(२०६२÷०६३ सालको जनआन्दोलन र त्यसलगत्तै भएको मधेस आन्दोलनपछि त्यहाँको राजनीतिले नयाँ कोर्ष पक्डियो । विशेष गरेर भारतका विभिन्न राज्यहरूमा स्थापना भएको क्षेत्रीय पार्टीको दबदवाबाट उनीहरू प्रभावित बने र यता पनि उस्तै प्रभुत्व जमाउने मनसाय राखेर दलहरू खोले । दक्षिणतिरको सिको गर्ने ध्याउन्नमा मूलधारको पार्टी छाडेर क्षेत्रीय पार्टी बनाउने होड नै चल्यो, नेपालमा केही वर्ष । तर, मधेसवादी दललाई यता भने सफलता मिलेन । विभाजन र विग्रहले उनीहरूलाई यसरी गिजोल्यो कि आन्तरिक झमेलाबाट फुर्सदिला भएर मधेसबारे सोच्न सक्ने अवस्थामा कहिल्यै पनि रहेनन् । केही अघि राष्ट्रिय जनता पार्टी गठन गरेर ६ वटा मधेसवादी दल एक भए पनि विस्तारै मधेसवादी पार्टीका नेताहरू राष्ट्रिय दलहरूतर्फ नै आकर्षित हुन थालेका छन्, चुम्बकसंग फलाम आकर्षित भएजस्तै गरी । पछिल्ला केही महिनालाई मात्रै नियाल्ने हो भने पनि मधेसकेन्द्रित दलप्रति त्यहीका नेता विश्वस्त हुन सकिरहेको देखिन्नँ । आखिर मधेसकेन्द्रित राजनीति गरेका नेता क्षेत्रीय पार्टीबाट किन धमाधम बाहिरिरहेका छन् ? एमालेलाई मधेसविरोधी करार गर्नेहरू त्यही पार्टीमा ठूलठूला नेता तथा हजारौं कार्यकर्ताहरू प्रवेश गर्नुको राजनीतिक अर्थ के हो ? के मधेसवादी पार्टी अब संकटमा पर्दै जान थालेका हुन् ? यिनै यस्ता प्रश्नमा केन्द्रित रहेर हामीले हालै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका चर्चित नेता रामेश्वर राय यादवसंग संवाद गरेका छौं । प्रस्तुत छ, उनीसंगको कुराकानीको सम्पादित अंशः सम्पादक)
० तपाईं विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको सहअध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो । तर, हुँदाखाँदाको पद छाडेर एकाएक पार्टी नै बदल्नु भयो । किन यस्तो कडा कदम चाल्नु भयो ?
–सुरुमा हामीले पार्टीको नाम मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल राखेका थियौं । तर, यो नाम विजय गच्छदारले हाम्रो सहमति बेगर नै बदल्नु भयो र नेपाल लोकतान्त्रिक पार्टी राख्नुभयो । यसरी नाम परिवर्तन गरिएको कुरामा मेरो असहमति र आपत्ति थियो ।
० एउटा नाम परिवर्तन गर्दैमा यति ठूलो विद्रोह आवश्यक थियो त ?
–मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको जन्मथलो मधेस हो । मधेस यो पार्टीको जन्मथलो भएपछि मधेसले अनुभूति गर्नुप¥यो कि यो पार्टी हाम्रो हो । भोट लिने बेला मधेसको भोट लिने र, अवसरहरूको उपलब्धता भएको बेलामा गैरमधेसीलाई दिंदा त्यो समुदाय र भूगोलमाथि अन्याय भएको महसुस मलाई हुन थाल्यो । किनभने कुनै पनि पार्टी निर्माण हुँदाखेरी त्यो पार्टीमा कार्यकर्ताको रगत पसिना लागेको हुन्छ । कार्यकर्ताको रगत पसिनाले पार्टी बनाउने तर महत्वपूर्ण निर्णय गर्दा उनीहरूको अनादर गर्ने ? यस्ता प्रश्नहरू आमकार्यकर्ता र जनतामा उठ्न थालेपछि मलाई लाग्यो– अब यसले निराशा ल्याउँछ, राष्ट्रकै लागि नोक्सान गर्छ । त्यसैले मैले माओवादी केन्द्रमा जाने निर्णय गरेको हुँ ।
० अरु एजेन्डा र विचार नमिलेर पार्टी छाड्छन्, तपाईंले चाहिं एजेन्डाका कारणले नभएर नाम परिवर्तनको मामुली विषयमै असन्तुष्टि जनाएर सम्बन्ध विच्छेद गर्नु भयो हगि ?
