ गरिएन !

-Dr.Shanker Kumar Shrestha