दिक्तेल, बैशाख १७ \\ खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सबाट उपभोक्ताले खरिद गरेको चिनीमा युरिया मल मिसाएको पाइएपछि उक्त पसलका मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।
गत चैत ३० गतेका दिन एक ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको बताएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो। शिलबन्दी गरिएको पसल तथा गोदामबाट प्रहरीले चिनीको नमूना सङ्कलन गरी परीक्षण गराउन लगेको थियो।
प्रहरीले पाण्डेबिरुध्द कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा जिल्ला प्रशासन कार्यालयमा आइतबार दर्ता गरेको थियो। सोही दिन पाण्डेबाट रु दुई लाख धरौटी मागिएको प्रशासनले जनाएको छ।