–एजेन्डाको विषय पनि छ । गच्छदारजीले मधेसको एजेन्डालाई त हात्तीको देखाउने दाँत जस्तै बनाइरहनु भएको छ । उहाँको चपाउने दाँतले त अर्कै गरिरहेको छ । भन्नलाई उहाँले मधेसको मुद्दाका लागि लडिरहेको छु भन्नुहुन्छ । तर, यथार्थ अलग छ । गच्छदारजी मुद्दाका लागि भन्दा पनि मुद्राका लागि राजनीति गरिरहनु भएको छ । आन्दोलनभन्दा सत्ताप्रति उहाँको बढी ध्यान छ । र, आफ्नै कार्यकर्ताभन्दा हुनेखाने गैरमधेसीसंग आकर्षित हुनुहुन्छ ।
० गच्छदार अवसरवादी हुन् भन्ने कुरा जगतले थाहा पाएको लामो समय भइसकेको छ । गच्छदारको चरित्रबारे थाहा नपाएर हो कि किन हो फोरम विभाजनमा उहाँलाई रोज्नु भएको ?
–नेपाली कांग्रेसमा लामो समयदेखि काम गर्नु भएकाले मैले उहाँलाई एउटा प्रजातन्त्रवादीका रुपमा बुझेको थिएँ । प्रजातन्त्रवादी इतिहास भएकाले उहाँले गतिशील ढंगले काम गर्नुहुन्छ कि भन्ने मलाई लागेको थियो । तर, उहाँसंग नजिकबाट सहकार्य गरेपछि असली रुप थाहा भयो । योबीचमा धेरैपटक अपमान सहेर उहाँलाई सुधार्न प्रयास नगरेको पनि होइन, तर उहाँ कहिल्यै सुध्रिनु भएन । कुनै पनि कुराको प्रवाह नगरी सत्ता, द्रव्य र सुकिलामुकिलाको खोजी गर्न लागिरहनु भयो । २०७० सालको निर्वाचनमा पार्टीलाई समानुपातिकतर्फ केही सिट मिलेको थियो । मधेसी जनताले विश्वास गरेर मिलेको त्यो समानुपातिक सिट उहाँले द्रव्य मोहकै कारण मधेस आन्दोलनसंग गोरु बेचेको साइनो पनि नभएकाहरूलाई बेच्नुभयो । बिक्री पट्टाबाट गएकाले मधेसका कुरा नउठाउँदा हामीलाई ठूलो क्षति भयो, मधेसमा । यति मात्रै होइन, राजदूत नियुक्त गर्दा पनि उहाँले गद्दारी गर्नुभयो । मेनपावर चलाएर ठगी खाने धन्दा चलाएको व्यक्तिलाई पैसाको आधारमा पठाइदिनुभयो । राष्ट्र, समुदाय र जनता सबैमाथि कुठाराघात गर्नुभयो ।
० यतिधेरै बेथिती र मनपरी हँुदा किन सहेरै बस्नु भयो ? भित्र र बाहिर अहिले भनेको कुरा त्यतिबेला किन उठाउनु भएन ?
–पार्टी निर्माणकालदेखि अहिलेसम्म हरेक मोर्चामा मैले यी बेथितीका कुरा उठाउँदै आएको हुँ । यतिले नपुगेर मैले सञ्चारमाध्यमहरूमा पनि आफ्ना असन्तुष्टिहरू राखेको हुँ । तैपनि अध्यक्षले सुन्नु भएन । स्थानीय चुनावमा मुद्दाविहीन भएर जाँदा परिणाम राम्रो नआउने भएकाले मैले यो निर्णय लिएको हुँ । मलाई लाग्छ, मेरो यो निर्णय सही लाग्छ ।
० एजेन्डा र मुद्दाका हिसाबले गच्छदारको पार्टी र अन्य मधेसकेन्द्रित दलबीच के अन्तर छ ?
