काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनको शनिबार ६८ औं दिन भएको छ ।
अहिलेसम्म खान नपाएर थुप्रैको स्वास्थ्य नाजूक बनिसकेको छ । लाखौंको जागिर धरापमा परेको छ । सरकारी कर्मचारी बाहेक अधिकांशको जागिर सुरक्षित हुन सकेको छैन ।
झन् दैनिक काम गरेर गुजारा गर्नेको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक सवारी चलाएर गुजारा गर्ने हजारौं बसका चालक, सहचालक र गाडीका लगानीकर्ताको बिजोग भएको छ ।
सार्वजनिक यातायात चल्न नसके पनि निर्माणका लागि र अत्यावश्यक तरकारीलगायतका सामग्रीका लागि प्रयोग हुने टिपर भने चलिरहेका छन् ।
टिपर चालक, सहचालक र लगानीकर्तालाई भने कोरोनाको लकडाउनले कुनै असर गरेको छैन ।
तिनै टिपर चालक मनिष कार्कीले आफूलाई कुनै अप्ठेरो नपारेको बताएका छन् ।
लकडाउन सुरु हुनुभन्दा एक महिना अगाडिसम्म २२ वर्षका सिन्धुपाल्चोक जिल्ला घर भएका युवा मनिषले बा ४ ख ३६२४ नम्बरको बस चलाउँथे ।
त्यसपछि उनले टिपर चलाउन थाले । उनले हाल बा ३ ख ७३७० नम्बरको टिपर चलाइरहेका छन् ।
उनका साथीहरु जसले बस चलाउँथे अहिले छट्पटिएर बसिरहेका छन् । उनले २०७७ जेठ १७ गते शनिबार साँघुसित भने, ‘मैले बेलैमा टिपर चलाउन थालेछु । म त लकडाउनमा पनि काममा बिजी छु ।’
तर, उनका बस चलाउने साथीहरुबारे भने, ‘साथीहरु हल्लिएर बसेका छन् । विहान बेलुका छाक टार्नका लागि पनि समस्या छ । कताबाट हो अलिकति राहत पाएपछि खाए रे । अहिले छाक टार्न समस्या छ भन्दै थिए ।’
उनका साथीहरु कहिले लकडाउन खुल्ला भनेर बसिरहेका छन् । मनिषले भने, ‘ बस छाडेर टिपर चलाएँ फाइदै भयो, साथीहरुकाे बिजाेक भएकाे छ, उनीहरू त लकडाउन कारण सम्पूर्णरूपमा डुबे ।’
सरकारले उचित रुपमा राहत उपलब्ध नगराएका कारण अहिले बेरोजगारका परिवार भाेकै प्यासै छट्पटिएर दिन बिताउँदैछन् ।




