काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीको विशेष जोडबलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का दुई अधिकृतको सरूवा गरिएको छ । चुनावी खर्च उठाउन केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यलाई हटाउन नसकेका मन्त्री चौधरीले मातहतका कर्मचारी सरूवा गरेर रिसलाई शान्त बनाएका छन ।
मन्त्री चौधरीको ठाडो निर्देशनमा केयूकेएल महाङकालचौरका शाखा प्रमुख रहेका माओवादी समर्थक कर्मचारी ई. उमेश बाबु मरहठ्ठालाई केयूकेएल मुख्य कार्यालय त्रिपुरेश्वर अन्तर्गत उत्पादन महाशाखा प्रमुख (उप–प्रबन्धक) मा सरूवा गरिएको छ ।
महाँकालचौर शाखा कार्यालय प्रमुख रहेका सहायक प्रबन्धक रहेका ई. नारायण कर्णलाई उनको ठाउँमा सरूवा गरिएको छ । दुबै अधिकृतहरूले अघिल्लो साता जिम्मेवारी सम्हालेका छन । ई. कर्ण तराई मधेसबासी हुन । उनलाई महाङकालचौर शाखामा सरूवा गर्न मन्त्री चौधरी विगत सात महिनादेखि जोडबल लागाउँदै आएका थिए ।
केयूकेएलले राजनीतिक दबाबमा कर्मचारीको सरूवा र नियुक्ति हुँदा केयूकेएलबाट प्रवाह गरिने सेवालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाई घोषित लक्ष्य र उद्देश्य हासिल गर्न सकेको छैन । वर्षायाममा काठमाडाैं वरिपरिका खाेल्साहरूबाट जतातै पानी खेर गएकाे छ, तर, राजधानीबासीले सात दिनमा तीन घण्टा पनि राम्ररी खानेपानी पाउन सकेका छैनन । मेलम्ची खानेपानी काठमाडौं आएपनि पुराना पाइपको प्रभावकारी रुपमा मर्मतसम्भार नगरिदा राजधानीबासीले धित मर्ने गरी पानी खान समेत पाएनन ।
‘हतारको काम लतर पतर’ भने झै मन्त्री चौधरीले दोश्रो पटक पुन काठमाडौंमा पानी ल्याउन गरेको हतारोका कारण तीन महिना पनि राम्ररी धारामा पानी पाएन । वर्षातको त्रास देखाएर मन्त्री चौधरीको ठाडो निर्देशनमा ०७९ जेठको दोश्रो हप्ताबाट नै मेलम्ची मुहान बन्द गरिएको थियो ।
अब असोज, कात्तिक महिना अगाडि काठमाडौंमा पानी आउने संभावना देखिदैन । मन्त्रालयको यही रवैया रहिरहेको खण्डमा उपत्यकाबासीले ८ महिना पनि राम्ररी पानी खान पाउने अवस्था छैन ।
तर, मन्त्री चौधरीका एक निजी सचिव भन्छन ‘मन्त्रीज्यूले विभिन्न खालका चुनौतीलाई चिर्दै त्यो आँट नगरेको भए दोश्रो पटक उपत्यकामा पानी आउने अवस्था थिएन ।’ चाइनिज ठेकेदार कम्पनीले स्थानीय श्रमिक, बालुवा, रोडा, गिट्टीवालहरुको करोडौं रकम भुक्तानी गर्न वाँकी छ । उनीहरुले आफूले पाउनेपर्ने रकम भुक्तानी नगरेसम्म ठेकेदार कम्पनीलाई काम अगाडि बढाउन नदिने भन्दै आन्दोलन जारी राखेको थिए ।
इटली कम्पनीले चाइनिज ठेकेदार कम्पनीविरुद्ध हालेको मुद्दा पनि याथावत छ । यी तमाम समस्याको बाबजुत पनि मन्त्रीज्यूले आफैं अग्रसर भएर ठेकेदारलाई मनाएर काठमाडौंमा पानी ल्याउन सफल हुन चानचुने विषय नभएको'' उनले दावी गरे ।
संस्थानमा मन्त्री चौधरीको हस्तक्षेप
मन्त्री चौधरीले खानेपानी मन्त्रालयको जिम्मेवारी संहालेसँगै खानेपानी संस्थानमा कार्यकर्ता भर्तिको लागि दवाव दिंदै आएका थिए । २०७९ पुसमा यी लगायत अन्य विभिन्न सर्तनामासहित ईश्वर प्रसादलाई महाप्रवन्धकमा नियुक्त गरिएको थियो । आफ्ना तीन दर्जन भन्दा बढी पार्टी कार्यकर्तालाई संस्थानमा भर्ना गर्न मन्त्री चौधरीले महाप्रवन्धकलाई विज्ञापन निकाल्न दवाव दिएका थिए ।
महाप्रवन्धकबाहेक अन्य कर्मचारीलाई पत्तो नदिई मन्त्री चौधरीले कार्यकर्ता भर्ना प्रक्रिया अन्तिम चरणमा पुराइसकेको दावी संस्थान स्रोतले गरेको छ । उनीहरुको लिखित र मौखिक दुवै परीक्षा सकिइसकेको छ । अव छिट्टै नियुक्ति पत्र दिने तयारी भइरहेको छ ।