–कमसेकम अन्य मधेसवादी पार्टीहरू आफ्नो लाइनमा छन् र थिए । यद्यपि, उनीहरूप्रति पनि म दुःखी नै छु । राजपा, फोरमलगायत जति पनि मधेसकेन्द्रित दलहरू छन्, उनीहरू पनि आफ्नो सही बाटोमा हिंडेका छैनन् ।
० उनीहरू सही बाटोमा हिंडेको भए माओवादीमा जाँदैन थिएँ भन्न खोज्नु भएको हो ?
–मधेसवादी दलहरूले सही बाटो समातेको भए मैले यसरी ‘ट्रयाक चेन्ज’ गर्ने थिइनँ । तपाईंहरूको जानकारीका लागि भनौं मेरो राजनीतिक जीवन मधेसबाट नै सुरु भएको हो । मधेस आन्दोलन कुनै साम्प्रदायिक कुरा होइन । अहिले पनि मधेसी समुदाय सीमान्तकृत छन् र उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरिन्छ, हेरिन्छ । २१ औं शताब्दीमा पनि गोरा र कालाको निन्दनीय व्यवहार यो क्षेत्रका जनताले झेल्दै आइरहेका छन् । उनीहरूलाई मुक्ति दिलाउनका लागि हामीहरूको आन्दोलन चलिरह्यो । तर, पछिल्लो चरणमा आएर साथीहरूमा उदासीनता देखियो । त्यो उदासीनताका कारणबाट विशेष गरेर युवा पंक्तिमा निराशा उत्पन्न भयो ।
० अब तपाईंको पार्टी परित्यागले चाहिं त्यो निराशा दूर गर्ला त ?
–हेर्नुस्, तराईमा अहिले एउटा विखण्डनकारी शक्ति सक्रिय छ । सीके राउत नेतृत्वको त्यो पंक्ति देश विभाजन गर्न उद्दत छ । मैले यो निराशालाई बेवास्ता गरेर अघि बढेको भए त्यो निराश पंक्ति सीके राउतको पछाडि जान पनि त सक्थ्यो । तर, मैले सोचें–अहो, देशलाई त्यो दुर्गतितिर जानबाट मजस्तो व्यक्तिले रोक्नु पर्छ । यही सोचअनुरुप पार्टी बदलेको हुँ ।
० मधेसको समस्या राष्ट्रिय समस्या हो कि साम्प्रदायिक समस्या ठान्नु हुन्छ कि ?
–हेर्नुस्, मधेस समस्या साम्प्रदायिक होइन, राष्ट्रिय समस्या हो । मधेसबिना देशको परिकल्पना गर्न सकिंदैन । मधेस यो देशको महत्वपूर्ण अंग हो । तर मधेसको भूगोल र समुदायमाथि लामो समयदेखि भइरहेको विभेदसंग जुध्ने ल्याकत मधेसकेन्द्रित दलहरूसंग छैन । यो राष्ट्रिय मुद्दा भएकाले यसको पक्षमा लड्ने क्षमता राष्ट्रिय दलहरूमा नै छ । त्यसैले मैले राष्ट्रिय दल माओवादी केन्द्र रोजेको हुँ ।
० मूलधारको राजनीतिमा माओवादीभन्दा अब्बल र बलिया दल एमाले र नेपाली कांग्रेस थिए । यी दललाई नरोजेर रक्षात्मक अवस्थामा पुगेको माओवादीलाई नै किन रोज्नु भएको ?
–कांग्रेस आफैं समस्या पालेर बसेको छ, अन्तरद्वन्द्वमा जेलिएको छ । सबैलाई थाहा छ, एमालेको छवि मधेसविरोधी दलको रुपमा छ । हुन पनि एमाले मधेसीको हित चाहँदैन । तर, माओवादी केन्द्र मधेसमा समस्या छ, त्यहाँको समस्या समाधान गर्नुपर्छ भनेर इमान्दारितापूर्वक अगाडि बढिरहेको छ । हिजोका दिनमा उसले जसरी उत्पीडित वर्ग र समुदायको पक्षमा आवाज उठाएको थियो, आज पनि उठाइरहेको छ । यी सबै तथ्यहरूलाई हेर्दा मलाई लाग्यो–मधेसको वातस्तविक हित चाहने पार्टी त माओवादी केन्द्र नै हो । त्यसैले माओवादी केन्द्रमा जाने निर्णय लिएँ । अब हेरौं नजिकबाट काम गरौं अनि चिनिन्छ नि माओवादी केन्द्र ।
० मधेसवादी दलका नेताहरू एकपछि अर्को मूलधारका राजनीतिक दलमा प्रवेश गरिरहेका छन् । यसको अर्थ मधेसमा क्षेत्रीय पार्टीको भविष्य छैन भन्ने हो ?
–मैले अघि नै भनेँ मधेस समस्या राष्ट्रिय समस्या हो । यो समस्या समाधान गर्ने ल्याकत मधेसी दलको छैन, राष्ट्रिय दलले मात्रै यसलाई किनारा लगाउन सक्छन् । मैले यसो भन्नुका केही आधारहरू छन् । मधेसवादी दलले गरेको आन्दोलनकै कुरा गर्नुस् । त्यत्रो ६ महिना आन्दोलन गर्दा पनि मागहरू सम्बोधन हुन सकेन, डेढ सय मान्छेको सहादत हुँदा पनि त्यसको मूल्य स्थापित हुन सकेन । त्यसैले मधेसकेन्द्रित भएर दल स्थापित हुनु र नहुनुको कुनै अर्थ छैन ।
० माओवादी प्रवेशबारे कुरा गरौं । उतैबाट बोलावट भएर जानु भएको हो कि आफैंले पहल गरेर डेरा सार्नु भएको त ?
–मधेसवादी पार्टीको गतिमति देखेपछि मलाई माओवादी केन्द्रका अध्यक्षलाई भेटेर आफ्ना कुरा राख्नुपर्छ जस्तो लाग्यो । त्यही सोचअनुरुप कमरेड प्रचण्डसंग आफ्ना मुद्दा र समस्या राखें । समस्या राखिसकेपछि मैले उहाँलाई भनें – यी मुद्दामा तपाईं र माओवादी केन्द्र सकारात्मक हुनुहुन्छ भने म माओवादीमा आउन तयार छु ।’ मैले यसो भनेपछि उहाँ निकै उत्साहित हुनुभयो । मैले उठाएको मुद्दा आफूले पनि उठाएको भन्दै उहाँले मधेसको वास्तविक हित चाहने पार्टीमा माओवादी केन्द्र मात्रै भएको प्रष्ट पार्नुभयो । त्यसपछि नै मैले माओवादी ज्वाँइन गरेको हुँ ।
० जिम्मेवारीको कुरा टुंगिसक्यो कि बाँकी छ त ?
–पार्टी प्रवेश चुनावको मुखमा परेकाले हामी यसैमा केन्द्रित भएका छौं । अब चुनावपछि यो विषय पार्टीले टुंग्याउने छ भन्ने मलाई विश्वास छ ।
० यही पद नै चाहिन्छ भनेर दाबी पनि गर्नु भएको छ कि ?
–यो विषयमा मैले केही पनि सोचेको छैन । पदभन्दा पनि मधेसको मुद्दालाई लिएर म यहाँ प्रवेश गरेको हुँ ।
० माओवादीमा अन्य पार्टीबाट गएकाहरू त्यहाँभित्रका रैथानेहरूको घोचपेच र दुव्र्यबहारले बसिखानु भएन भन्ने गुनासो गर्छन् । कतिले त पार्टी नै छाडिसके । त्यही पार्टीमा तपाईं छिर्नुभएको छ, माओवादीमा रहेर घर गर्न सकिएला त ?
–यो स्वभाविक हो । जुनसुकै पार्टीमा पनि नयाँ र पुरानो पार्टीको फिलिङ्स हुँदो रहेछ । तर, यसलाई नेतृत्वले मिलाउनु पर्छ, एकाकार गर्नुपर्छ । मलाई विश्वास छ, माओवादी केन्द्रमा यस्तो समस्या आउने छैन । अध्यक्ष कमरेड प्रचण्डले यी सबै समस्यालाई हल गर्नुहुनेछ ।
० हिजोआज के गर्दै हुनुहुन्छ ?
–२ नम्बर प्रदेशमा २०७४ असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ । माओवादी केन्द्रलाई जिताउन माहोल क्रेट गरिरहेको छु ।
० हिजोसम्म फोरम लोकतान्त्रिक नेपालका लागि सक्रिय हुनुहुन्थ्यो । अहिले माओवादी हुँ भन्दै जनताको दैलो चहार्न असजिलो त भएको छैन ?
–असजिलो भएको छैन, किन असजिलो मान्नु ? मैले मधेसी जनताको भावनामा गद्दारी गरेको भए, अपमान गरेर फरक बाटो लिएको भए असजिलो हुन्थ्यो होला । तर, म त त्यहीँका जनताको मुक्तिका लागि भन्दै माओवादी केन्द्रमा लागेको हँु । मलाई कतिपयले किन पार्टी छाड्नु भएको भनेर जिज्ञासा राख्दा पनि यही जवाफ दिने गरेको छु ।
० कस्तो छ त माओवादीको माहोल ?
–राजमार्गभन्दा दल हिजोसम्म मधेसमा माओवादी कमजोर थियो । कतिसम्म भने कतिपय व्यक्तिहरू माओवादीको नाम नै सुन्न चाहँदैनथे । तर, अहिले परिस्थिति बदलिएको छ । मधेस माओवादीमय बनेको छ । यही माहोलका कारण अधिकांश ठाउँमा माओवादीसंग दलहरूले प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । सर्लाहीमा त माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्नेछैन ।
० दुई नम्बर प्रदेशमा कसको उपस्थिति के होला, अनुमान गर्न सकिन्छ ?
–जनताका नशा नाडी पहिल्यै छाम्न सकिंदैन । त्यसैले चुनावको विषयमा यसरी आंकलन गर्ने अलि गाह्रो नै छ । तर, माहोल हेर्दा कांग्रेस र माओवादीबीच प्रतिष्पर्धा हुनसक्छ ।
० राजपा कता जान्छ नि ?
–राजपा हिजोसम्म सशक्त थियो तर अहिले कमजोर बनेको छ । हेर्दा राजपा एउटा देखिन्छ तर यो काँक्राको चिरा होइन, सुन्तला जस्तो ६ केस्रामा विभाजित छ । पछिल्लो पलायन र बिचलनले राजपालाई ठूलो क्षति पुगेको छ । एमालेलाई हिजो प्रवेश निषेध भन्नेहरू नै अहिले उसैको टिकट लिएर चुनावमा होमिएका छन् । यसले राजपाको साख उसैले आफ्नो भनेर दाबी गर्ने २ नम्बर प्रदेशमा बेस्सरी खस्केको छ ।
० एमालेलाई मधेसमा बहिष्कार जस्तै गरिएको थियो । त्यहाँ अब एमाले अनुमोदित भएको हो ? त्यहाँ उसको पक्षमा माहोल बन्दै गएको हो ?
–अनुमोदित गरेको होइन, बाध्यकारी अवस्थामा मानिसहरूले उसलाई ‘एडप्ट’ गरेका हुन् ।
० उसो भए दुई नम्बर प्रदेशमा एमालेको पोजिसन के होला त ?
एमालेले मधेसमा पहिलो बन्ने भनिरहेको छ । यो तथ्यमा आधारित कुरा होइन । मधेसको माहोल हेर्दा त्यहाँ एमालेको प्रतिष्पर्धा तेस्रो र चौथोका लागि हुन्छ । पहिलोमा भने कांग्रेस र माओवादीबीच नै प्रतिष्पर्धा हुने अवस्था छ ।




